२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

पोखरा भित्रिने मुख्य राजमार्ग २४ घण्टादेखि अवरुद्ध

पृथ्वी राजमार्गको तनहुँस्थित घाँसीकुवाँमा बुधबार बेलुकी खसेको पहिरो। पहिरोले पृथ्वी राजमार्ग पूर्ण रुपमा अवरुद्ध छ। तस्बिर सौजन्यः गौरव पन्त

पर्यटकीय राजधानी पोखरालाई जोड्ने मुख्य सडक पृथ्वी राजमार्ग २४ घण्टादेखि अवरुद्ध छ। राजमार्ग अन्तर्गत तनहुँको ब्यास नगरपालिका–१२ घाँसीकुँवामा बुधबार बेलुकी ५ बजे भीषण पहिरो खसेको थियो। पहिरोले राजमार्ग अवरुद्ध हुँदा पोखरा भित्रिने र पोखराबाट बाहिरिएका सवारीको तनहुँको दमौली खण्डमा लाम लागेको छ।  

तनहुँका प्रहरी प्रवक्ता डिएसपी दिपक कुमार रायका अनुसार राजमार्ग खुलाउन अझै केही घण्टा लाग्नेछ। बुधबार बेलुकी पहिरो खसेको भएपनि थप पहिरोको जोखिमका कारण रातभर काम हुन सकेको थिएन। विहीबार बिहानैबाट पहिरो पन्छाउने काम सुरु भएको थियो। ‘बिहानैदेखि उपकरणले काम गरिरहेका छन्। पहिरो नै ठूलो आकारमा खसेकोले पन्छाउनका लागि पनि समय लागेको हो,’ रायले भने, ‘विहीबार बेलुकीसम्म भएपनि सडक संचालन गराउने लक्ष्य छ।’  

पहिरोसँगै रुख पनि लडेकाले सडक खुलाउन थप समय लागेको उनले बताए। उनका अनुसार मुख्य राजमार्ग अवरुद्ध भएपछि पोखराबाट बाहिरिएका र पोखरा भित्रिने ठुला आकारका सवारी साधन राजमार्गमै रोकिएका छन्। पहिरो खसेको खण्डको दुवैतिर करिब चारकिलोमिटर दूरीसम्म सवारी रोकिएको उनले बताए।

‘पश्चिममा दमौली र पूर्वमा छिर्कनसम्म राजमार्गमा सवारीको लाम छ। ठुला आकारका सवारी सडकमै रोकिएका छन,’ उनले भने, ‘साना र मझौला सवारी भने बैकल्पिक बाटोबाट आउजाउ गरेका छन्। उनका अनुसार साना सवारीका लागि डाइभर्सन प्रयोग गरिएको छ। क्ेही ठुला सवारी लम्जुङ हुँदै पोखरातिर आउजाउ गरेको पनि उनले बताए।  

प्रहरीले राजमार्ग अवरुद्ध भएपछि विहीबार बिहान सूचना निकालेर साना तथा मझौला सवारीका लागि दमौली हुँदै घाँसीकुवाका लागि आउजाउ गर्दा तालघरे, दरैपधेरा हुँदै घाँसीकुवा र घाँसीकुवा–पोल्याङ–रानीगाउँ हुँदै तालघरे निस्कन सकिने गरि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको थियो  त्यस्तै गहै सवारी साधनका लागि लागि डुम्रे–बेशीसहरको लम्जु्ङ खण्ड हुँदै पोखरा जाने मार्ग प्रयोग गर्न आग्रह गरेको थियो।

‘निकै नै ठूलो पहिरो खसेकोले पन्छाउन पनि समय लागेको हो,’ उनले भने। पहिरोस्थल पोखराबाट करिब ५५ किलोमिटर पूर्व पर्छ, दमौलीबाट भने चारकिलोमिटर पूर्व पर्छ। उनका अनुसार राजमार्गको करिब एकसय मिटर माथिबाट खसेको पहिरोले सडक पुरिएको छ।  

पहिरोले पुरिएको खण्ड बिस्तार भईरहेको पृथ्वी राजमार्गमा पर्छ। बिस्तारको क्रममा रहेको पोखरा–मुग्लिन सडकको पूर्वि खण्डका इन्जिनियर विष्णु पाण्डेका अनुसार सडकको करिब १ सय ३० मिटर खण्ड पुरै पहिरोले पुरेको छ। बुल्दी खोलाको आधा भाग समेत माथिबाट खसेको पहिरोले पुरेको थियो। आधा मात्र पुरिएकोले खोलाको वहाव भने रोकिन पाएको थिएन।  

पाण्डेका अनुसार पहिरो पन्छाउनका लागि २ वटा एक्साभेटर, ३ वटा लोडर र ८ वटा टिप्पर परिचालन गरिएको छ। विहीबार बिहान साढे ६ बजेदेखि नै ती उपकरणले निरन्तर पहिरो पन्छाउने काम गरिरहेको उनले बताए।

 ‘पहिरो नै निकै नै ठुलो खसेको हो। भीषण पहिरोका कारण पन्छाउन समय लागेको हो,’ उनले भने। उनका अनुसार सुरक्षा जोखिम उब्जन सक्ने भएकोले बुधबार बेलुकी खसेको पहिरो तत्कालै पन्छाउन भने थालिएको थिएन। किनकी लगातार पहिरो झर्ने जोखिम थियो।  

‘राती थप पहिरो झर्ने जोखिम भएकोले बुधबार रातभर काम गर्न सकेनौ। विहीबार बिहानैबाट उपकरण परिचालन भएको छ। अटेसम्मका उपकरण परिचालन गरेर पहिरो पन्छाउने काम गरेका छौं,’ इन्जिनियर पाण्डेले भने, ‘पहिरो ठूलो भएकोले पन्छाउन पनि समय लागेको हो।’ उनका अनुसार अहिले पहिरोस्थलमा जति उपकरण परिचालन गरिएको छ, त्यसभन्दा बढीले त्यहाँ काम गर्न सक्ने अवस्था छैन।  

‘धेरै उपकरण परिचालन गर्दैमा काम छिटो हुन्छ भन्नु गलत हो। हामीसँग उपकरण अभावमा काम ढिलो भएको होइन, परिचालन गर्न मिल्ने जति उपकरणले काम गरिहेका छन्,’ उनले भने, ‘उपकरण अभाव पनि छैन। चाहिए जति उपकरण उपयोग गर्न सकिन्छ। तर, ती उपकरणले सहजै काम गर्नका लागि ठाउँ पनि चाहिन्छ। ध्ेरै उपकरण राखेर मात्र काम हुने होईन।’ उनका अनुसार करिब एकसय मिटर माथिबाट पुरै डाँडो खसेको हो। यो ठाउँमा राजमार्ग बिस्तारको काम सकिएको थियो। राजमार्गको दुइलेन नै कालोपत्रे पनि भईसकेको थियो।  

प्रकाशित: ६ भाद्र २०८१ १७:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App