४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

कागबेनी बाढीको वर्षदिनः उठ्दैछ कागबेनी

एकवर्ष अघि बाढीको चपेटामा परेको मुस्ताङको कागबेनी। फाइल तस्बिरः नागरिक

एकवर्ष अघि बस्ती नै तहसनहस बनाउनेगरि मुस्ताङको वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी बजारमा बाढी पस्यो। स्थानीय झोङ्खोला कागबेनीको बस्तीमा पस्दा घर, होटल, मन्दिर, आश्रम, विद्यालय तथा प्रहरी चौकी सहित धेरै संरचना बगे। धेरैका घरभित्र बाढीमा बग्दै आएको लेदो पस्यो।  

कागबेनीमा भौतिक क्षति भएपछि ढलेका संरचना उठाउन स्थानीय जुटे। लेदो पसेर भरिएका घरका कोठाचोटा सफा गर्न स्थानीयले हातमा हात मिलाए। आर्थिक सहयोग देखि श्रमदान गर्न जिल्लाबासी ओइरिए। सरकारी कार्यालयदेखि निजी क्षेत्रका कर्मचारी, स्थानीयबासि, गाउँले, आसपासका गाउँका बासिन्दा कागबेनीलाई पहिलेकै स्वरुपमा फर्काउने पहलमा जुटे। सबैको साथ र हातमा हात जुट्दा कागबेनी बिस्तारै उठ्दैछ, कागबेनीले स्वरुप फेर्दैछ।

कागबेनीका स्थानीय फेन्चोक गुरुङ भन्छन, ‘पूर्ण रुपमा क्षति भोग्नेलाई त केही समस्या नै छ। तर, समान्य क्षति भएका संरचना भने पहिलेकै अवस्थामा फर्किएका छन्। हामीले पहिले भन्दा सुरक्षाको थप अनुभूति पनि गरेका छौ। आगामि दिनमा बस्तीमा बाढी पस्ने डर हामीलाई त्यत्तिधेरै छैन।’ 

फेन्चोकको घरको ढोकासम्म बाढी पसेको थियो। गाइ र च्यांग्रा गोठ बाढीमा बगेका थिए। ती संरचना पहिलेकै अवस्थामा फर्काउन स्थानीय प्रशासनदेखि गाउँपालिका र स्थानीयबासिले ठुलो सहयोग गरेको उनले बताए। ‘अहिले पनि खोलालाई नियन्त्रणमा लिनका लागि काम भईरहेको छ। पोहोर भन्दा निकै नै ठूलो बाढी आए त सबैतिर सखाप होला, नत्र सानोतिनो बाढीको डर छैन,’ उनले भने।  

मुक्तिनाथ क्षेत्रबाट आएको झोङखोलाले कागबेनीमा पोहोर वितण्डा मच्चाएको थियो। झोङखोलाको मुहान कागबेनीबाट करिब आठकिलोमिटर माथि झोङमा पर्छ। झोङ गाउँपालिकाको २ नम्बर वडामा पर्छ। झोङमा बस्ती भएपनि बस्ती खोला भन्दा निकै नै माथि छ। खोला नजिकै बस्ती नहुँदा भेल बढेको स्थानीयले पत्तै पाएका थिएनन्। एकाएक बस्तीमा भेल पसेपछि बल्ल सबैको होसहवास उडेको थियो। स्थानीयका अनुसार कागबेनीमा खोलाबाट १० मिटरभित्रै घरहरु थिए। तिनै घरलाई क्षति गर्नेगरि पोहोर बाढी आएको थियो।  तर, अहिले खोलाको वहाव क्षेत्र पनि फराकिलो बनाइएको छ भने घर पनि खोला किनार भन्दा केही पर बनाउनु पर्नेगरि मापदण्ड तोकिएको छ।

गाउँपालिकाका प्रवक्ता प्रमेश गुरुङ भन्छन, ‘सबैको सहयोगमा बाढी पीडितका संरचना उठाउन सकियो । त्यस्तै खोलाको वहाव फेर्न पनि सफल भयौं। खोलाको वहाव बस्तीमा पस्न नपाओस भनेर टेवा पर्खाल पनि लगाइएको छ। ‘छोटो समयमै कागबेनी उठिसकेको छ। एकवर्ष अवधिमा धेरै नै काम भयो। बाढीको लेदोले भरिएका घर पूर्ण रुपमा सफा पारियो भने बिस्थापितलाई पनि व्यवस्थापन गर्यौं। उनले भने, ‘पूर्ण रुपमा क्षति भएका केही बाहेक अरु घर पहिलेकै अवस्थामा फर्किएका छन्। पूर्ण रुपमा क्षति भएका घर भने अहिले पनि बन्दैछन्।’  

