४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

सिंजामा मष्टो संस्कृतिको धार्मिक मेला

जुम्लामा मष्टो परम्परा अन्तर्गतका धार्मिक मेला धमाधम चलिरहेका छन्। खस संस्कृतिको मष्टो परम्परा अनुसार ऐतिहासिक धार्मिक महत्त्व राख्ने कर्णालीका मेला सुरु भएका हुन्।

जुम्लामा धार्मिक आस्थाका जानकारहरूका अनुसार जनैपूर्णिमा अर्थात् रक्षाबन्धनका दिनबाट विभिन्न मन्दिरमा औपचारिक रूपमा पैठ अर्थात धा मेला सुरु हुने गर्छन्। 

त्यो बेलादेखि गाउँमा मेला भएपछि मानिसहरूको जमघट हुने, देउडा खेलेर रमाइलो गर्ने तथा भिडभाड हुने काम भईरहेका हुन्छन्। असोज महिनामा यी मेलाहरु झन् तिव्र गतिमा हुने गर्दछन्। जसमा जिल्ला बाहिरबाट भक्तजनहरु आउने गर्छन्। 

पछिल्लो समय जुम्लाको हिमा गाउँपालिका-१ बड्की, सिंजा गाउँपालिका- २ बिष्टवाडा सहितका विभिन्न स्थानमा कालासिल्ला कालिकाको पुजा सम्पन्न भएका छन्।

हिमा गाउँपालिका-१ कालासिल्लाका धामीझाँक्री भक्तबहादुर शाहीका अनुसार यस वर्ष पनि मेला भब्य रुपमा भईरहेका छन्। जुम्ला मात्रै नभई कर्णालीका विभिन्न जिल्लामा यी धार्मिक मेला हुने चलन छ। बड्की कालासिल्लाका पैठमा मात्रै ५ हजार बढी धार्मिक आस्थाका पर्यटकहरु सहभागी भएका छन्।

यस क्षेत्रमा यो सिजनमा बाह्रभाई मष्टो, वाविरा, महादेव, भैरवनाथ, कैलास, कालिका, मालिका, कालासिल्ला, ह्रयांग्रे लाखुडो, राहदेव, झ्यादेव सहितका दर्जनौँ कुल देउताको पूजाआजा हुने गर्दछ। यी देवताका मेलाहरूले आन्तरिक पर्यटकहरूको जमघट, आर्थिक चहलपहलदेखि विभिन्न काम हुने गर्छ।

यसबेला एकातिर भक्तजनहरूको देवताले दुख सुखमा साथ दिने विश्वासका साथ हरेक गाउँमा कुल पूजा गर्दै आउने चलन छ। भने अर्कोतिर मानिसहरु भेटघाट हुने गर्दछ। कर्णाली प्रदेशको विरेन्द्रनगर सुर्खेतमा बसोवास दुर्गबहादुर बम हाल विरेन्द्र नगर सुर्खेतमा बस्छन्, उनी आफु कालासिल्लाको धार्मिक मेलामा आएको बताए।

यता कालिकोट जिल्ला खिन निवासी बखतबहादुर बम कालासिल्लाको देवताका लागि आएको बताउँछन्।बड्की कालासिल्लाको पैठमा कालिकोट, मुगु, जाजरकोट सहित विभिन्न जिल्लाका मानिसहरु सहभागी हुने गरेको सुनाउँछन्। 

जसअन्तर्गत हाल जिल्लाका धेरै स्थानमा कुलपूजा हुन्छ। विभिन्न तिथिमा विभिन्न देवताको पूजा गरिँदै आउने चलनले यतिबेला कर्णालीका धार्मिक स्थानमा मानिसहरूको भिड हुने गर्दछ।  

वर्षभरी गरिने कामको थकान मेटाउने र रमाइलो गर्ने हेतुले पूजाआजा गर्ने धार्मिक मान्यता रहिआएको छ। यस समयमा हरेक गाउँमा धार्मिक आस्था अनुसार मन्दिर तथा थान बनाएर पूजा गर्ने, मन्दिरलाई नयाँ ध्वजापताका, फुलामालाले रंग्याउने कार्य गरिदै आएको पाईन्छ।

पूजाको दिनमा स्थानीयले नयाँ परिकारहरू बनाउने चलन छ। उनका अनुसार कात्तिक पूर्णिमासम्म विभिन्न पूजाआजा हुने र बृहत धार्मिक मेला लाग्ने गरेका छन्। यस हप्तामा मात्रै हिमा गाउँपालिका- २ देवारगाउँमा २ वटा मेला,र वडा नम्बर ३ जोगिवाडामा समेत धार्मिक मेला हुदैछन्।

कर्णालीको मष्टो परम्परा सहित विभिन्न धार्मिक सभ्यताको केन्द्र पनि हो। यसको प्रवद्र्धन गर्न आवश्यक रहेको सरोकारवाला निकाय बताउँछन्। हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले धार्मिक पर्यटन पनि कर्णालीमा महत्वपूर्ण रहेको भन्दै यसको प्रवद्र्धन गर्न आवश्यक रहेको बताए।

सो अनुसारका पूर्वाधारमा स्थानीय सरकारले समेत जोड दिँदै आएको छ। यस्तै जुम्लाको सिंजा गाउँपालिकाले दुई बर्ष देखी केदारनाथ धार्मिक मेला समेत सुरु गरेको छ।

चन्दननाथ मन्दिरमा पनि घटस्थापनाका दिनमा लिंगा हाल्ने चलन छ। सिंजा क्षेत्रमा वुडुमा मष्टो मेला, जाँचको मेला, हिमाको मोफ्ला र ओदीमा समेत हजारौ मानिसहरु सहभागी हुने गरेका छन्।

प्रकाशित: ३१ भाद्र २०८१ ११:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App