१५ माघ २०८२ बिहीबार
image/svg+xml
फोटो फिचर

काठमाडौंमा वर्षापछिको दृश्य

काठमाडौं उपत्यकामा हल्का वर्षा भएको छ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण काठमाडौंसहित देशका विभिन्न स्थानको मौसममा बदली आउनुका साथै वर्षा सुरु भएको हो।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसले गर्दा मौसममा यो परिवर्तन देखिएको हो।

महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा पूर्णतया बादल लाग्ने छ भने बाँकी पहाडी तथा तराईका भेगमा पनि मौसम धुम्मिनेछ।

यस प्रणालीको प्रभावले देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना रहेको छ।

विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।

त्यस्तै, बागमती प्रदेशसहित मधेस र कोशी प्रदेशका पहाडी भागका केही स्थान र कोशी प्रदेशको तराईका एक-दुई स्थानमा हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ।

आज राति भने देशका पहाडी र हिमाली भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने अनुमान महाशाखाले गरेको छ।

यद्यपि, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा राति पनि हल्का हिमपात र वर्षाको सम्भावना कायमै रहनेछ।

वर्षा र हिमपातका कारण चिसो बढ्ने हुनाले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्यका साथै हवाई तथा सडक यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने भन्दै महाशाखाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रकाशित: १४ माघ २०८२ १६:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App