१८ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकार कुनै पनि बेला ढल्न सक्छः उपाध्यक्ष खतिवडा

पत्रकार सम्मेलनमा उपाध्यक्ष खतिवडा र अध्यक्ष हृदयविक्रम तामाङ।

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले वर्तमान सरकार कुनै पनि बेला ढल्न सक्ने चेतावनी दिएका छन्। सोमबार कटारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकार अस्थिर रहेको र राजनीतिक सौदाबाजीको भरमा टिकेको दाबी गरे।

उपाध्यक्ष खतिवडाले कांग्रेस र एमालेबीचको सौदाबाजीमा आधारित सरकार टिकाउ नभएको बताए। उनले भने, "दुई दलका भ्रष्टाचारको समूह मिलेर बनेको यो सरकार कुनैबेला पनि ढल्न सक्छ। सरकार गठनको बेला भएका सौदाबाजी कतिखेर सकिन्छ भन्ने कुरा कसैलाई थाहा छैन।"

उनका अनुसार यो सरकार भ्रष्टाचारका काण्डमा संलग्न व्यक्तिहरूलाई जोगाउन गठन भएको हो। उनले भुटानी शरणार्थी प्रकरण, गिरीबन्धुलगायतका काण्डमा मुछिएका व्यक्तिहरूलाई बचाउनका लागि कांग्रेस र एमालेले रातारात सरकार बनाएको आरोप लगाए। खतिवडाले भने, "देश र जनताका लागि यो सरकार घातक छ। भ्रष्टाचारकै कारण सरकारभित्र बेमेल सुरु हुने निश्चित छ।"

खतिवडाले एकीकृत समाजवादीले सरकार ढाल्ने कुनै योजना नभएको स्पष्ट पारे। तर, सरकार ढाल्नका लागि कसैले कदम चालेमा आफूहरूले सहयोग गर्ने संकेत गरे।

पत्रकारहरूले माओवादी केन्द्रसँगको सम्भावित एकीकरणबारे जिज्ञासा राख्दा खतिवडाले हालका लागि यस्तो योजना नरहेको बताए। उनले भने, "हाम्रो चुनाव चिन्ह कलममा कोही मिल्न चाहन्छ भने स्वागत छ, तर हामी अरूको चुनाव चिन्ह खोज्दै कतै जाँदैनौं।"

उदयपुर निर्वाचन क्षेत्र-२ मा दुई दिनअघि सम्पन्न कार्यकर्ता भेलामा हृदयविक्रम तामाङको संयोजकत्वमा २१ सदस्यीय क्षेत्रीय कमिटी गठन गरिएको खतिवडाले जानकारी दिए। उनले अब जनताको समस्याको पहिचान गरी समाधानका लागि घरदैलो कार्यक्रम सञ्चालन गरिने बताए।

प्रकाशित: १५ पुस २०८१ २०:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App