२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रहरीले भन्यो: हिमपहिरोले खोला थुनिए पनि भित्रभित्रबाट पानी बगेको छ

हिमालपारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा फेरि हिमपहिरो झरेको छ। 

शुक्रबार दिउँसो धौलागिरी हिमाली श्रृंखलाबाट झरेको हिमपहिरोले मानवीय र भौतिक क्षति भने गरेको छैन। तर, बोक्सी खोलामा खसेको पहिरोले स्थानीयमा त्रास छाएको छ। स्थानीय प्रशासनले कालिगण्डकीमा वहाव बढ्न सक्ने भन्दै सचेत हुन आग्रह गरेको छ।  

थासाङ गाउँपालिका–२ का अध्यक्ष गौतम शेरचनका अनुसार धौलागिरी हिमश्रृंखला अन्तर्गतको टुकुचे पिक ६९२० मिटर (स्थानीयले मानापाथी हिमाल भनेर बुझ्छन) माथिबाट हिमपहिरो झरेको हो। ‘दुइवर्ष अघि पनि त्यही ठाउँमा हिमपहिरो खसेको हो। अहिले फेरि घटना दोहोरिएको छ,’ शेरचनले भने, ‘अघिल्लो पटक भन्दा यो पटक केही सानो आकारमा हिमपहिरो झरेको हो।’

शेरचनका अनुसार हिमपहिरो खसेको ठाउँ चरन क्षेत्र हो। खसेको पहिरो छिप्लुङ खोला हुँदै तल आएर बोक्सी खोलामा मिसिन्छ। बोक्सी खोलामा आएको पहिरो पुन कालिगण्डकीमा मिसिन्छ। हिउँको ढिस्को सहितको पहिरो खसेकोले हिउँ पग्लिँदै जाँदा कालिगण्डकीमा वहाव बढ्न सक्ने जोखिम रहेको उनले बताए। ‘खसेको पहिरोले माथि नै खोला थुनेको अनुमान छ। किनकी खोलामा पहिलेको आकारमा पानी छैन। त्यसैले वहाव एकाएक बढ्ने होकी भन्ने त्रास मात्र हो,’ उनले भने।

मुस्ताङका प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेका अनुसार हिमपहिरोले खोला थुनिएको भएपनि खोलाको वहाव पूर्णरुपमा रोकिएर पानीको ताल बनेको भने छैन। तर, भित्रभित्र बगेको पानीले हिउँ पगाल्दै जाँदा पछि वहाव थपिन सक्ने जोखिम रहेको भने उनले बताए।  

‘धौलागिरी श्रृंखला नै पहिरोको मुहान हो। अहिले नै क्षति भएको होईन। तर पछि कालिगण्डकीमा वहाव बढ्न सक्ने जोखिम भएकोले तल्लो तटका नागरिकलाई सचेत हुन भनेका छौं,’ उनले भने। डिएसपी पाण्डेका अनुसार बोक्सीखोला आसपासमा ९ वटा घर भएपनि ती घरमा अहिलेसम्म जोखिम भने निम्तिएको छैन। ‘मानव बस्ती भन्दा करिब २ किलोमिटर माथिबाट पहिरो खसेको अनुमान छ,’ उनले भने।  

प्रकाशित: ७ भाद्र २०८१ १६:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App