२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

सिमलताल बस दुर्घटना : ४० किलो चुम्बक प्रयोग गरी बेपत्ताको खोजी हुँदै

चितवनको सिमलतालमा गएको पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुईवटा बस तथा यात्रुको आज सोह्रौं दिन पनि खोजी कार्य जारी छ।

नेपाली प्रविधिले मात्र सफल नभएपछि नेपाल र भारतका दक्ष गोताखोर र प्राविधिकसहितको संयुक्त टोलीले आइतबारदेखि निरन्तर खोजी गरिरहेको छ, तर प्रगति नदेखिएपछि भारतको नेसनल डिजास्टर रेस्क्यु फोर्स (एनडिआरएफ), नेपालको सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी कार्यका लागि रणनीतिक परिवर्तन गरेका छन्। बस खोज्नका लागि भारतीय टोलीले ४० किलोको चुम्बक मगाएको छ।

उक्त म्याग्नेटिक डिभाइसको प्रयोग गरी आज बिहान साढे नौ बजेदेखि बेपत्ता बसको खोजी कार्य भइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

भारतको राष्ट्रिय आपदा मोचन बलबाट आएका १२ जनाको प्राविधिक टोली पनि खोजी कार्यमा संलग्न छ। घटनामा परी हराइरहेका यात्रुमध्ये अहिलेसम्म २४ जनाको शव फेला परेकोमा १९ जनाको शव सनाखत भएर परिवारको जिम्मा लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ।\

सनाखत भएका शवमध्ये १४ जना नेपाली नागरिकका छन्। शव भेटिएकामध्ये २१ जना पुरुष र चार जना महिला छन्। सनाखत भने १६ पुरुष र तीनजना महिलाको मात्र भएको छ।

गत असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका थिए।

बसमा सवार ६५ जनामध्ये तीनजना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए। अझै दुई बससँगै ३७ यात्रुको अवस्था पत्ता लाग्न सकेको छैन।

प्रकाशित: १२ श्रावण २०८१ ०९:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App