१८ कार्तिक २०८१ आइतबार
image/svg+xml
समाज

स्वास्थ्य कार्यालय तनहुँ भन्छः राजमार्ग बिस्तारका क्रममा खनिएका खाडल र थुपारिएका उपकरणले डेंगी संक्रमण बढायो

तनहुँको ब्यास नगरपालिकामा अघिल्लो वर्ष झन्डै ७ हजार जना डेंगीबाट संक्रमित बनेका थिए। सदरमुकाम दमौलीको मुख्य सहरी क्षेत्र पर्ने ब्यास नगरपालिकामा फैलिएको डेंगी संक्रमण रोक्न पोहोर नगरपालिकालाई हम्मेहम्मे नै परेको थियो। एडिस जातको लामखुट्टेको टोकाइबाट डेंगी सर्ने गर्छ।  

अघिल्लो वर्ष ब्यास नगरपालिकामा जस्तै अहिले तनहुँकै आबुँखैरेनी गाउँपालिकामा डेंगीले सताएको छ। आँबुखैरेनीमा मात्र यो वर्ष मंगलबारसम्म ९ सय ८८ जनामा डेंगी संक्रमण पुष्टि भईसकेको छ। अहिले ब्यास नगरपालिकामा भने जम्मा ९८ जनामा डेंगी संक्रमण पुष्टि भएको छ।  

पछिल्लो चारसाता अवधिमा डेंगी संक्रमणबाट गण्डकी प्रदेशमा तीनजनाको ज्यान पनि गइसकेको छ। ज्यान गुमाउने मध्ये दुईजना तनहुँ र एकजना कास्कीका बासिन्दा छन्। पोहोर डेंगीबाट तनहुँमा पाँच र स्याङजामा दुइ गरि ७ जनाले ज्यान गुमाएका थिए। डेंगी संक्रमणबाट सताइएका ब्यास र आँबुखैरेनी पृथ्वी राजमार्गसँग जोडिएका सहरी क्षेत्र हुन्।  

पोखरा भित्रिने मुख्य सडक पृथ्वी राजमार्ग अहिले बिस्तारको क्रममा छ। बिस्तारको क्रममा रहेको राजमार्ग क्षेत्रमा अहिले ठाउँठाउँमा खाडल खनिएका छन्। ती खाडलमा लामो समयसम्म पानी जम्ने गरेको छ। त्यस्तै राजमार्ग बिस्तारका लागि उपयोग हुने ठुला उपकरण पनि सडक किनारमा ठड्याईएका छन्। ती उपकरणको छत र अन्यत्र कहिँ कतै वर्षाको पानी संकलन हुने गरेको छ।

सडकका ठाउँठाउँमा टायर देखि ड्रम थुपारिएको छ। ती ड्रम र टायरमा पनि पानी भरिएको छ। पानीले भरिएका ड्रम पनि खुला नै छन्। त्यसबाहेक कामदारले प्रयोग गर्ने भाडाकुँडा पनि यत्रतत्र छन्। ती भाडाकुँडामा पनि पानी संकलन हुने गरेको छ। त्यस्तै राजमार्गसँगै जोडेर ठाउँठाउँमा ग्यारेज पनि संचालित छन्। ती ग्यारेजमा ठडिएका सवारीमा पनि कहिँ कतै पानी संकलन हुने गरेको छ। त्यस्तै राजमार्ग बिस्तारको क्रममा भत्काइएका घरभित्र पनि पानी संकलन हुने गरेको छ।

स्वास्थ्य कार्यालय तनहुँले पोहोर दमौली र अहिले आँबुखैरेनीमा डेंगी संक्रमण तिब्र रुपमा फैलिनुको कारणबारे सुक्ष्म अध्ययन गर्यो र निष्कर्ष निकाल्यो–राजमार्ग बिस्तारका लागि खनिएका खाडल र थुपारिएका तिनै उपकरण र सामाग्रीमा संकलित पानीका कारण डेंगी फैलाउने लामखुट्टे बढेको र त्यसले राजमार्गले छोएको क्षेत्रमा संक्रमण बढेको हो। 

