१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

मन्त्रीहरुलाई भेटेर महिला उद्यमीहरुले भने : विद्यार्थीलाई शिपसहितको शिक्षा दिनुहोस्

महिला उद्यमीहरुले विद्यार्थीहरुलाई शिपसहितको शिक्षा उपलब्ध गराउन माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्। सानै उमेरदेखि विभिन्न सिपको जानकारी दिन सके विदेश पलायन हुने नागरिकको संख्यामा कमी ल्याउन सकिने उनीहरुको भनाइ छ।  

नवनियुक्त शिक्षामन्त्री विद्या भट्टराईलाई मंगलबार उनकै कार्यकक्ष सिंहदरबारमा भेटर महिला उद्यमी महासंघ नेपालका पदाधिकारीले विद्यालयतहबाटै शिपसहितको शिक्षाको व्यवस्था गर्न माग गरेका हुन्। 

शिक्षामन्त्री विद्या भट्टराईसँग महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवाली । तस्बिर : नागरिक

अध्यक्ष शोभा ज्ञवालीको नेतृत्वमा गएको महासंघ टोलीले कक्षा १२  उत्तिर्ण हुँदा हरेक विद्यार्थीमा विभिन्न शिपबारेको जानकारी पनि हुनु पर्नेमा जोड दिएको थियो। करिब तीन दशकदेखि महिला सशक्तिकरणका लागि क्रियाशिल महिला उद्यमी महासंघले हातमा शिप भए नेपालमै केही गरेर बस्ने युवाहरुको संख्या उल्लेख्य हुनेतर्फ मन्त्री भट्टराईको ध्यानाकर्षण गराएको थियो।  

जवाफमा मन्त्री भट्टराईले यसबारे सरकार गम्भीर रहेको बताउँदै सरोकारवाला सवैसँग परामर्श गरेर अघि बढ्ने उल्लेख गरिन्। विद्यालयदेखि नै शिपसहितको शिक्षा आवश्यक रहेकोमा सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै उनले यसलाई मन्त्रालयले उच्च प्राथमिकतामा राखेको जानकारी दिइन्।  

सबै महिला आर्थिकरूपमा सक्षम हुनुपर्छ : महिलामन्त्री सुडी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मुलुकभर रहेका सबै महिला आर्थिकरूपमा सक्षम हुन आवश्यक रहेको बताएका छन्। 

महिला उद्यमीसँगको भेटमा मंगलबार मन्त्री सुडीले आर्थिक र सामाजिक रूपमा सक्षम बनाउन हरेक महिलालाई प्रशिक्षण दिनु पर्नेमा सरकार गम्भीर रहेको बताउँदै यसका लागि मन्त्रालयको तर्फबाट आफूले हरसम्भव प्रयास गर्ने आश्वासन दिएको महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवालीले जानकारी दिइन्। 

 महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीलाई ध्यानाकर्षणपत्र बुझाउँदै महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवाली । तस्बिर : नागरिक

नेपाली नागरिकसँग प्रत्यक्ष जोडिएको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसार एक महिनाभित्र प्रत्यक्ष देखिने गरी काम गर्न प्रतिबद्ध रहेको जानकारी दिँदै उनले महिला उद्यमलाई बलियो बनाउन विशेष कार्यक्रम ल्याउने बताए । 

प्रकाशित: ८ श्रावण २०८१ १८:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App