१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

देशैभरि भत्कियो २१ हजार मिटर सडक

ललितपुरको टीकाभैरव क्षेत्रमा भत्किएको सडक। तस्बिर सौजन्य: कोन्ज्योसोम गाउँपालिका

बिहीबार रातिदेखि शनिबार बिहानसम्मको अविरल वर्षाका कारण देशभरि २१ हजार मिटर बाटो भत्किएको पाइएको छ। सडक विभागका उच्च कर्मचारीहरूले आइतबार वर्षाले उपत्यकासहित देशभरि सडक र पुलमा पुर्‍याएको क्षति र मर्मत तथा पुनर्निर्माणबारे प्रारम्भिक अध्ययन गरेका थिए।

विभागका सूचना अधिकारी अमित शर्माले वर्षाले देशभरिका विभिन्न राजमार्गका गरी २१ हजार मिटर सडकमा क्षति पुगेको र पाँचवटा पुलमा क्ष्ति भएको पुल मर्मत तथा पुनर्निर्माण गर्न तत्काल साढे २ अर्ब खर्च लाग्ने प्रारम्भिक अनुमान रहेको जानकारी दिए। उनका अन्ुसार ‘अरनिको, कान्ति, बिपी राजमार्गमा गम्भीर क्षति पुगेको छ,’ शर्माले भने, ‘यसैगरी पृथ्वी राजमार्गलगायत देशभरि ४२ वटा राजमार्गमा क्षति पुगेको हाम्रो अनुमान छ,’ उनले भने। विभागका अनुसार बिपी राजमार्गमा एक हजार पाँच सय ५० मिटर बाटोमा गम्भीर क्षति पुगेको छ। यसबाहेक अन्य थुप्रै ठाउँमा अन्य सानोतिनो क्षति भएको छ। बिपीमा तीन ठाउँमा ठुल्ठुला क्षति भएका छन्।

तीमध्ये एक ठाउँमा तीन सय मिटरभन्दा लामो सडकमा क्षति पुगेको छ। यसैगरी देशभरि पाँचवटा पुलमा पूर्ण क्षति भएको छ। जसमा दुईवटा बेलिब्रिज पुलसमेत छन्। खुकोर्टमा रहेको सुनकोसी पुलमा पनि पूर्ण क्षति भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सुशीलबाबु ढकालले अवरुद्ध भएका सबै सडक एक साताभित्र खुलाउने गरी काम भइरहेको बताए। ‘शनिबार साँझदेखि नै सडक खुलाउन प्रयास भइरहेको छ।

दुईतीन दिनभित्रै मुख्य मुख्य राजमार्गमा अवरोध हटाउछौं,’ उनले भने। विभागले आइतबार साँझ विज्ञप्ति जारी गर्देै असोज १० गतेदेखिको अविरल वर्षाका कारण देशभरिका ८० वटा राष्ट्रिय राजमार्गमध्ये आइतबार साँझ ७ बजेसम्म १७ वटा राजमार्गका विभिन्न ४७ स्थानमा बाटो अझै अवरुद्ध छ।

देशको राजधानी जोड्ने लाइफ लाइनका रूपमा रहको मुख्य राजमार्ग नागढुंगा–नौबिसे मुग्लिन सडकको झ्याप्ले खोलाको अवरोध हटाएपछि पुरै पृथ्वी राजमार्गमा सवारी यातायात सञ्चालनमा आएको विज्ञप्तिमा जनाइएको छ। विज्ञप्तिमा जनाइएअनुसार बिपी राजमार्गको बर्दिबासदेखि नेपालथोक सम्मको अवरोध हटाई यातायात सुचारु गरिएको छ।

यसैगरी टोखा–गुर्जे भन्ज्याङ छहरे नुवाकोट हुँदै स्याफ्रुबेंसीसम्मको सडक सुचारु अवस्थामा छ। स्याफ्रुबेंसीदेखि रसुवागढीसम्मको अवरुद्ध सडक सोमबारसम्म सञ्चालनमा आउने विभागले जनाएको छ। अरनिको राजमार्गको ब्राहबिसे–दोलालघाट–धुलिखेल खण्ड सोमबारसम्म सुचारु हुने गरी काम भइरहेको विभागका उच्च कर्मचारीहरूले जनाएका छन्।

उनीहरूका अनुसार आइतबार बिपी राजमार्गको विकल्पका रूपमा मूलकोटबाट सित्खा पुल हुँदै मन्थलीसम्म जाने सडक सञ्चालनमा आएको छ।

यसैगरी सित्खा–खाँडादेवी–गाल्वा सडक सोमबारसम्म सम्म सुचारु गरी बिपी राजमार्ग भएर आउने सवारीसाधन मन्थली चरिकोट हुँदै राजधानी आउन सक्नेछन्। यसका लागि काम भइरहेको विभागले जनाएको छ। ‘अवरुद्ध अन्य राजमार्गको अवरोध यथाशीघ्र हटाई सडक सुचारु गराउने काम भइरहेको छ भने क्षतिग्रस्त पुल भएको स्थानमा अस्थायी बेलिब्रिज जडान गरी यथासक्य चाँडो सवारीसाधन सुचारु गर्ने प्रयास भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ। 

प्रकाशित: १४ आश्विन २०८१ ०६:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App