स्वास्थ्य कार्यालयले भने झै अहिले राजमार्गसँग सहज पहुँच भएका ठाउँमा मात्र डेंगीले सताएको छ। आँबुखैरेनी राजमार्गमै पर्छ। त्यस्तै ब्यास नगरपालिका पनि राजमार्गभित्रै समेटिएको छ। अर्को शुक्लागण्डकी नगरपालिका पनि राजमार्गमै समेटिन्छ। शुक्लागण्डकीमा पनि यो वर्ष १ सय ४९ जनामा संक्रमण पुष्टि भएको छ। अर्काे बन्दीपुर गाउँपालिकामा पनि ७१ जना संक्रमित छन्। बन्दीपुरको डुम्रे बजारमै राजमार्ग छ। 

स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारी भन्छन्, ‘तनहुँमा पोहोर र अहिले डेंगीले सताएको छ। यसो हुनुको कारण राजमार्ग क्षेत्रमा रहेका खाडल र थुपारिएका उपकरणमा पानी जम्न गइ डेंगी फैलाउने लामखुट्टे बढ्दा संक्रमण बढेको हाम्रो निष्कर्ष छ।’ राजमार्गसँग नछोइएका भीमाद नगरपालिका र भानु नगरपालिकामा अहिलेसम्म जम्मा ५–५ जना तथा ऋषिङ, घिरिङ र देवघाट गाउँपालिकामा संक्रमित नै नहुनु पनि त्यसले पुष्टि गरेको अधिकारीको दावि छ।  

‘बन्दीपुरको डुम्रे बजारमा संक्रमित छन, तर, त्यसैको ग्रामिण क्षेत्रमा संक्रमित भेटिएका छैनन्। यसो हुनुको कारण डुम्रेमा राजमार्ग बिस्तारको क्रममा घरहरु भत्काइएका छन्। राजमार्ग बिस्तारका लागि आवश्यक पर्ने उपकरणदेखि ड्रम त्यहाँ थुपारिएको छ। त्यस्तै सडक किनारमा खाडल पनि छन्। त्यसले गर्दा लामखुट्टे फैलाउन सहज भयो,’ उनले भने, ‘लामखुट्टे फैलिएसँगै संक्रमण पनि बढेको हो। डेंगी फैलाउने लामखुट्टेका लागि सफा पानी नै काफी छ। सडक किनारदेखि भत्किएका घर र सडक किनारमा थुपारिएको भाँडामा पानी संकलन हुने गरेको छ।’

राजमार्गसँग जोडिएको सहरी क्षेत्रमा मात्र अहिले संक्रमण तिब्र रहेको उनले बताए। ‘सबैभन्दा बढी संक्रमित भएको आँबुखैरेनी गाउँपालिकाको सहरी क्षेत्रमा मात्र बढी संक्रमित छन्। त्यही गाउँपालिकाको ग्रामिण क्षेत्रमा भने समस्या छैन,’ अधिकारीले भने, ‘राजमार्गका छेउछाउमा यत्रतत्र रहेका कवाडी संकलन केन्द्र, ग्यारेजका कारण पनि डेंगी संक्रमण फैलिएको हो।’ 

संक्रमण कम गर्नका लागि सचेतना जगाउने सम्भव भएसम्मका कार्यक्रम गरेको भएपनि राजमार्गका खाडल पुर्ने र कवाडी हटाउने तथा ग्यारेज बिस्थापन र राजमार्ग बिस्तारका लागि थुपाएिका सामान पन्छाउने हैसियत स्वास्थ्य कार्यालयसँग नरहेको उनले बताए।  

