६ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

ताप्लेजुङ प्रहरीको नागरिक सुनुवाइमा मञ्जुलको हिरासतदेखि उपभोग्य वस्तुको सहज आपूर्तिसम्म

ताप्लेजुङ प्रहरीले सोमबार आयोजना गरेको नागरिक सुनुवाइमा मञ्जुल निरौलाको हिरासत बसाइदेखि दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्थापनसम्मको विषयले प्रवेश पाएको छ।  

जिल्ला प्रहरी कार्यालयले कार्यालयपरिसरमा आयोजना गरेको नागरिक सुनुवाइका क्रममा फुङलिङ नगरप्रमुख अमिर मादेनले अपहरण तथा बन्धक मुद्दामा मञ्जुललाई ‘गैर न्यायिक’ हिरासतमा राखिएको दाबी गर्दै यसमा प्रहरीको अनुसन्धान फितलो भएको टिप्पणी गरे। 

प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य र जिल्ला प्रहरी प्रमुख रवि रावलले निरौलाको प्रक्रिया अहिले पनि अदालतमा रहेकाले अदालतको क्षेत्राधिकारको विषयमा आफूहरूले थप टिप्पणी नगर्ने बताए। ‘यो हामी आउनुभन्दा अघिको विषय रहेछ तर यो विषयमा हामीले गम्भीर चासो र चिन्ता लिएका हौं,’आचार्य र रावलले भने ।  

व्यक्ति बेपत्ता कसुरमा लामो समय थुनामा रहेका मञ्जुल १२ दिनअघि तारेखमा रिहा भएका छन्। उनीमाथि फुङलिङ नगरपालिका–४ निवासी मानसिक अस्वस्थ रहेका वीरेन्द्र फेम्बु लिम्बूलाई परिवारको स्वीकृति बेगर गाडीको टिकट काटी उपत्यकातर्फ पठाएको आरोप छ। भक्तपुरस्थित आफ्नो घर आश्रम नेपालमा वीरेन्द्र सकुशल भेटिएपछि मञ्जुलको हिरासत बसाइलाई मञ्जुल र उनका समर्थकले ‘गैर न्यायिक’ दाबी गर्दै आइरहेका छन् ।  

२०८० साल मंसिर १९ गते हराएका वीरेन्द्र त्यसको ६ दिनपछि प्रहरी वृत्त जगाती भक्तपुरको सम्पर्कमा पुगेको देखिएको छ। सो वृत्तले मंसिर २५ गते वीरेन्द्रलाई आश्रयका लागि आफ्नो घर आश्रम नेपालमा पठाएको देखिएको छ। हराएको ६ दिनमै प्रहरीको सम्पर्कमा पुगेका वीरेन्द्रलाई अपहरण गरी बेपत्ता बनाएको कसुरमा त्यसको दुई महिनापछि मुद्दा चलेको भन्दै नगर उपप्रमुख भीमादेवी ओझाले निरौलाको हिरासत बसाइबारे नगरप्रमुखसँगै प्रजिअ र जिल्ला प्रहरी प्रमुखलाई जिज्ञासा राखेकी थिइन्।

जिल्ला प्रहरी प्रमुख रावलले प्रहरीले अनुसन्धान गरेर अदालत पठाएको तर थुनछेकको विषय अदालतको क्षेत्राधिकारभित्र पर्ने दोहोर्‍या ए। जिल्ला अदालत ताप्लेजुङले निरौलालाई पुर्पक्षमा राखी अनुसन्धान गर्न अनुमति दिएको सो मुद्दामा चित्त नबुझी निरौलाका आफन्तले उच्च अदालत विराटनगर इजलास इलाममा पुनरावेदन गरेका छन्। उक्त मुद्दाको किनारा लागेको छैन ।  

नागरिक सुनुवाइका क्रममा व्यवसायी तारानाथ बरालले विपद्पछि सडक र पुलेसा बगाएको प्रभावका कारण उपभोग्य सामग्री अभाव रहेको दर्साउँदै उपभोग्य सामग्रीको सहज व्यवस्थापनको विषय उठाए । प्रजिअ आचार्यले तत्काल उपभोग्य बस्तुको अभाव नभएको बताउँदै उपभोक्ताले गरेको आवश्यकताभन्दा बढीको सञ्चयले समस्या सृजना गरेको बताए। ‘अभाव भए जसरी टार्छौैैं,’ आचार्यले भने। यातायातको कुनै विकल्प नभएको अवस्थामा हुँदासम्मको अभाव भए हेलिकोप्टरमार्फत पनि अभाव हटाई उपभोक्ताको दैनिकी सहज बनाउने आचार्यको आश्वासन थियो।  

हेंवाखोलामा डाइभर्सन निर्माण हुँदै गरेकाले अब खाद्यान्नसहितका दैनिक उपभोग्य बस्तुको अभाव व्यवस्थापन हुनेमा प्रजिअ आचार्य आशावादी देखिए। पाथीभरा क्षेत्र विकास समितिका सदस्य तेजबहादुर भट्टराईले पाथीभरा क्षेत्रका देउराली–सेवारोचौक–काफ्लेपाटी र बुलुडाँडासम्म सुरक्षा गस्ती बढाउन माग गरे।  

प्रहरी प्रमुख रावलले कार्ययोजना बनाई हुने गरेका नियमित गस्ती अहिले पनि पाथीभरा क्षेत्रमा कायम रहेको भन्दै तीर्थालुको चाँपका आधारमा आफूहरूले सुरक्षा व्यवस्था मजबुत बनाउने बताए । 

होटल व्यवसायी संघ ताप्लेजुङका कोषाध्यक्ष विमल भण्डारीले ट्र्याक्टरसहितका सवारीसाधनको तीव्र गति र अनावश्यक हर्न नियन्त्रण गर्न माग गरे। उनले बेलुका अबेरसम्म घर बाहिर रहने युवा समूहप्रति निगरानी बढाउनुपर्ने बताए। जवाफमा प्रहरी प्रमुख रावलले कार्यक्रमस्थलमा रहेका जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक टंक दाहाललाई उक्त समस्या समाधान गर्न निर्देशन दिए। ‘थप मद्दत चाहियो भने म जिल्ला प्रहरी कार्यालयबाट उपलब्ध गराउँछु,’ निर्देशनका क्रममा भने । 

रावलले चाडपर्व लक्षित सुरक्षा कार्ययोजना बनेको बताउँदै पहिलो घेरामा नेपाल प्रहरी र दोस्रो घेरमा सशस्त्र प्रहरीमार्फत सुरक्षा योजना कार्यान्वयन गर्ने बताए।

 

प्रकाशित: २३ आश्विन २०८१ ०७:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App