१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

पल्सर अवार्ड २०८०: चार विधाका मनोनयन सार्वजनिक

नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०८० का लागि पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक गरी चार विधाका मनोनयनहरू सार्वजनिक भएका छन्।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत २ १औं संस्करणको अवार्डका लागि मनोनयन घोषणा गरेको हो। हरेक विधामा उत्कृष्ट पाँच खेलाडी र प्रशिक्षकहरू छनोट भएका छन्।

पुरुष विधातर्फ क्रिकेटका दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, करातेका मोहम्मद सेखु आलम, फुटबलका अनन्त तामाङ र गल्फका सुवास तामाङ मनोनयनमा परेका छन्।

महिलातर्फ करातेकी एरिका गुरुङ, फुटबलकी साबित्रा भण्डारी, क्रिकेटकी रुबिना क्षेत्री, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र कबड्डीकी मेनुका राजवंशी छनोट भएका छन्।

यस वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीहरूले देखाएको उत्कृष्ट प्रदर्शनका आधारमा मनोनयन गरिएको हो। महासचिव प्रज्वल ओलीको संयोजकत्वमा रहेको सात सदस्यीय छनोट समितिले खेलाडी र प्रशिक्षकको छनोट गरेको हो।

युवा खेलाडीको विधामा अर्जुन कुमाल (क्रिकेट), हेमन्तपाल (भारोत्तोलन), प्रीति राई (फुटबल), सुजन गडाल (टेबलटेनिस) र सुनिरा थापा (टेनिस) मनोनयनमा परेका छन्।

प्रशिक्षक विधामा कविराज नेगी लामा (पारा तेक्वान्दो), कुशल श्रेष्ठ (कराते), मोन्टी देसाई (क्रिकेट), पार्वती राई (कबड्डी) र सञ्जय मर्हजन (भारोत्तोलन) छनोट भएका छन्।

अवार्ड कार्यक्रम भदौ २८ मा

एनएसजेएफ पल्सर अवार्ड आगामी भदौ २८ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिनेछ।

चयन समितिका संयोजक ओलीले यसपटक धेरै खेलाडीहरू दाबेदार रहेकाले उत्कृष्ट पाँचजनालाई छनोट गर्न कठिन भएको बताए। कार्यक्रममा एआइपिएसका केन्द्रीय सदस्य इम्यानुएल फ्यान्टानेनुले खेलाडीलाई सम्मान गर्नु खेलकुदका लागि सकारात्मक पक्ष भएको बताए।

पिपल्स च्वाइस विधामा कडा प्रतिस्पर्धा

अवार्डको पिपल्स च्वाइस विधाको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ। फुटबलकी प्रीति राई, कबड्डीकी मानमति बिष्ट, भलिबलकी कविता भट्ट, रग्बीका श्रीराम श्रेष्ठ र क्रिकेटका गुलसन झा मनोनयनमा परेका छन्।

पिपल्स च्वाइस विजेताको घोषणा इसेवाको भोटिङ, २९ खेलका प्रमुख प्रशिक्षकको मत, एनएसजेएफ सदस्यको मत र पल्सर नेपालको आधिकारिक फेसबुक पेजका लाइकको आधारमा गरिनेछ। इसेवाको भोटिङ भदौ २७ गते राति १२ बजे बन्द हुनेछ।

विजेतालाई आकर्षक पुरस्कार

यसपटक वर्ष पुरुष, महिला, युवा र प्रशिक्षक विधाका विजेतालाई पल्सर एनएस २०० मोटरसाइकल प्रदान गरिनेछ भने पिपल्स च्वाइस विजेताले पल्सर एनएस ४०० मोटरसाइकल जित्नेछन्। अन्य विधाका विजेताले जनही एक लाख रुपैयाँ र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्।

प्रकाशित: २४ भाद्र २०८१ १५:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App