३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

कृषि एक्स्पो सम्पन्न, एक लाखले गरे अवलोकन

मोरङको कटहरीमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशद्वारा आयोजित पहिलो कृषि एक्स्पो आइतबार सम्पन्न भएको छ। भदौ २७ गतेदेखि सुरु भएको एक्स्पोमा १३० वटा स्टल राखिएका थिए। जसलाई चार दिनसम्म स्थानीय र बाह्य अवलोकनकर्ताले उत्साहपूर्वक अवलोकन गरे।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले एक्स्पो अपेक्षाभन्दा उत्कृष्ट बनेको बताए। उनले भने, “कृषिमा आधारित यस प्रकारको छुट्टै एक्स्पो पहिल्यै भएको थिएन। कृषकहरूको सहभागिता र उपस्थितिले अर्को वर्ष पनि एक्स्पो आयोजना गर्ने उत्साह थपेको छ। गर्मी मौसम र बजार क्षेत्रभन्दा केही टाढा हुँदा पनि एक लाखभन्दा बढीले एक्स्पो अवलोकन गरेका छन्।”

कोशी प्रदेशबाहेक अन्य प्रदेशका कृषक, कृषि विज्ञ, विद्यार्थी, र विभिन्न कृषि कलेजका सहभागीहरूले एक्स्पोलाई भरपुर सहयोग गरेका थिए।

कृषि ज्ञान केन्द्र, स्थानीय तह, र उद्योग वाणिज्य संघहरूबाट सिफारिस भएका ८ सय कृषकहरू पनि सहभागी भएको अध्यक्ष राउतले जानकारी दिए। उनले जिल्ला बाहिरबाट आएका कृषक र विद्यार्थीका लागि निःशुल्क खान बस्नको व्यवस्था गरिएको पनि उल्लेख गरे।

एक्स्पोमा कृषि बजार प्रणाली, मूल्य शृङ्खला, ‘कस्टम हायरिङ’, पशुपंक्षी कृषि विज्ञानलगायतका विषयमा प्रस्तुतीकरणहरू भए। साथै, विज्ञहरूबीच प्यानल छलफल पनि गरिएको थियो।

भारतीय विज्ञ डा. कञ्चन भौमिक, कृसेन्दु सिन्हा, र डा. सुभाशिष बलले ‘एजोला तथा ब्लुग्रीन एल्गी’ को उत्पादन र जैविक मल तथा विषादी निर्माण र प्रयोगका विधिबारे कृषकलाई जानकारी गराए।

एक्स्पोमा कृषि मेसिनरी, कृषि उपज, भेटनरी सेवा, साना किसानका उत्पादनदेखि हिमाली र पहाडी जिल्लाका उत्पादनसम्मका स्टल राखिएका थिए। जसले कृषकहरूलाई व्यावसायिक ज्ञान र अनुभव प्रदान गरेको थियो।

प्रकाशित: ३० भाद्र २०८१ २०:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App