३१ भाद्र २०८१ सोमबार
image/svg+xml
राजनीति

किन खनिँदै छन् बालेनका समर्थक ओलीविरुद्ध ?

सांसद रेखा शर्माको फोटोसहितको स्टाटस हटेको हो कि हटाइएको हो ?

प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुकमा फलोअर्स निरन्तर घटिरहेको छ। मंगलबार साँझबाट घट्न थालेको फलोअर्स अझै त्यो क्रम रोकिएको छैन। मंगलबार दिउँसोसम्म ओलीको फेसबुकमा फलोअर्सको संख्या करिब ६ लाख ६२ हजार देखिन्थ्र्यो। तर साँझदेखि उनको फलोअर्स एकाएक घटिरहेको छ। झर्ने क्रम अझै जारी छ।

ओलीको फेसबुकमा फलोअर्स घट्नुमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह जोडिएका छन्। साहले आइतबार साँझ नेकपा एमाले लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्माले बाल शोषण गरेको र कारबाही नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्दै स्टाटस लेखे।

‘उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, उहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर, एक जना बालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनुभएको छ, दैनिक रूपमा कुटपिट गर्दै आउनु भएको छ। काठमाडौँ महानगरले विगत २ महिनादेखि कारबाही अगाडि बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन। अदालतले पनि मुद्दा चलाऊ भनेर भनिसकेको छ, उनले लेखेका थिए।

शाहले प्रधानमन्त्री ओलीलाई सुशासनको अर्थ के हो भन्दै शर्मालाई कहिले समाउने भनी प्रश्न समेत गरे।

उनले लेखेका छन्, सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू, सुशासन भनेको अदालतले नि समाऊ भनेको तपाईँको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउनलाई भन्दछ। सायद तपाईँको लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला। कहिले समाउने ? कि नसमाउने ?,’

उक्त विषयमा प्रधानमन्त्री ओलीले भने कुनै प्रतिक्रिया दिएका छैनन्। तर एमालेबृत्त भने मेयर शाहमाथि खनियो। एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु यतिबेला शाहको अभिव्यक्तिविरुद्ध खरोरुपमा उत्रिएको छ।

मेयर शाहको विवादित अभिव्यक्तिपछि प्रतिवादको मोर्चा खोल्दै अनेरास्ववियुका अध्यक्ष समिक बडालले विदेशी खुफिया एजेन्सीलाई दिनहुँ भेट्ने गरेको आरोप नै लगाए।

यतिमात्र होइन्, बडालले पीडित बालिकाको बुबाले सर्वोच्च अदालतमा हालेको बन्दी प्रत्यक्षीकरण रिटमा भएको फैसला हेर्दा उल्टै साहलाई नै बन्दी बनाएको आरोपमा पक्राउ गनुपर्नेसम्म भन्न भ्याए।

जेठ १४ महानगरको नगर प्रहरीले गते सांसद शर्माको घरबाट १४ वर्षीया बालिकाको उद्धार गरेको सार्वजनिक गरेको थियो। धुम्बराहीस्थित घरमा बालश्रमिक रहेको भन्ने सूचनाका आधारमा ती बालिकालाई उद्धार गरिएको महानगरले जनाएको छ।

यो पनि पढ्नुहोस्

सांसद शर्मा र बालश्रम मुद्दाः बालेनविरुद्ध एमाले

आठ वर्षदेखि ती बालिका शर्माको घरमा बालश्रम गर्दै आइरहेको महानगरको टोलीको भनाइ छ। शर्माको घरमा आएदेखि बालिकालाई घर जान पनि नदिएको र आमाबुबासँग पनि भेट्न नदिएको बालिकाले बयान दिएको महानगरको दाबी छ।

ती बालिकाले सांसद शर्माले आफूलाई घरमा खाना पकाउन लगाउने, घर सफा गर्न लगाउने, लुगा धुन लगाउने जस्ता काममा प्रयोग गरेको बताएको महानगरले भनेको छ।

बालिकाका बुवाले महानगरपालिकाले गैरकानुनी तरिकाले आफ्नी छोरीलाई थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरे। सर्वोच्चले उनको रिट खारेज गरिदियो। महानगरले बालिकालाई बन्दि नबनाएको र बालिकाले चाहेको ठाउँमा राख्नु भनी अदालतले भन्यो। बालिकाले अभिभावसँग नजाने र महानगरको संरक्षणमा बस्ने भनिन्। त्यसपछि परिवारका सदस्यलाई भेट्न दिने गरी महानगरलाई नै ती बालिकाको पालनपोषण गर्ने जिम्मेवारी दियो।

