७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

'निर्मला हत्याकाण्ड' काे ६ वर्ष: अनुसन्धान जारी छ!

गत असार ३० गते तत्कालीन गृहमन्त्री रवि लामिछानेले पत्रकार सम्मेलन गरी निर्मला पन्त हत्यासम्बन्धी घटनाको अनुसन्धानमा दोषी नजिक पुगेको दाबी गरे। तर हत्या भएको ६ वर्ष बितिसक्दा पनि प्रहरी उही पुरानै जबाफ दिन्छ- ‘अनुसन्धान भइरहेको छ।’

महेन्द्रनगर उल्टाखामकी १३ वर्षीया निर्मला पन्त २०७५ साउन १० गते साथीको घर गएका बेला बेपत्ता भएकी थिइन्। उनको शव साउन ११ गते बलात्कारपछि हत्या भएको अवस्थामा उखुबारीमा फेला परेको थियो।

अनुसन्धानका लागि थुप्रै छानबिन समिति बने पनि ६ वर्ष बित्दा पनि घटना रहस्यमै छ। हत्याको विरोधमा सडकदेखि सदनसम्म आवाज उठ्यो। यो घटनाले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चर्चा बटुल्यो। तर अनुसन्धान ‘शून्य’मै छ। प्रहरी पुरानै तथ्यांक र प्रमाणको आधार लिएर बसेको छ।

कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक उमेश जोशीले निर्मलाको हत्या अनुसन्धानमै रहेको बताए। उनले भने, ‘अनुसन्धानमै छौं, कुनै निष्कर्षमा पुग्न सकिएको छैन।’ पुराना प्रमाण र आधारलाई खोलेर अनुसन्धान भइरहेको उनले बताए।

घटनाको सुरुदेखि केन्द्रबाट यहाँ आएर अनुसन्धानमा जुटको सिआइबीको टोली पनि नयाँ तथ्य फेला नपरेपछि गत वर्ष फर्केर गएको छ। अहिले जिल्ला प्रहरी कार्यालयको टोलीले मात्रै अनुसन्धान गरिरहेको छ। ‘सिआइबी टोली २०८० मै काठमाडौं फर्किसकेको छ,’ जोशीले भने।

६ वर्षसम्म पनि हत्यारा पत्ता लगाउन नसक्नु सरकारको गम्भीर कमजोरी भएको कञ्चनपुर कांग्रेसका युवा नेता लेखराज जोशी बताउँछन्। उनले भने, ‘रवि लामिछानेले गृहमन्त्री हुँदा हत्यारा पत्ता लगाउनुको साटो सरकार छाड्ने बेला झुटो गफ दिए।’ अहिले कञ्चनपुरकै गृहमन्त्री छन्। उनले निर्मलालाई न्याय दिने विश्वास स्थानीयले लिएको लेखराजले बताए।

तत्कालीन गृहमन्त्री लामिछानेले भनेजस्तो निर्मला हत्याको अनुसन्धान अन्तिम चरणमा पुगेको सत्य नभएको प्रहरीका एक उच्च अधिकारीले बताए। ती अधिकारीले भने, ‘अनुसन्धान निष्कर्षनजिक पुगेको भए शंकास्पद दोषीलाई पक्राउ गर्नुपथ्र्यो नि, अनुसन्धान निष्कर्षमा पुगेको छैन। अनुसन्धान भने निरन्तर चलिरहेको छ।’ निर्मलाका आमाबुबाले छोरीले न्याय पाउने आशा मारिसकेका छन्।

१२४ जनाको डिएनए परीक्षण

हत्यारा पत्ता लगाउन प्रहरीले अनेक कोणबाट अनुसन्धान भइरहेको बताएको छ। कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी जोशीले अनुसन्धानका क्रममा अहिलेसम्म १२४ जनाको डिएनए परीक्षण गरिएको र साढे ६ सयभन्दा बढीको लिखित बयान लिइएको जानकारी दिए।

घटनाको छानबिनका लागि गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा उच्चस्तरीय छानविन समिति बनायो। त्यो समितिले निष्कर्षमा प्रहरीमाथि नै छानविन हुनुपर्ने सुझाव दिएको थियो। त्यसपछि प्रहरीले तत्कालीन एआइजी धीरु बस्न्यातको संयोजकत्वमा छानबिन टोली बनायो। यस्तै छानबिनका अन्य टोली पनि बने तर नतिजा शून्य छ।

त्यो साउन १० गते

२०७५ साउन १० गते बिहान निर्मला साथी रोशनी बमको घरमा गएकी थिइन् । साँझसम्म घर नफर्केपछि आमा दुर्गादेवी रोशनीको घरमा गएर सोधिन्। त्यहाँ निर्मला नभेटिएपछि उनले प्रहरी गुहारिन्। प्रहरीले आलटाल गरेर रातिको समयमा खोजीमा जान मानेन। दोस्रो दिन (११ गते) बिहान घरनजिकै उखुबारीमा घोप्टो परेको अवस्थामा निर्मलाको शव फेला पर्‍यो। बलात्कारपछि उनको हत्या गरिएको थियो।

शव फेला परेसँगै दोषीलाई पत्ता लगाउन माग गर्दै आफन्तले प्रदर्शन गरे। राजनीतिक दलको उपस्थितिमा प्रहरीले दोषी पत्ता लगाउने लिखित सहमति जनाएपछि १४ गते आफन्तले शव बुझेर दाहसंस्कार गरे। साउन तेस्रो साता हत्यारा पत्ता लगाउन माग राखेर महेन्द्रनगरमा आन्दोलन चर्कियो।

साउन १३ गते सिआइबीका डिएसपी अंगुर जिसी निर्मलाको बलात्कारपछि हत्या भएको भन्दै अनुसन्धान गर्न कञ्चनपुर आए। जिसीसहितको टोलीको अनुसन्धानका आधारमा मानसिक सन्तुलन गुमाएका भनिएका भीमदत्त नगरपालिका–१९, धर्मभक्त टोलका दिलीपसिंह बिष्टलाई बलात्कारपछि हत्या गरेको भनेर भदौ ४ गते सार्वजनिक गर्‍यो।

निर्दोषलाई दोषी करार गरेको भनेर स्थानीयले आन्दोलन चर्काउँदा भदौ ७ र ८ गते महेन्द्रनगरमा गोली चल्यो। प्रहरीको गोलीले शनी खुनाको ज्यान गयो भने कैयौं घाइते भए। डिएनए रिपोर्ट मेल नखाएको भन्दै प्रहरीले दिलीप सिंहलाई छाड्यो।

भदौ ७ गते नेपाल सरकारले तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी डिल्ली विष्ट, डिएसपी ज्ञानबहादुर सेठी र प्रमुख जिल्ला अधिकारी कुमार खड्कालाई फिर्ता बोलाएर नयाँ टिम खटायो। सरकारले अनुसन्धानका लागि विभिन्न समिति बनायो तर घटना ६ वर्ष पुग्दा पनि रहस्यमै छ।

प्रकाशित: १० श्रावण २०८१ ०६:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App