३१ भाद्र २०८१ सोमबार
image/svg+xml
समाज

जहाँ ‘देउताको डर’ले छाउमा छात्रा स्कुल जाँदैनन्

दैलेख–अछाम जोड्ने पुल र सँगै जोडिएको नैनेल देवताको मन्दिर (माथि) र अछामको चण्डिका माध्यमिक विद्यालय। तस्बिर: नागरिक

आठबीस नगरपालिका–५ को खिड्कीज्युला र अछामको पञ्चदेवल विनायक नगरपालिका–९ चिल्तडालाई जोड्ने कर्णाली नदीमाथि झोलुंगे पुल छ। त्यही पुल तरेर दैलेखबाट झन्डै ७० भन्दा बढी विद्यार्थी अध्ययनका लागि अछामको चण्डिका माध्यमिक विद्यालय जान्छन्।

अछामतर्फ पुलछेउमै नैनेल देवताको मन्दिर छ। यही मन्दिरका कारण महिनावारी (छाउ) भएपछि किशोरी नौ दिनसम्म स्कुल जान पाउँदैनन्। दैलेखको खिड्कीज्युलाकी लेलिन रोकायले नैनेल देवताका कारण नौ दिनसम्म महिनावारी भएको बेला स्कुल नजाने गरेको बताइन्।

‘एक त महिनावारी हुँदा नदी तर्नुहुन्न भन्ने मान्यता छ, त्यसमाथि पुलसँगै नैनेल देवताको मन्दिर छ,’ उनले भनिन्, ‘नौ दिनसम्म त्यो पुलबाट कोही पनि हिँड्दैनौं।’

कर्णाली र सुदूरपश्चिमका केही जिल्लामा महिनावारी हुँदा सात दिनसम्म छाउगोठमा बस्ने कुसंस्कार छ। तर, महिनावारी हुने किशोरी भने पढ्नबाट वञ्चित हुनुपरेको घटना यहाँको मात्रै हो। चण्डिका मावि जानका लागि केही अघिसम्म अहिलेको पुलभन्दा केही माथि अर्को झोलुंगे पुल थियो। महिनावारी भएको बेला त्यही पुल तरेर स्कुल जान्थे। गत जेठ २७ गते त्यो १४ वटा खच्चड एकसाथ हिँड्दा त्यो पुल चुँडियो। त्यसयता दैलेखबाट महिनावारी भएको बेला स्कुल जाने किशोरी समस्यामा पर्न थाले।

‘जेठयता महिनावारी भएका बेला नौ दिनसम्म स्कुल छुट्ने गरेको छ,’ विद्यार्थी तुल्सी चौलागाईंले भनिन्, ‘भेल्तडीमा झोलुंगे पुल त छ तर त्यहाँबाट स्कुल जान चार घण्टा लाग्छ।’ उनले महिनामा नौ दिन मन्दिरकै कारण स्कुल छुट्ने गरेको सुनाइन्। ‘महिनाको नौ दिन स्कुल नजाँदा धेरै पढाइ छुट्छ,’ उनले भनिन्, ‘यस्तै अवस्था रह्यो भने फाइनल परीक्षा बिग्रने हो कि भन्ने चिन्ता लागिरहन्छ।’

चौलागाईंले घरका ज्येष्ठ सदस्य नैनेल देवताको बाटो भएर स्कुल पठाउन डराउने गरेको बताइन्। उनले आफूभन्दा ठूलाबढाले भनेको नमान्दा झन् समस्या हुने भएकाले स्कुल नजाने गरेको बताइन्। ‘महिनावारी हुँदा पुल तर्नुहुन्न भन्छन्, त्यो त तरेकै थियौं,’ उनले भनिन्, ‘मन्दिरको कुरा आएपछि हामीमा पनि डर पैदा भयो।’

दैलेखबाट अछामको पञ्चदेवलमा पढ्न जाने किशोरीमध्ये महिनावारी हुँदा महिनामा सरदर २० जना किशोरी नौ दिनसम्म स्कुल नआउने गरेको शिक्षिका कल्पना चलाउनेले बताइन्।

‘दैलेखबाट यहाँ पढ्न आउने किशोरीलाई देउताले रोकेको छ,’ उनले भनिन्, ‘हामी त स्कुल छुटाउनु हुन्न आउनुहोस् भन्छौं तर देउता रिसाउने डरले महिनावारी भएका किशोरी नौ दिनसम्म स्कुल आउँदैनन्।’

उनले अझै पनि अछाम, दैलेखतिर महिनावारी हुँदा छाउगोठमा बस्नुपर्ने, सात दिनसम्म दूधदही खान नपाउनेलगायत समस्या यथावतै भए पनि बढ्नबाटै वञ्चित हुनुपर्ने अवस्था भने अन्त्य हुनुपर्ने बताइन्। ‘अहिलेको पुलभन्दा केही माथि अर्को पुल हुँदासम्म छात्राहरू स्कुल नियमित आउने गरेका थिए,’ उनले भनिन्, ‘त्यो पुल चुँडिएपछि छात्रा महिनावारी हुँदा स्कुल आउन छोडेका हुन्।’

शिक्षिका चलाउनेले आफू महिनावारी हुँदा पनि सो पुल ओहोर–दोहोर नगरेको बताइन्।

विद्यालयका प्रधानाध्यापक कमल शाहीले छाउपडी कुप्रथाबारे जनचेतना फैलाउन आवश्यक रहेको बताए। ‘महिनावारी हुँदा नदी तर्नुहुन्न, देउताको मन्दिरको बाटो हिँड्नुहुन्न भन्ने कुसंस्कार अझै यथावतै छ,’ उनले भने, ‘यस सम्बन्धी जनचेतना फैलाउन आवश्यक छ।’

उनले पढ्ने छात्राहरूलाई देउताका नाममा डराउन खोजिएको बताए।

नैनेल देउताका धामी धनबहादुर शाही महिनावारी भएका महिला नौ दिनसम्म हिँड्नै नहुने दाबी गर्छन्। उनले केही महिना महिनावारी भएको नौ दिनअगावै मन्दिरको बाटो भएर हिँड्दा सर्पले टोक्न खोजेको, बिरामी भएको दाबी गरे। ‘त्यसैले महिनावारी (छुई) भएको नौ दिनसम्म यहाँबाट कोही पनि महिला जाँदैनन्,’ उनले भने, ‘हाम्रा कारणले होइन देउताका कारणले नगएका हुन्।’

प्रकाशित: २० भाद्र २०८१ ०७:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App