२ माघ २०८१ बुधबार
image/svg+xml
खेल

एम्सको दूतमा ठकुरी

 विश्व म्याराथनको साझा संस्था एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) को दूतमा नेपालगन्ज म्याराथनका संस्थापक टिएस ठकुरी नियुक्त भएका छन्।

एम्सका नवनिर्वाचित अध्यक्ष पाको बोराओले ठकुरीलाई नेपालका लागि एम्सको दूत नियुक्त गरिएको मनोनयन पत्र पठाएका हुन्। ‘तपाईंसँगको सहकार्यले विश्वभरका रोड रेसलाई प्रोत्साहन र प्रवर्द्धन गर्ने एम्सको लक्ष्य प्राप्त हुने अपेक्षा गर्दछौं।

नेपालगन्ज म्याराथन आयोजकका रूपमा तपाईंको अनुभवलाई आत्मसात् गर्दै हालै सम्पन्न एम्सको वर्ल्ड कंग्रेसमा तपाईंलाई नेपालका लागि दूत नियुक्त गर्ने निर्णयमा पुगेका हौं। नेपालमा रोड रेसको विकासमा एम्सको प्रतिनिधित्व गर्दै समन्वय गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौं,’ अध्यक्ष बोराओले पत्रमा उल्लेख गरेका छन्।

नेपालबाट एम्सको पूर्णकालीन सदस्यता प्राप्त गर्ने नेपालगन्ज म्याराथन पहिलो हो। एम्सको इतिहासमा पहिलोपल्ट नेपालको तर्फबाट उनले जापानको ओसाकामा सम्पन्न २३औं वल्र्ड कंग्रेसमा भाग लिएका थिए। विश्व समुदायलाई नेपालसम्बन्धी जानकारी गराउन उनले नेपाल रनिङ म्यागजिनसमेत प्रकाशन गर्दै आएका छन्।

एम्सको दूतका रूपमा ठकुरीले एम्सका सदस्यता विषयमा नेपालभित्र रेस डाइरेक्टर तथा आयोजकलाई सूचित गर्नुपर्नेछ। साथै एम्सका गतिविधिलाई समन्वय गर्नु, रनिङ समुदायमा हुने विवाद वा त्यस्ता विषयका बारेमा एम्सको बोर्ड समक्ष रिपोर्टिङ गर्ने उनको जिम्मेवारी हो।

एम्सको दूत नियुक्त भएपछि नेपालगन्ज म्याराथनका संस्थापक ठकुरीले खुसी व्यक्त गरे। ‘धारा नेपालगन्ज म्याराथनसँग सहकार्य गर्ने राज्यका निकाय तथा निजी क्षेत्र तथा समस्त सराकोरवाप्रति आभारी छु,’ उनले भने, ‘सिंगो नेपालगन्जवासीलाई धन्यवाद दिन चाहन्छु।’ 

प्रकाशित: २ माघ २०८१ ०९:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App