१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

चुनावी ‘मसला’ बन्छ, बाटो बन्दैन्

नेपालटार–मंगलबारे सडकको बेहाल

एकपटक कालोपत्रे र पटकपटक मर्मत गरिएपनि बेहाल बनेको नेपालटार–मंगलबारे सडकको एक खण्ड। तस्बिर: भीम/नागरिक

करोडौं रुपैयाँ खर्चेर कालोपत्रे गरेपनि हिलाम्य भइसकेको इलामको नेपालटार–मंगलबारे सडक चरम सरकारी बेवास्तामा परेको छ। जुनसुकै निर्वाचनका बेला मुख्य मुद्दा बन्नेगरेको यो सडक लामो समय कुन निकायले हेर्ने भन्ने नै अन्योलमा परेपछि उपभोक्ता आक्रोशित भएका छन्।

करिब १३ वर्षअघि कालोपत्रेसमेत भएको १२ किलोमिटरको यो सडकमा पहिलोपटकको कालोपत्रेको चिनोबानो छैन। दोस्रो–तेस्रो पटक गरी करोडौं रकम मर्मतमा खर्चिएपनि अहिले अधिकांश भागमा कालोपत्रे गरिएको संकेतसम्म छैन।

कच्चीझैं बनिसकेको यो सडक बर्खामा हिलाम्य हुन्छ, हिउँदमा धुलैधुलो। इलाम निर्वाचन क्षेत्र नम्बर-२ लाई सदरमुकामसँग जोड्ने मुख्य सडकको अवस्था दयनीय भएपछि स्थानीयले विरोध जनाउन थालेका छन्।

डिभिजन सडक कार्यालयले यो सडक कालोपत्रे गरेपनि सडक बोर्डमा सूचीकृत नभएकाले मर्मतमा अन्योल हुँदै आएको स्रोत बताउँछ। ‘बोर्डमा सूचीकृत भएको भए डिभिजनले नै आवधिक मर्मतसम्भार गर्ने थियो, यो अवस्था रहनेथिएन,’ स्रोत भन्छ, ‘यसमा डिभिजन कार्यालयको मात्र होइन, राजनीतिक नेतृत्वको पनि पहल कम भएको देखिन्छ।’

कालोपत्रे जीर्ण भएपछि उपभोक्ताले यो सडकमा बर्खाका बेला रोपाइँसमेत गरेर विरोध जनाएका थिए। उनीहरूले सडक मर्मत नभएको भन्दै पटक–पटक डिभिजन सडक कार्यालयको ध्यानाकर्षण पनि गरेका थिए। तर, आफूहरूको कुनै आग्रह नसुनिएको इलाम नगरपालिका–१, साखेजुङका वडासदस्य मोहन गुरुङले बताए।

‘हामीले यो सडकको गुणस्तरबारे धेरैपटक प्रश्न गरेका हौं तर कहिल्यै सुनुवाई भएन,’ उनले भने, ‘अहिले त यो सडक बेवारिसेझैं भएको छ।’

राज्य पुनर्संरचना अघिसम्म डिभिजनले नै रेखदेख गरिरहेको यो सडक लामो समय कुन निकायले हेर्ने भन्ने अन्योलमै रह्यो। अन्योलकै कारण केही वर्ष यो सडकको मर्मत–सम्भार हुन सकेन।

इलाम नगरपालिका र देउमाई नगरपालिकाले पोहोर जसोतसो अलिअलि मर्मत गरी चाडबाडका बेला हुने आउ–जाउ सहज बनाए। डिभिजनले आर्थिक वर्ष २०७९/०८० मा यो सडक मर्मत गर्न ९७ लाख रुपैयाँमा ठेक्का लगायो। तर, २०८० असार मसान्तमा सक्नुपर्ने मर्मतको काम एक वर्षको अवधि थप्दा पनि सकिएन।

