७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

चालू आवको पहिलो महिनामै ताप्लेजुङबाट तीनवटा गैर आवासीय नेपाली नागरिकता जारी

चालु आर्थिक वर्षको पहिलो महिनामै ताप्लेजुङबाट तीनवटा गैर आवासीय नागरिकता जारी भएको छ।

गत एक आर्थिक वर्षमा जम्मा ६ वटा गैर आवासीय नेपाली नागरिकता जारी गरेको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट चालू आवको पहिलो महिनामै तीनवटा यस्तो प्रकृतिका नेपाली नागरिकता जारी भएका छन्।

जिल्ला प्रशासन कार्यालयको नागरिकता फाँट प्रमुख कमल गुरागाँईका अनुसार चालू आव २०८१/८२ को सुरु महिना साउनको ३१ गते सम्ममा दुई पुरुष र एक महिला गरी तीनजनाले गैर आवासीय नेपाली नागरिकता लिएका छन्।

गैर आवासीय नेपाली नागरिकता लिनेमा दुईजना अमेरिका र एकजना हङकङ बस्ने रहेका छन्। प्रशासन कार्यालयका अनुसार हङकङ बस्दै आएकी मेरिङदेन गाउँपालिकाकी रेनुका लिम्बू तथा अमेरिका बस्ने मिक्वाखोला गाउँपालिका वडा नं. २ का तोयानाथ ओझा र फक्ताङलुङ गाउँपालिका वडा नं. ७ ओलाङचुङगोलामा तेञ्जिङ उक्यापले यो महिनामा गैर आवासीय नागरिकता लिएका छन्।

उक्याप ओलाङचुङगोला–टिपताला सडक खण्डको ट्रयाक ओपन गर्ने कार्यका लागि एकलैले आधा करोड बढी रकम लगानी गरेर चर्चामा रहेका व्यक्ति हुन्। आफ्नो जन्मभूमीको विकास र समृद्धिका लागि योगदान दिन सक्ने व्यक्तिको रुपमा उक्यापको नाम लिने गरिन्छ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईका अनुसार आव २०८०/८१ को एकबर्षे अवधिमा यहाँबाट कूल ६ वटा गैर आवासीय नेपाली नागरिकता जारी भएका थिए। ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयबाट २०८० कात्तिक महिनामा पहिलो गैर आवासीय नेपाली नागरिकता जारी भएको थियो।

आठराई त्रिवेणी गाउँपालिका वडा नं १ निघुरादिनमा जन्मिएर नर्वेमा बस्दै आएका विशालकुमार सिटौलाले यहाँबाट पहिलो गैर आवासीय नेपाली नागरिकता लिएका थिए। त्यसपछि २०८० पुस,माघ र चैतमा एक–एक तथा २०८१ साल वैशाख र असारमा एक–एक थान गरी आव २०८०।८१ मा जम्मा ६ जनालाई गैरआवासीय नेपाली नागरिकता प्रदान गरिएको थियो।

गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्न निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै साबिकमा नेपालको नागरिक रहेको पहिलो प्रमाण चाहिन्छ। यस्तै सम्बन्धित व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण,विदेशी मुलुकको नागरिकता भएको प्रमाण,क्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठनका सदस्य राष्ट्रबाहेकको देशमा बसोबास गरेको प्रमाण र नेपालको संविधान र कानुनको परिपालना गर्ने प्रतिबद्धतापत्र पेश गर्नुपर्ने हुन्छ।

विदेशको नागरिकता लिएका तर कुनै समय नेपाली नागरिक रहेका व्यक्तिहरुका नातिनातिनासम्मले गैरआवासीय नेपाली नागरिकता पाउँछन्। नेपालको नागरिकता फिर्ता नगरी विदेशी नागरिकता लिएका व्यक्तिले गैरआवासीय नेपाली नागरिकता लिन पहिले लिएको नेपाली नागरिकता फिर्ता गर्नुपर्ने नियम रहेको छ।

प्रकाशित: ३१ श्रावण २०८१ १३:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App