सिरहामा भएका दुई हत्याका घटनामा सामान्य विवादको बदला लिन भारतीय सुटरलाई सुपारी दिएर हत्या गराएको खुलेको छ।
सिरहाको सिरहा नगरपालिका १ का प्रेमनाथ यादव र औरही गाउँपालिका ५ जितिया मन्दिरका पुजारी सुन्दर शर्मालाई भारतीय सुटर प्रयोग गरी हत्या गराएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
सिरहा नगरपालिका–१ का ४२ वर्षीय प्रमेन्नाथ यादवको गत माघ १६ गते सोही नगरपालिका वडा नम्बर–७ स्थित मैनाबत्ती खोलाको किनारमा रहेको आफ्नै खेतमा जोतिरहेको अवस्थामा हतियारधारी व्यक्तिले गोली हानी हत्या गरेको थियो। उनको घटनास्थलमै मृत्यु भएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा मृतकको परिवारसँग सिरहा नगरपालिका १ का ५२ वर्षीय उपेन्द्र यादवको विगत चार वर्षदेखि रिसीइबी थियो। उनले प्रेमनाथसँग बदला दिने योजना बनाए। र, प्रेमनाथलाई मार्न भारतीय अपराधिक गिरोहलाई तीन लाख रुपैयाँको सुपारी दिने गरी डिल गरे।
एडभान्स स्वरुप एक लाख लिएर सुपारी पाएका अपराधिक गिरोहले आफ्ना सुटर पठाएर प्रेमनाथको हत्या गराएर डिल पूरा गरे। तर, उपेन्द्रले डिलअनुसारको बाँकी दुई लाख अझै भारतीय अपराधिक गिरोहलाई नदिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
उपेन्द्र पक्राउ परेपनि भारतीय अपराधिक गिरोह अझै प्रहरीको नियन्त्रणबाहिर छ। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी रमेशबहादुर पालका अनुसार भारतीय अपराधिक गिरोहको पनि पहिचान भैसकेको छ।
उपेन्द्रलाई ज्यान सम्बन्धि कसुर(कर्तव्य ज्यान)शीर्षकमा जिल्ला अदालत सिरहाबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको डिएसपी पालले बताए।
यस्तै २०८२ माघ ४ गते औरही गाउँपालिका ५ जितिया मन्दिर भित्र पुजारी ५५ वर्षीय श्यामसुन्दर शर्मा चुकुल लगाएर सुतिरहेको अवस्थामा हतियारधारी व्यक्तिले टाउको पछाडि गोली हानी हत्या गरेको थियो।
घटनाको अनुसन्धानबाट सोही ठाउँ बस्ने ५५ वर्षीय हरि ठाकुरले आफ्नो पारिवारिक रिसीईबी साध्न भारतीय सुटरलाई सुपारी दिएका थिए। भारतीय सुटरलाई ५० हजार रुपैयाँमा पुजारी शर्माको हत्या गर्न ठाकुरले सुपारी दिएको अनुसन्धानबाट खुलेको डिएसपी पालले जानकारी दिए।
घटनाको कारण सामान्य भए पनि प्रकृति र प्रवृत्ति डरलाग्दो रहेको उनले बताए। घटनाका संलग्नहरूको पहिचान भइसकेपछि पारि लुकेर बसेकाले पक्राउ गर्न समय लागिरहेको प्रहरीको भनाई छ।
प्रकाशित: २८ वैशाख २०८३ १९:१० सोमबार