प्रवक्ता गुरुङका अनुसार सबैभन्दा महत्वपूर्ण काम त खोलाबाट बस्तीलाई पूर्ण रुपमा सुरक्षित पारिएको छ। ‘बाढी अघि खोला र घरको दूरी करिब १० मिटर मात्र थियो। तर, अहिले त्यो दूरी २५ मिटर बनाएका छौ,’ उनले भने, ‘भविश्यमा यस्तो भोग्नुनपरोस भनेर गाउँपालिका पूर्ण रुपमा सचेत छ।’ उनका अनुसार अहिले खोला गहि¥याएर पानीको वहाव एकैठाउँबाट बग्ने बनाइएको छ। बाढी आउनुअघि खोलाको वहाव एकनासको थिएन।  

‘चारैतिर छरिएर बगेको खोलाको कारणले बाढीले क्षति गरेका हो। तर, अहिले खोला नियमित रुपमा आफ्नो ठाउँबाट बगेको छ,’ उनले भने। उनका अनुसार खोलाले करिब २ सय मिटर दूरीमा क्षति गरेको थियो। अहिले क्षति नहोस भनेर करिब १ सय ५० मिटर दूरीमा बलियो र कंक्रिट पर्खाल बनाइएको छ। ‘भविश्यमा बस्तीमा बाढी नपसोस भनेर बलियो पर्खाल बनाएका छौ। सानोतिनो वहाव बस्तीमा पस्न सक्दैन,’ उनले भने।  प्रवक्ता गुरुङका अनुसार बाढीले क्षति गरेको कागबेनी सोचेभन्दा छिटो उठेको हो। सबैको साथ र सहयोगले कागबेनी उठाउन सहयोग पुगेको उनले बताए।

‘सोचे भन्दा धेरै नै छिटो कागबेनी उठ्यो। अन्यत्र यस्ता बाढी आउँदा त्यहाँका संरचना सुतेको सुत्यै गरेको हामीले देखेका छौ। तर, कागबेनीले त्यस्तो अवस्था बेहोर्नुपरेन। यसले यहाँका बासिन्दालाई खुसी तुल्याएको छ,’ उनले भने, ‘सतप्रतिशत सोचेजस्तो त सम्भव छैन। तर, कागबेनीले छोटो समयमा मुहार फेरेको पक्का हो। सबैको साथ र सहयोगले यो सम्भव भएको हो।’

हिमालपारीको जिल्ला मुस्ताङ, आफैमा माटोको सहर हो। लेतेबाटै शुरु हुन्छ अनुपम प्रकृतिको भूवनोटको यो जिल्ला। जोमसोम हुदैं कागबेनीबाट पुल तरेपछि मात्र माथिल्लो क्षेत्र लोमान्थाङको यात्रा तय हुन्छ। कागवेनीबाट उक्लिएपछि पवित्र धार्मिकस्थल मुक्तिनाथ पुगिन्छ। प्रकृतिको अनुपम ठाउँ मुस्ताङलाई अघिल्लो वर्ष प्राकृतिक प्रकोपको चपेटामा परेको थियो। प्राकृतिक प्रकोपको चपेटामा परेको कागबेनीलाई उकास्न निकै नै मेहनत गरेको मुस्ताङका प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेले बताए।  

‘कागबेनी क्षतविक्षत अवस्थामा थियो। तर, सबैको साथ र सहयोगले काबगेनी उठेको छ,’ कागबेनीले क्षति भोगेको एकमहिना पछि मुस्ताङको सुरक्षा कमाण्ड सम्हालेका डिएसपी पाण्डेले भने, ‘सुरक्षा निकायदेखि स्थानीय प्रशासन, गाउँपालिका, स्थानीयबासि सबैको पहलले कागबेनी उकासिएको हो।’ उनका अनुसार अहिले पनि कागबेनीमा पूर्ण रुपमा क्षति भएका संरचना निर्माणाधिन नै छन्।  

‘अन्यत्रको तुलनामा कागबेनीले निकै नै चाँडो टाउको उठाएको हो । सबैको सहयोगले सम्भव भएको हो। तर, गुरुयोजना बनाएर काम गर्न पाएको भए कागबेनी अझ बढी सुरक्षित हुन्थ्यो,’ उनले भने, ‘केही संरचना अझै पनि व्यवस्थित गर्न बाँकी नै छ। स्थानीयका संरचना सहित सार्वजनिक पूर्वाधार पनि संरक्षण गर्ने हो भने कागबेनी पूर्ण रुपमा व्यवस्थित हुनेछ। तर, विशेष गुरुयोजना बनाएर पूर्वाधार बनाउमा भने ध्यान दिनुपर्छ।’  

प्रकाशित: ३० श्रावण २०८१ १८:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App