२ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

सीमावर्ती सहरमा भयावह बन्दै लागुऔषध कारोबार

साउनको पहिलो साता जानकी गाउँपालिका–६ मा लागुऔषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचना पाएपछि प्रहरीले उनीहरूलाई पछ्याउन सुरु गर्‍यो। सुरक्षाकर्मी आएको थाहा पाएपछि कारोबारीहरू स्कुटरमा भाग्न खोजेपछि प्रहरीले गोली चलायो र उनीहरूलाई नियन्त्रणमा लियो । गोली चलाएर नियन्त्रणमा लिएको यो पहिलो र एक मात्र घटना भने होइन।

प्रतिबन्धित लागुऔषध कारोबार भइरहेको छ भन्ने यो गतिलो एउटा उदाहरण हो। भारतसँग सीमा जोडिएको बाँकेमा लागुऔषधको अवस्था चिन्ताजनक अवस्थामा छ। हुन त नेपाल प्रहरीका अनुसार नेपालमा लागुपदार्थ भित्रिने प्रमुख चारवटा नाकामध्ये नेपालगन्ज नाका पनि एक हो। जिल्ला प्रहरी कार्यालय बाँकेले साउनमा सार्वजनिक गरेको यससम्बन्धी तथ्यांकले बाँकेमा लागुऔषधको अवस्था भयावह अवस्था देखाउँछ।

असारमा प्रहरीले १७ जना लागुऔषध ओसारपसारकर्तालाई नियन्त्रणमा लिएको थियो भने २५ ग्राम ९४० मिलिग्राम लागुऔषध बरामद गरेको थियो। तर, यो तथ्यांक एकै महिनामा दोब्बरभन्दा बढीले बढेको छ। अर्थात् साउन महिनामा मात्रै ४४ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले जानकारी दिए। लागुऔषध ओसारपसारविरुद्ध योजनाबद्ध रूपमा प्रहरी परिचालन गरिएको उनको भनाइ छ । साउनमा मात्र ८५ ग्राम एक सय मिलिग्राम ब्राउन सुगर, १६५ ट्याब्लेट नाइट्रोजन, ७३ ट्याब्लेट ७३ वटा बरामद गरिएको उनले जानकारी दिए।

भारतसँग सीमा जोडिएको बाँकेबाट पश्चिमका पहाडी जिल्लामा सहज पहुँच हुँदा पनि नेपालगन्ज, कोहलपुरलगायत क्षेत्र लागुऔषध कारोबारीको प्रमुख थलो बन्न थालेको छ । सीमावर्ती क्षेत्र भारतको रूपैडिहाबाट लुकाइछिपाई लागुऔषध भित्र्याउने र यहाँबाट राजमार्ग हुँदै लागुऔषध पहाडी जिल्लासम्म पुग्ने गरेको छ।

पक्राउ परेका अधिकांशको साथबाट फेनारगन, डाइजिल्याब, नोफिन, लुपिजेसिक, नाइट्राजेपाम, नाइट्रोसन, कोरेक्स, नाइट्राभेट, स्पास्मो पेरिमोन, डाइलेक्स डिसी र गाँजा बरामद भएको बताइएको छ। भारतका सीमावर्ती बजारमा खुलमखुला रूपमा खरिदबिक्री हुने र खुला सीमाका कारण यसको कारोबारमा नियन्त्रण गर्न प्रहरीलाई कठिन भएको छ। सीमा क्षेत्रमा प्रहरीले शंका लागेका व्यक्तिलाई सोधपुछ गरेको आधारमा चेकजाँच गर्छ। भारतबाट नेपाल आउनेहरूलाई चेकजाँच गर्ने अन्य प्रविधि प्रहरीसँग छैन। जसले बाँके लागुऔषध सेवनकर्ता र कारोबारीको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको छ।

लागुऔषधको कुलतमा अधिकांश युवायुवती फसेका छन्। सीमा क्षेत्रमा प्रहरीले विशेष निगरानी गर्ने हो भने केही हदसम्म यसको ओसारपसार कम गर्न सकिने नागरिक समाजका कृष्णप्रसाद श्रेष्ठले जनाए। ‘अहिलेको अवस्था हेर्दा चिन्ताजनक अवस्थामा छ,’ उनले भने, ‘यसरी नै लागुऔषध कारोबार र सेवन बढ्दै जाने हो भने भोलि समाज कहाँ पुग्ला।’ भोलि देशको नेतृत्व गर्ने युवायुवती यसरी कुलतमा फस्दै जाने हो भने आगामी दिनको यात्रा कठिन हुने उनको भनाइ छ।

लागुऔषध दुव्र्यसनले निम्त्याएका अनेक समस्याले चिन्तित बनाएको छ । यहाँ देखापरेका डरलाग्दा समस्यामध्ये मुख्य रूपमा लागुपदार्थको ओसारपसार र त्यसको दुव्र्यसन भएको अर्काे नेपालगन्ज–१८, कारकाँदोका कृष्णप्रसाद बन्जाडाले बताए। संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकार छन्।

तीनै तहका सरकारले प्रयत्न गर्ने हो भने लागुऔषध प्रयोग न्यूनीकरण गर्न सम्भव भएको भन्दै उनले भने, ‘स्थानीय सरकारको टोल र बस्तीसम्म संरचना छ । स्थानीय सरकारका सबै संरचना सक्रिय हुने हो भने लागुऔषध नियन्त्रण कठिन हुँदैन।’ नेपालमा लागुपदार्थ नियन्त्रण गर्न ‘लागुपदार्थ नियन्त्रण ऐन, २०३३’ कार्यान्वयनमा छ। तर, यसले पूर्ण सफलता प्राप्त गर्न सकिरहेको छैन। यो ऐनलाई बढी प्रभावकारी बनाउन ‘लागुऔषध नियन्त्रण राष्ट्रिय नीति, २०६३’ लागु गरिए पनि अपेक्षित प्रगति भएको देखिँदैन। 

२०३३ सालभन्दा अगाडि नेपालमा गाँजाजन्य पदार्थ खुल्लमखुला बिक्रीवितरण हुँदै आएको थियो। जब लागुऔषध नियन्त्रण ऐन, २०३३ कार्यान्वयनमा आयो त्यसपछि लागुऔषधलाई कानुनतः प्रतिबन्ध लगाइएको थियो। नेपाल लागुऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ का अनुसार लागुऔषध दुव्र्यसनका कारण साथीसँगीको दबाब, मनोरञ्जनका लागि, उत्सुकता, खुसी हुन, मानसिक तनाव, पारिवारिक समस्या, डिप्रेसन र पढाइमा समस्या हुन्। एकान्तमा बस्न रुचाउने, असामान्य व्यवहार देखाउने, दुब्लाउँदै जाने, पढ्न मन नगर्ने, अपराध कर्ममा लाग्ने, धन सम्पत्तिको बरबादीतिर लाग्ने, समाजमा विभिन्न प्रकारका अपराध घट्दै जाने, सामाजिक मूल्यमान्यता भत्किँदै जाने लक्षण लागुऔषध प्रयोगकर्तामा देखिने गरेको प्रहरीको भनाइ छ।

प्रकाशित: ५ भाद्र २०८१ ०७:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App