२ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

त्रिशूलीमा अझै एक साता बस खोजिने

नारायणघाट खण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर हराइरहेका दुईवटा बस र यात्रु खोज्न सरकारले अझै एक साता प्रयास गर्ने भएको छ। असार २७ गते राति सिमलतालमा गएको पहिरोले बगाएर दुईवटा बस त्रिशूलीमा खसेका थिए।

सरकारले नदीमा खसेका बस र यात्रु खोज्न असार २८ गतेदेखि निरन्तर प्रयास गरे पनि अहिलेसम्म सफलता मिलेको छैन। यसबीचमा सरकारले बस र यात्रु खोज्न भारतबाट समेत सहयोग माग्यो । भारतीय टोलीले त्रिशूली नदीमा ६ दिनसम्म खोज्दा पनि सफलता मिलेन।

भारतीय टोली केही दिनअघि फर्किसकेको छ। उक्त टोली फर्केपछि पनि नेपाली सुरक्षाकर्मीले बस खोज्ने काम जारी राखेका छन्। गृह मन्त्रालयका सहसचिव तथा विपद् व्यवस्थापन महाशाखाका प्रमुख भीष्म भुसालले अझै कम्तमिा एक साता बस खोज्ने कार्यमा जुटिरहन सुरक्षाकर्मीलाई निर्देशन दिइसकेको बताए।

‘कम्तीमा अझै एक साता खोजी गर्छौं। त्यसबेलासम्म पनि केही प्रगति भएन भने खोजी जारी राख्ने कि बन्द गर्ने भन्ने विषयमा निर्णय गर्छौं,’ उनले भने। उनका अनुसार अब खोजी कार्य सरकार आफैंले गर्ने भएको छ। ‘अब हाम्रै उद्धारकर्मीबाट खोजी कार्यलाई निरन्तरता दिइनेछ,’ भुसालले भने।

बस खोज्ने क्रममा भारतीय उद्धार टोलीले ल्याएको १९ किलोग्रामको चुम्बकसमेत नदीमा हराएको थियो। खोजी गर्दै जाँदा केही दिनपछि उक्त चुम्बक भेटिए पनि बसहरू भेटिएनन्।

सडक डिभिजन चितवनका एक उच्च कर्मचारीले नदीमा खसेर हराइरहेका दुईवटा यात्रु बस भेटिने सम्भावना करिबकरिब समाप्त भएको बताए। त्रिशूलीको बहावले नदीभित्रै बस टुक्राटुक्रा भइसकेको उनको अनुमान छ। ‘त्रिशूलीमा पानीको बहाव यति धेरै छ कि अब बस भेटिने सम्भावना करिबकरिब छैन। बस टुक्राटुक्रा भइसकेको हुनुपर्छ,’ ती कर्मचारीले भने।

बससहित नदीमा हराइरहेका यात्रुका परिवारले पनि अब आफन्त भेटिने माया मारिसकेका छन्। उनीहरूले नदीमा हराएका आफन्त भेटिने आशा मारेर १३ दिनको काजकिरियासमेत गरिसकेका छन्।

असार २७ गते राति वीरगन्जबाट काठमाडौं आउँदै गरेको ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्सको बस नारायणघाट–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोमा परी नदीमा खसेका हुन्।

ती दुई बसमा ६५ जना यात्रु भएको प्रहरीको भनाइ छ। तीमध्ये तीनजना नदीमा पौडिएर बाँच्न सफल भए। नदीमा खसेका २४ जनाको शव फेला परेको छ। अहिलेसम्म त्रिशूलीमा खसेर झन्डै एक दर्जन गाडी बेपत्ता भएका छन्।

प्रकाशित: १८ श्रावण २०८१ ०६:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App