डिभिजनकी इन्जिनियर मनिषा कट्टेल निर्माण व्यवसायीले सम्झौताअनुसार काम गर्न नसक्दा ठेक्का तोड्ने अवस्था आएको बताउँछिन्। ‘यो सडक मर्मतका लागि ठेक्काको म्याद एक वर्ष थप्दा पनि ७० प्रतिशतमात्रै काम भएको छ,’ उनले भनिन्, ‘अब डिभिजनले ठेक्का तोड्नेछ।’ 

उनले चालु वर्षका लागि भने यो सडकमा कुनै पनि काम डिभिजनले गर्न नसक्ने बताइन्। ‘चालु वर्षका लागि यो सडकको कुनै पनि योजना हामीमार्फत् हुनेछैन,’ उनले भनिन्, ‘कुनै कार्यक्रम आयो भने गर्न सकिन्छ, अहिले कुनै कार्यक्रम आएको छैन त्यो सडकका लागि।’

संघीय सरकारअन्तर्गतको डिभिजन सडक कार्यालयमात्र होइन, कोशी प्रदेश सरकारसँग पनि यो सडकको निर्माण/मर्मतबारे कुनै जबाफदेहिता थिएन। तर, चालु वर्ष प्रदेश सरकारले यो सडक आफूमातहत रहेको बताएको छ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानामगरले यो सडकमा चालु वर्ष १० लाख रुपैयाँ विनियोजन गरिएको बताए। ‘अब यो सडक प्रदेश सरकारअन्तर्गत नै आएको छ,’ आफ्नै जन्मघरको फूलबारीबाट गएको यो सडकबारे मन्त्री रानाले भने, ‘यो वर्ष मर्मतमा चाहिँ थोरैमात्र बजेट छ।’

मेची राजमार्गबाट जोडिएको इलाम क्षेत्र-२ को ‘लाइफलाइन’ झैं मानिने सडकको यस्तो बिजोक भएपछि स्थानीय जनप्रतिनिधि, उपभोक्ता र सरोकारवाला सोमबार सदरमुकाम आएर डिभिजनको ध्यानाकर्षण गरेका छन्।

उनीहरूले जिल्ला प्रशासन कार्यालयको समेत ध्यानाकर्षण गरेका छन्। ३० भन्दा बढीको संख्यामा आएका उनीहरूले अब पनि यो सडकको अवस्था नसुध्रिए आन्दोलन गर्ने चेतावनीसमेत दिए।

स्थानीय श्रीबहादुर विष्टले यो सडकमा वर्षाैंदेखि हिँडडुल गर्न समस्याले उपभोक्ता आजित भएको गुनासो गरे। ‘अब पनि यो सडक सुधार भएन भने आन्दोलन गर्नुको विकल्प छैन,’ इलाम उद्योग वाणिज्य संघका उपाध्यक्षसमेत रहेका स्थानीय विष्टले भने, ‘उपभोक्ता निकै आजित भइसकेका छन्।’

इलाममा जब संसदीय र स्थानीय तह निर्वाचन आउँछ, नेपालटार–मंगलबारे सडक जुनसुकै राजनीतिक दल र उम्मेदवारको प्राथमिकतामै पर्छ। अझ चुनाव आउनुअघि यही सडकको फोटो र अवस्था सामाजिक सञ्जालमा छ्यापछ्यापती बनाएर नेतालाई गाली गर्ने लहरै चल्नेगरेको छ। तर, निर्वाचनपछि चाहिँ यो सडकको चर्चा सेलाउँदा स्थानीयले सास्ती खेप्नुपरेको हो।

‘हामीले वर्षाैंदेखि यो सडकमा सास्ती पायौं, जहिले पनि चुनावी मसलामात्र बनाइयो यो सडकलाई,’ स्थानीय उपभोक्ता जयदेवी राई भन्छिन्, ‘नेता आउँछन्, सडक राम्रो बनाउँछु भनेर मीठो भाषण गर्छन् चुनाव सकिएपछि जस्ताको तस्तै।’ उनले स्थानीय, प्रदेश र संघीय सरकारले नै यो सडकलाई बेवास्ता गरेको बताइन्।

प्रकाशित: २४ भाद्र २०८१ १६:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App