नेकपा एमालेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद्मा उपस्थित हुँदा लगाएको पोसाकमा आपत्ति जनाएको छ।
एमाले सांसद गुरु बरालले नियमापत्ति गर्दै प्रधानमन्त्री शाहको पोसाकदेखि संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत हुँदै गर्दा गरेको 'साइड टक' र नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको बेला संसद् भवनबाट बाहिर गएको विषयमा सभामुखको ध्यानाकर्षण गराएका हुन्।
प्रतिनिधि सभाको सोमबारको दोस्रो बैठकमा उनले प्रधानमन्त्रीको कार्यशैलीमा आपत्ति जनाए। ‘देशको प्रधानमन्त्री ज्यूले दुईवटा राष्ट्रिय महत्वका बैठकहरु संयुक्त सदनमा राष्ट्रिय पोसाकको परिपालना गर्नुपर्ने हो कि होइन ? चलन त्यसै चल्दैन, चलाएपछि चल्छ, हामी कस्तो चलन चलाउने हो यो देशमा। म सभामुख महोदयमार्फत यसमा रुलिङको माग गर्दछु,’ उनले भने।
राष्ट्रपतिले नीति र कार्यक्रम संबोधन गरिरहेको बेला प्रधानमन्त्रीले बहिष्कार गरेर हिँडेको भन्दै बरालले आपत्ति पनि जनाए। उनले नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीको दृष्टिकोण के हो भन्दै प्रश्न पनि गरे। त्यस्तै उनले प्रधानमन्त्री शाहले राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा फ्रन्ट लाइनमा बसेर १५ मिनेट 'साइड टक' गरेकोबारे पनि आपत्ति जनाए।
संसदीय मर्यादाविपरित भएकाले त्यो छलफल हटाउन पनि उनले माग गरे। यसमा आफ्नो ध्यानाकर्षण भएको भन्दै के भएको रहेछ यसबारेमा आफूले बुझ्ने सभामुख डिपी अर्यालले बताए।
प्रकाशित: २८ वैशाख २०८३ १८:५७ सोमबार





