१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

नारायणी नदीको सतहले खतराको तह पार

फाइल तस्बिर

नारायणी नदीको सतहले खतराको तह पार गरेको छ। चितवनको देवघाटस्थित मापन केन्द्रले नदीको सतहले खतराको तह पार गरेको जानकारी दिएको हो। चितवनमा बिहीबारदेखि निरन्तर वर्षाका भइरहेको छ।

देवघाटमा पानीको सतह ७.३ मिटर नाघ्दा सतर्क रहन चेतावनी दिने गरिन्छ। नौ मिटरभन्दा माथि पुग्नुलाई खतराको तह मानिन्छ। अहिले देवघाट क्षेत्रमा नारायणी नदीको सतह १०.७५ मिटर पुगेको छ। पानीको तह निरन्तर बढिरहेको केन्द्रले जनाएको छ।

नारायणगढस्थित नारायणी पुलमा जलसतहले सतर्कता तह नाघेको छ। यहाँको सतर्कता तह ११ मिटर रहेकामा जलसतह बढेर १२.७२ मिट पुगेको छ। 

तल्लो तहमा पनि नारायणी नदीको सतह खतराको तहमा पुग्न थालेको जल तथा मौसम विज्ञान विभागले उल्लेख गरेको छ। विभागको वेवसाइटले पानीको सतह निरन्तर बढिरहेको जनाएको छ। यसैगरी नारायणगढ गैंडाकोटका नदी किनारका घरघरमा नारायणीको पानी पसेको छ।

पछिल्लो २४ घन्टामा चितवनको त्रिशूली नदीको कालीखोलामा २७६.२ मिलिमिटर, कल्याणपुरमा २९१ मिलिमिटर, शक्तिखोरमा २३१.८ मिलिमिटर, नारायणी फिल्ड अफिस आसपास २४७.४ मिलिमिटर, झुवानीमा २३८ मिलिमिटर र देवघाटमा २४४.२ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ।

नारायणी नदीमा पानीको बहाव बढ्दा पश्चिम चितवन र नवलपुर क्षेत्रमा बाढीको खतरा हुन्छ। अविरल वर्षा भएपछि जिल्ला प्रशासन कार्यालय चितवनले नदी आसपासका मानिसलाई सुरक्षित रहन आह्वान गरेको छ।

यस्तै भरतपुर महानगरपालिका एक स्थित देवघाटमा रहेको जय भोले कुटी (थारू कुटी) र अखण्ड धर्मशालामा बस्ने एक सय मानिसलाई माडवारी समाजको भवनमा उद्धार गरी सारिएको छ।

प्रकाशित: १२ आश्विन २०८१ ०६:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App