१२ पुस २०८२ शनिबार
image/svg+xml
समाज

९० वर्षको उमेरमा कृषि र पशुपालनमा सक्रिय

सामान्यतया ९० वर्षको उमेरमा अधिकांशलाई हिँडडुल गर्न गाह्रो हुन्छ। तर, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काँडाका तारादत्त भट्ट ९० वर्षको उमेरमा पनि शारीरिक रुपमा सक्रिय छन्। यो उमेरमा उनले व्यावसायिक कृषि र पशुपालन गरेर वार्षिक रु २० लाखसम्म आम्दानी गर्दै आएका छन्।

उनले ४० रोपनी जग्गामा तरकारीखेती गरेका छन्। तरकारीबाटै  वार्षिक रु १० लाख आम्दानी लिने गरेको उनले बताए। विगत ३० वर्षदेखि भट्टले खसीबाख्रा र भैँसीपालन गर्दै आएका छन्। हाल उनको गोठमा ५० वटा खसीबाख्रा छन्। तीन वटा उन्नत जातका भैँसी छन्। घरका भित्ताभरी माहुरीका आधुनिक तथा परम्परागत घार छन्। आँगनको कुनामा खरायोका खोर छन्।

कृषि पेसामै सक्रिय भएकाले आफू निरोगी भएको उनी बताउँछन्। 'सानैदेखि हजुरबुबा र बुबासँग खेतीपाती गर्न सिकेँ। जिन्दगीमा जेजे गरे पनि कृषिलाई छाड्न सकिँन', उनी भन्छन्, 'यही काम गर्दागर्दै मर्न परोस अरु मलाई केही चाहिएन।'

खेती र पशुपालनबाटै आर्थिक रुपमा सम्पन्न उहाँले गाउँघरका छिमेकीलाई सङ्कट पर्दा सरसापटी दिने गर्छन्। उनको जाँगर देख्ने जोकोहीले प्रेरणा लिने गरेको स्थानीय दुर्गा भट्टले बताए।

उनले व्यावसायिक कृषि तथा पशुपालन सुरु गरेदेखि हालसम्म सरकारी अनुदान लिएका छैनन्। तर माहुरीका लागि भने केही अनुदान पाए सहज हुने र हौसला मिल्ने आशामा छन्।

भट्टको अनुभवमा पछिल्लो समयमा हावापानीमा देखिएको परिवर्तनले धेरै असर गरेको छ। बजारमा पाइने नयाँ बीउ, मल, विषादीले पनि असर गरेको उनको अनुभव छ। पहिले–पहिले पाँच किलोसम्मको काउली उत्पादन हुने उनको बारीमा आजभोलि त्यत्रो काउली फल्दैन। पहिलेको परिमाणमा भैँसीले दिने दूध नै घटेको उनी बताउँछन्। 'कतै पछिल्लो समयमा आएका यी विकासे घाँसले दूधको उत्पादन घटाएको त होइन ?', उनले भने।

देशमै व्यावसायिक कृषि गर्न सके केही हदसम्म रोजगारी सिर्जना गर्न सकिने उनको भनाइ छ। आफ्नै देशमा पसिना बगाउन सके सोहीअनुसार फल प्राप्त गर्न सकिने उनको सुझाव छ।  

प्रकाशित: ८ कार्तिक २०८१ १४:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App