२१ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

त्रिशूलीमा हराएका यात्रु खोज्न भारतीय टोली चितवनमा

नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले त्रिशूली नदीमा बगाएका यात्रुहरूको खोजीका लागि भारतीय टोली चितवन आइपुगेको छ।

नेशनल डिजास्टर रिस्पोन्स फोर्स (एनडीआरएफ) को १२ सदस्यीय टोली विभिन्न उपकरणसहित, आज दिउँसो साढे १२ बजे चितवनमा प्रवेश गरेको हो। चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले टोलीलाई घटनाको बारेमा जानकारी गराएपछि टोली घटना स्थलतर्फ लागेको जानकारी दिए।

टोलीले सात दिनसम्म बस र यात्रुको खोजीकार्य गर्नेछ। यादवका अनुसार, टोलीमा तीन वटा सोनार क्यामेरा सहित चार जना गोताखोर समेत रहेका छन्। एनडीआरएफ टोली हिजो रुपन्देही आइपुगेको थियो।

एनडीआरएफका डिसी कुनाल तिवारीले नेपाल र भारतका भौगोलिक वातावरण र नदी-नालाहरूमा धेरै समानता भएकोले खोजीकार्यमा कुनै समस्या नहुने बताए।

‘भारतमा पनि यस्ता घटनाहरूमा काम गरेको अनुभव छ। हामी नियमित उद्धार कार्यमा सहभागी हुँदै आएका छौं,’ तिवारीले भने, ‘हामीले खोजीकार्यका लागि सक्दो प्रयास गर्नेछौं।’

सिमलतालमा पहिरोले त्रिशूली नदीमा हराएका दुईवटा बस अहिलेसम्म भेटिएका छैनन्। हालसम्म २३ जना यात्रुका शवहरू भेटिएका छन्। जस मध्ये १५ जनाको मात्र सनाखत भएको छ।

घटनास्थलमा वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको एञ्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस पहिरोमा परी त्रिशूली नदीमा खसेका थिए। दुवै बसमा गरी ६५ जना यात्रु थिए, जस मध्ये तीन जनाले पौडिएर ज्यान जोगाएका थिए।

लामो समयसम्म पनि बसहरू नभेटिएपछि नेपालले भारतको सहयोग मागेको थियो। जसको फलस्वरूप एनडीआरएफ टोली चितवन आइपुगेको हो।

प्रकाशित: ५ श्रावण २०८१ १५:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App