२ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

सिमलताल दुर्घटनाका महिना दिनः न बस भेटिए, न शव

नारायणगढ–मुग्लिन सडक खण्डमा पर्ने सिमलतालको पहिरोमा परी त्रिशूलीमा दुईवटा बस बगाएको एक महिना बितिसक्यो। असार २८ गते बिहान ३ बजेतिर त्रिशूलीमा पहिरोसँगै हेलिएका बस र अधिकांश यात्रु भने झैँ भेटिएका छैनन्। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतको गोताखोर टोलीले संयुक्तरुपमा खोज्दा पनि दुई बस नभेटिएका हुन्।

भारतीय टोली एक सातासम्म खोजेर फिर्ता भइसकेको छ। नेपाली जनशक्ति र प्रविधिले नभएपछि भारत सरकारलाई सहयोग मागेको थियो। नेपालले सहयोग मागेपछि भारतको १२ जनाको टोलीले साउन ६ गतेदेखि साउन १३ गतेसम्म खोजी गरेको थियो। भारतीय टोली फिर्ता भएपनि नेपाली टोलीले खोजी कार्यलाई भने अझै जारी राखेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ।

सिमलतालको पहिरोमा परेर वीरगन्जबाट काठमाडौं आउँदै गरेका बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–०११ ख २४९५ नम्बरको गणपति बस त्रिशूलीमा बगेका थिए। दुबै बसमा गरी ६५ जना यात्रु सवार थिए। तीमध्ये ३ जनाले ज्यान जोगाएका थिए भने अन्य ६२ जना यात्रु बससँगै नदीमा बेपत्ता भएका थिए।

दुर्घटना लगतै बस र बसमा सवार यात्रुको खोजी कार्य सुरु गरिएकोमा नारायणी किनारामा २४ जनाको मात्रै शव फेला परेको थियो। ती मध्ये २० जना यात्रुको मात्र शव पहिचान भएको छ। नारायणीमा फेला परेका चार वटा शवको अझै पहिचान हुन सकेको छैन। सनाखत नभएका शवमा चार जना पुरुष रहेका छन्। ४२ यात्रु अझै बेपत्ता छन्।

पानीको चाप अत्यधिक र नदी धमिलो भएकाले गहिराइसम्म बस र यात्रु खोज्न नसकिएको प्रशासनले जानकारी दिएको छ। उद्धार टोलीले त्रिशूली, नारायणीदेखि भारतसम्म पुगेर खोजी गरेको थियो। खोजीका क्रममा भारतमा समेत यात्रुका शव फेला परेका थिए। विशेष गरेर सिमलताल देखि केराबारीसम्मको क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर खोजी कार्य अझै जारी राखेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव बताउँछन्। 

छानबिन समितिको पाँच बुँदे प्रतिवेदन

दुर्घटना भएपछि गृह मन्त्रालयले छानबिन समिति समेत गठन गरेको थियो। गृह मन्त्रालयका सहसचिव छवि रिजाल संयोजक रहेको समितिले त्रिशूलीमा बस खसेको घटनाको प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा दुर्घटनाको कारण र यस्ता दुर्घटना कम गन सुझाव दिइएको छ। उसले विशेष गरी पाँच वटा कारणलाई दुर्घटनाको मुख्य मानेको छ। मुग्लिन नारायणगढ सडकसँगै माथिल्लो क्षेत्रमा खनिएको ग्रामीण सडकलाई मानिएको छ।

भिरालो पहाडी क्षेत्रमा उचित इन्जिनियरिङ तथा डिजाइन बिना सिमलताल–बाङ्गेसाल–डुम्रेगाउँ ग्रामीण सडक खनिएको र त्यसकै गेग्रान (डेब्रिज) बाढीले बगाएर ल्याएका कारण दुर्घटना भएको समितिले प्रतिवेदनमा औँल्याएको छ।

भरतपुर महानगरपालिकाले ग्रामीण सडक वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) बिना खनिएको समितिले बताएको छ। यसैमा कमजोर भूगोल अत्याधिक स्लोप हुँदा पनि लेदोसहितको बाढीले बस त्रिशूलीमा खसालेको प्रतिवेदनमा उल्लेख छ। अर्को कारणमा बिना पर्खाल सडक निर्माण, कल्भर्ट सफा नगर्दा सडक माथिबाट बसेको लेदो र एकीकृत सूचना प्रणाली नहुँदा दुर्घटना भएको समितिले प्रतिवेदनमा औँल्याएको छ। 

बेपत्तालाई मृतक सरह मानेर राहत 

त्रिशूलीमा बेपत्ता भएका यात्रुलाई मृतक सरह मानेर राहत दिने तयारी भएको सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसाल बताउँछन्। ‘अब शव फेला परेर पनि सनाखत गर्न सक्ने अवस्थामा हामी देख्दैनौँ’, उनले भने ‘दुर्घटनामा बेपत्ता भएको १० दिनसम्म पनि भेटिएन भने मृतक सरह मान्ने भनेको छ। त्यही अनुसार अब राहत दिन लाग्छौँ।’ राहतको काम सम्बन्धित जिल्लाबाट हुने उनले बताए। ‘हामीले यहाँबाट सिफारिस गर्दिन्छौँ,’ उनले भने ‘हाम्रो सिफारिसका आधारमा सम्बन्धित जिल्लाबाट उहाँहरूका आफन्तले राहत पाउनुहुन्छ।’

दुई वटा बसमा सबैभन्दा बढी रौतहट जिल्लाका नागरिक रहेका छन्। यस जिल्लाका २७ जना यात्रु बेपत्ता भएका थिए। त्यस्तै भारतका १०, पर्सा जिल्लाका १०, बाराका ६, सर्लाहीका ४, चितवनका २ भक्तपुरका १, सिन्धुपाल्चोकका १ जना व्यक्ति बेपत्ता भएको प्रशासनको तथ्याङ्कमा उल्लेख छ।

बेपत्ता परिवारलाई बिमा बाहेक प्रतिव्यक्ति दुई लाख रुपैयाँ उपलब्ध गराइने छ । तर, एउटै परिवारका एकभन्दा बढी व्यक्तिको मृत्यु भएमा दुई लाखबाट प्रतिव्यक्ति एक÷एक लाख थप उपलब्ध गराइने छ।

सरकारले दिने राहत रकममा केही समस्या नभए पनि यातायात व्यवसायीबाट हुने साढे पाँच लाखको बिमा रकम दाबी गर्न बेपत्ता यात्रुका आफन्तलाई समस्या हुने देखिएको छ। मृत्यु दर्ता नभएकाहरूको हकमा बिमा दाबी गर्न समस्या पर्न सक्छ। 

यात्रुको नाममा स्मृति स्तम्भ

मृतक तथा बेपत्ता यात्रुको नाममा स्मृति स्तम्भ बनाइएको छ। एञ्जल बसका चालक तथा यात्रुहरूको नामसहित दुर्घटनास्थल सिमलतालमा स्मृति स्तम्भ बनाइएको हो। जसमा वीरगञ्जबाट काठमाडौं जान आएका एञ्जल डिलक्स बसमा यात्रा गरेका २६ जनाको नाम उल्लेख गरिएको छ।

गणपति यातायातको बस एकै पटक त्रिशूलीमा खसेको भएपनि स्तम्भमा भने एञ्जल डिलक्समा रहेका यात्रुहरूको मात्रै नाम उल्लेख गरिएको छ। गणपति बसमा ३८ जना यात्रु सवार थिए। यस बसका तीन जनाले ज्यान जोगाउन सफल भएका थिए। 

प्रकाशित: २९ श्रावण २०८१ १८:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App