त्यसपछि शर्मा उच्च अदालत पाटन पुगिन्। शर्माले उच्च अदालत पाटनमा हालेको निषेधाज्ञाको रिटमा पनि अदालतले दाबी नपुगेको भन्यो।

त्यसपछि महानगरले भदौ ९ गते जिल्ला प्रहरी परिसर काठमाडौंलाई शर्मामाथि किन अनुसन्धान सुरु भएन भनेर पत्र लेखेको थियो। तर सो पत्रको जवाफ कार्यालयले नदिएको मेयर सचिवालय बताउँछ। त्यसपछि भने मेयर साहले सामाजिक सञ्जाल फेसबुकमा आक्रोश पोखेका थिए।

शर्मा दोषी होइनन् भन्दै अनेरास्वयु प्रतिरक्षामा उत्रेपछि मेयर साहले अदालतको फैसलासहित अर्को स्टाटस हालेका थिए। प्रधानमन्त्री ओलीलाई सुझाव साहले भनेका छन्, ‘प्रधानमन्त्री खडगप्रसाद ओलीज्यू, तपाईं आफ्ना कार्यकर्ताहरूलाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनु होला। पछि यस्तै ज्ञानविहीन भएर देश चलाउने ठाउँमा पुग्दा तपाईंजस्तै अरूको इशारामा चल्ने हुनुपर्ला।’

यो पनि पढ्नुहोस्

सांसद् रेखा शर्मालाई कारबाही गर्न बालेनको माग, ओलीको बचाउमा अनेरास्ववियु

सांसद शर्मामाथि लागेको बालशोषणको मुद्दा एकाएक एमाले भर्सेस बालेनमा परिणत भयो। हुनत् बालेनले प्रधानमन्त्री केपी लक्षित यो स्टाटस मात्र लेखेका होइनन् उनले सुकुम्बासी बस्ती डुबानको प्रसङ्गदेखि लिएर गिरिबन्धु टी स्टेटको कुरासम्ममा ओलीलाई काउन्टर दिएका छन्। 

शर्माको फोटोसहितको स्टाटस हटेपछि बालेन झनै आक्रोशित

मंगलबार बिहान मेयर बालेनले आइतबार साँझ सांसद शर्माको फोटोसहित राखेको स्टाटस एकाएक हट्यो। धेरैले आङ्कलन गरे साह आफैले हटाए। मेयर साहको स्टाटस हटेपछि बडालले गलत सधैँ गलत नै हुने भन्नसम्म भ्याए।

तर बालेनको सचिवालयले सो स्टाटसमा धेरै रिर्पोट गएपछि फेसबुक आफैले हटाएको स्पष्टीकरण दियो।

मेयर शाहको प्रमुख स्वकीय सचिव भुपदेव शाहले नागरिक न्युजसँग भनेका थिए,‘मेयरज्यूको उक्त स्ट्याटसमा फोटो थियो। त्यो पोस्टमा धेरै रिपोर्ट गएको भनेर उक्त फोटो फेसबुकको कम्युनिटी गाइडलाइन्समा परेपछि हटेको हो। फेसबुकले के लेखेको छ भन्दा पनि रिर्पोट धेरै गएपछि हटाउँदो रहेछ। फेसबुकले अध्ययन गरिरहेको छ। हामी रिकभर हुन्छ भन्नेमा आशावादी छौँ।’

धेरैले आङ्कलन गरे सो पोस्ट हटाउनका लागि अनेरास्वयुले धेरै रिर्पोट गर्‍यो अनि स्टाटस हट्यो। 

मंगलबार दिउँसो मेयर साहले पोस्ट उडाउने हैन दोषी समाऊ सरकार भन्दै अर्को स्टाटस लेखे। उनको यो स्टाटसले सरकारकै संलग्नतामा उनले आइतबार साँझ गरेको पोस्ट हटेको भन्ने सङ्केत देखिन्छ। उनले आफू दोषी भए समाऊ नभए दोषीलाई समाऊ भनी सरकारलाई चेतावनीसम्म दिए।

साहको यो स्टाटसपछि भने ओलीविरुद्ध खनियो बालेनका समर्थक। मंगलबार साँझदेखि ओलीको फेसबुक अनफलो गर्ने क्रम सुरु भयो। त्यो क्रम बुधबार दिउँसोसम्मै चलिरहेको छ। यो समाचार तयार पार्दासम्म ओलीको फेसबुकमा फलोअर्सको संख्या पाँच लाख ९१ हजार पुगिसकेको छ। 

प्रकाशित: १९ भाद्र २०८१ १६:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App