१८ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

नागरिककर्मी गौतमले जिते मोना फोटो प्रतियोगिता

प्रवासी नेपाली संघ (मोना) अष्ट्रेलिया र म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको मोना खुला फोटो प्रतियोगितामा नागरिक दैनिकका म्याग्दी संवाददाता हरिकृष्ण गौतमले प्रथम स्थान हासिल गरेका छन्।

पर्यटकीय, धार्मिक, तथा सांस्कृतिक स्थलको प्रचार–प्रसार गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा गौतमले खिचेको बेनी नगरपालिका–५ स्थित पौराणिक पर्यटकीय स्थल पुलहाश्रम क्षेत्रको फोटोले पहिलो स्थान हासिल गरेको हो।

सोमबार म्याग्दी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित पुरस्कार वितरण समारोहमा गण्डकी प्रदेशसभाका सदस्य हरि भण्डारी, संघका अध्यक्ष सुविन श्रेष्ठ, मोना अष्ट्रेलियाका पूर्व अध्यक्ष मुक्ती रोका र उपाध्यक्ष सुसन श्रेष्ठले गौतमलाई नगद १ लाख, ट्रफी र सम्मानपत्र प्रदान गरे।

प्रतियोगितामा दोस्रो स्थान बेनी नगरपालिका–९ तोरीपानीका मिलन खत्रीले खिचेको ढोलठान दरबारले हासिल गर्‍यो भने तेस्रो स्थान रघुगंगा गाउँपालिका–३ पिप्लेका भविन्द्र शाहीको भगवती मन्दिरको फोटोले पायो। दोस्रो र तेस्रो स्थानले क्रमशः नगद ५० हजार र २५ हजारसहित सम्मानपत्र प्राप्त गरे।

मुख्य अतिथि गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारीले फोटो प्रतियोगिताले म्याग्दीका ओझेलमा परेका पर्यटकीय स्थल उजागर गर्न योगदान दिएको बताए। "पर्यटकीय क्षेत्र विकासका लागि पूर्वाधार विस्तार अपरिहार्य छ। यस्तो प्रतियोगिताले स्थानीय स्थलहरूको प्रचार–प्रसारमा सघाउँछ," उनले भने।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले जिल्लाको पर्यटन प्रवर्द्धनका लागि यस्ता प्रतियोगिताहरू कोशेढुंगा साबित हुने बताए। उनले यही पुस २८ देखि माघ ८ गतेसम्म म्याग्दीको सदरमुकाम बेनीमा आयोजना हुने आठौं म्याग्दी महोत्सव एवम् माघे सङ्क्रान्ति मेलामा प्रतियोगिताका उत्कृष्ट फोटोहरू प्रदर्शनीमा राखिने जानकारी दिए।

नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष समेत रहेका गौतमले पुरस्कारले पर्यटन प्रवर्द्धनमा आफ्नो जिम्मेवारी थपिएको महसुस भएको बताए। मोना अष्ट्रेलियाका पूर्व अध्यक्ष मुक्ती रोकाले प्रतियोगिताले म्याग्दीको पर्यटन क्षेत्रलाई नयाँ पहिचान दिएको भन्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

प्रतियोगितामा ३ सयभन्दा बढीले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: १५ पुस २०८१ २०:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App