तिहार सकिएलगत्तै मकवानपुरको हेटौंडामा छठ पर्वको तयारी तीव्र पारिएको छ। हेटौंडास्थित राप्ती नदी किनारको दायाँतर्फ करिब ६० हजार भक्तजन सहभागी हुनसक्ने गरी पूजास्थल तथा आवश्यक संरचना निर्माण भइरहेको छ।
छठ पूजा समिति हेटौंडाका संयोजक रवि गुप्ताका अनुसार राप्ती नदी किनारमा सात फिटको पण्डालसहित भक्तजनका लागि आवश्यक संरचना तयार गरिएको छ। हेटौंडामा पछिल्लो २० वर्षयता छठ पूजाप्रतिको आकर्षण निरन्तर बढ्दै गएको उनले बताए।
पर्वलाई भव्य र सभ्य बनाउनुका साथै प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय तथा सम्बद्ध सुरक्षा निकायहरूसँग समन्वय भइरहेको संयोजक गुप्ताले जानकारी दिए।
तराईका विभिन्न जिल्लाबाट पेशा, व्यवसाय तथा रोजगारीका सिलसिलामा हेटौंडामा बसाइँ सर्ने क्रम बढेसँगै यहाँ छठको रौनकता पनि वर्षेनि थपिँदै गएको समाजसेवी एवं संस्कृत वेद विद्यालय हेटौँडाका अध्यक्ष रामकृष्ण थापाले बताए।
प्रकाशित: २६ कार्तिक २०८३ २२:०२ बिहीबार