‘राजमार्गले छोएको ठाउँमा मात्र संक्रमित बढी हुनु, तर अन्यत्र नहुनुले पनि राजमार्गकै कारण संक्रमण फैलिएको भन्न सकिने अवस्था छ,’ अधिकारीले भने, ‘हामीले राजमार्गमा परेका खाडल पुनै बेलैमा अनुरोध गरेका हौ। तर, त्यसमा खासै सुनुवाई पनि भएन। त्यसका कारण अहिले संक्रमण रोक्न हम्मेहम्मे परेको छ।’  

प्रदेशको स्वास्थ्य मन्त्रालयका स्वास्थ्य प्रशासक डा.रमेशकुमार केसीका अनुसार गण्डकी प्रदेशमा सबैगरि करिब २८ सय भन्दा बढी जनामा यो वर्ष डेंगी संक्रमण फैलिएको छ। ती मध्ये तनहुँमा १३ सय २३, कास्कीमा ९ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै पर्वतमा १ सय ७०, गोरखामा ९३, स्याङजामा ८९, बागलुङमा ७६, म्याग्दीमा ५९, लमजुङमा ५६, नवलपुरमा ३० र मनाङमा २ जनामा संक्रमण पुष्टि भएके छ।  

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अनुसार सन् २०१९ मा गण्डकी प्रदेशमा २६ सय ५० जनामा डेंगी संक्रमण देखिएको थियो। त्यो संक्रमण २०२० मा १५९, २०२१ मा ९५ र २०२२ मा २३ सय ८० जनामा देखिएको थियो। प्रदेश सरकारका अनुसार २०२३ मा प्रदेशमा सबैगरि ११ हजार ९ सय ८६ जना डेंगीबाट संक्रमित बनेका थिए।  

चिकित्सकका अनुसार एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा डेंगी सर्छ। यो लामखुट्टेले दिनको समयमा मात्र टोक्छ। यो लामखुट्टे फैलिनका लागि २० देखि ३० डिग्री सेन्टिग्रेड तापक्रम उपयुक्त मानिन्छ। फूलबारी, गमला, एसी, फ्रिज, छत, कौसीको पानी जम्ने ठाउँमा यस्तो लामखुट्टेले फुल पार्ने र त्यो फुल एकवर्षसम्म पनि रहन सक्ने भएकोले सधैंभरी जोखिम रहने स्वास्थ्यकर्मीको भनाई छ।  

पोखरामा २०७२÷७३ सालदेखि डेंगी देखिन थालेको थियो। सुरुका तीनवर्ष पोखरामा एकएकजना मात्र डेंगीका बिरामी भेटिएकोमा चौथो वर्ष ५७१ जना बिरामी परेका थिए। त्यसपछिको वर्ष भने त्यो संख्या झन्डै २ हजार पुगेको थियो। डेंगी फैलाउने यो लामखुट्टेले सफा पानी जमेको ठाउँमा मात्र फुल पार्ने गर्छ। खासगरि वर्षाको पानी जम्ने भाडाकुँडा, टिनका बट्टा, पुराना टायर, खालि ड्रम, फूलदानी, गमला, पानी ट्यांकी लगायतका भाडामा फुल पार्छ। त्यसैले वर्षातको पानी जम्ने सिजनमा यो रोग फैलिने गरेको चिकित्सकले बताएका छन्।  

चिकित्सकका अनुसार डेंगी संक्रमण भएपनि उच्च ज्वरो आउने, जिउ, जोर्नी र हाड दुख्ने गर्छ। त्यस्तै आँखाको गेडी वरिपरि दुख्ने, वाकवाकि लाग्ने, वान्ता हुने, खान मन नलाग्ने, छालामा रगत जमेको धब्बा देखिने, नाक, गिजा, तथा शरीरका अन्य अंगबाट रगत बग्ने सम्भावना रहेको चिकित्सकले बताएका छन्।

प्रकाशित: ५ भाद्र २०८१ १८:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App