३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

श्राद्धको प्रसाद खिर खाएका २२ जनालाई 'फुड पोइजन'

म्याग्दीको मंगला गाउँपालिका–२,स्थित एक घरमा लगाइएको पूजाको प्रसाद खाँदा २२ जना बढी बिरामी भएका छन्।

प्रेम सापकोटाको घरमा श्राद्धको प्रसाद खाएर बिरामी भएकामध्ये बेनी अस्पतालमा १५ जनाको उपचार गरिएको छ भने अन्य बिरामीको अर्मन स्वास्थ्य चौकी र घरमा रहेको बताइएको छ।

साउन ३१ गते प्रसादका रुपमा खिर खानेहरू बिरामी परेका हुन्। बिरामीमध्ये ५ जना बालबालिका छन् भने केही वृद्धवृद्धा समेत रहेको बेनी अस्पतालले जनाएको छ। बिरामीमध्ये एक जना वृद्धालाई थप उपचारका लागि पोखरा रिफर समेत गरिएको छ। सामान्य अवस्थामा बिरामीले घरमै औषधि सेवन गरेर बसेको बावियाचौरका स्थानीय बासीको भनाई छ। बिरामी सबै खतरामुक्त छन्। प्रसाद खाएपछि एक्कासि समस्या देखिएको बिरामी भूमी घर्तीले बताए।

प्रसाद खानेलाई सुरुमा वाकवाक लाग्ने, बान्ता हुने तथा लगातार झाडापखाला हुने जस्ता समस्या देखिएको थियो। केही बिरामीमा ज्वरो देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। पूजाआजा, भोजभतेरमा फुड पोइजनको समस्या हुने भएकाले सतर्कता अपनाउनुपर्ने बेनी अस्पतालका डा. गोविन्द पोख्रेलले बताए।

गर्मी बढेसँगै फुड पोइजनका समस्या लिएर सामूहिक बाहेक पनि बिरामी अस्पतालमा आउने गरेका छन्। वाकवाकी लाग्ने, झाडापखालाले सताउने र पेट दुख्ने समस्या फुड पोइजनका कारण पनि हुनसक्छ। गर्मी याममा बासीसडेगलेका खाना नखाने, उमालेको पानी पिउने, काँचै खाने खानेकुरा राम्रोसँग पखालेर मात्र खाने, हातको सफाइमा ध्यान दिनुपर्ने डा. पोख्रेलको सुझाव छ। 

प्रकाशित: २ आश्विन २०८१ १६:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App