महोत्तरीको जलेश्वर नगरपालिका–२ स्थित श्री लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार झामाथि यौन दुर्व्यवहारको आरोप लागेको छ। कक्षा ७ मा अध्ययनरत एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा विद्यार्थीहरू आन्दोलित भएका छन्।
आइतबार बिहानैदेखि विद्यार्थीहरूले प्रधानाध्यापकविरुद्ध नारा लगाउँदै जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरे। उनीहरुले टायर बालेर सडक जाम गरेपछि स्थानीय क्षेत्र तनावग्रस्त बनेको थियो।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवारका अनुसार प्रदर्शनकारी विद्यार्थीहरूले प्रशासन कार्यालयमा दबाब दिँदै दोषीलाई कडा कारबाहीको माग गरेका छन्।
अभिभावकहरूको समेत समर्थनमा उत्रिएको आन्दोलनले विद्यालय परिसरमा थप तनाव सिर्जना गरेको छ। प्रधानाध्यापक झामाथि यसअघि पनि यस्तै व्यवहारको आरोप लाग्दै आएको प्रदर्शनकारीहरूले बताए।
जिल्ला प्रशासनले घटना गम्भीर रहेको भन्दै अनुसन्धान अघि बढाएको जनाएको छ। दोषी पुष्टि भएमा कडा कानुनी कारबाही हुने प्रशासनको प्रतिबद्धता छ।
प्रकाशित: १४ पुस २०८१ १५:२४ आइतबार