नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहालले देशको संकट अझै पनि पूर्ण रूपमा टरी नसकेको बताएका छन्। बुधवार पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै प्रचण्डले यस्तो बताएका हुन्।
पार्टी कार्यालय पेरिस डाँडाबाट निस्किने क्रममा पत्रकारले प्रचण्डसँग ‘तपाईँले देश सधैँ संकट जान्छ भन्नुहुन्थ्यो। कस्तो खालको संकट हो?’ भनेर प्रश्न गरेका थिए। जसको उत्तरमा उनले भने,‘भदौ २४ गते देशले जे भोग्यो त्यो संकट नै थियो। त्यो संकटबाट देश अझै पनि बाहिर निस्किएको छैन।’ त्यो संकटबाट बाहिर निस्किन धेरै मेहनत गर्नुपरेको उनले बताए।
प्रचण्डलाई झापा–५ मा कसले जित्छ? भनेर पनि प्रश्न गरिएको थियो। ‘तपाईँहरूलाई बढी थाहा छ, मलाई भन्दा,’ प्रचण्डले उत्तरमा भने,‘जनताले मत कसलाई दिन्छन्, त्यसले जित्ने हुन्छ। अहिले नै कसैले भन्दैमा भइहाल्ने भन्ने हुन्न। जनमत नै निर्णायक कुरा हो।’
देशको बृहत्तर हितमा ध्यान दिन उनले पत्रकारसँग पनि आग्रह गरे। ‘कस्तो समाचारलाई दिँदा राष्ट्रको हित हुन्छ भन्ने कुरालाई ध्यान दिइदिनुहोला। स्टन्टबाजलाई धेरै प्रचार गरिदिनुभयो भने देश फेरि पनि दुर्घटनामा जान्छ,’ उनले भने।
प्रकाशित: १४ माघ २०८२ १६:४० बुधबार





