२ माघ २०८१ बुधबार
image/svg+xml
खेल

टाइगर कप भलिवलमा दुई विदेशी सहित १२ टोली

<br>

टाइगर कप भलिवलको अघिल्लो संस्करण। फाइल तस्बिरः नागरिक

पाँचौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले सहभागिता जनाउने भएका छन्। माघ १२ देखि १९ गतेसम्म पोखरा रंगशालामा प्रतियोगिता संचालन हुँदैछ।  

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुन लागेको उक्त प्रतियोगितामा २ विदेशीसहित १२ टोली सहभागी हुने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए। महिला  र पुरुषतर्फका एक–एक टिम विदेशी रहने उनले बताए।  

प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ ६–६ टोलीले सहभागिता जनाएको संयोजक ज्ञवालीले बताए। पुरुषतर्फ विदेशी टोली श्रीलंकन भलिबल टिमसहित हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबले सहभागिता जनाउने छन।

महिलातर्फ विदेशी क्लब युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्डसहित नेपाल एपीएफ क्लब, टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल सहभागी हुने ज्ञवालीले जानकारी दिए।  

‘पोखरामा भलिवल खेलको क्रेज पछिल्लो समय निकै नै बढेको छ। विदेशी सहितका प्रतिश्पर्धी टिमले सहभागिता जनाउँदैछन,’ उनले भने। गतवर्ष भएको चौंथो संस्करणको टाइगर कप भलिबलको उपाधि पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब र महिलातर्फ एपीएल क्लबले जितेको थियो।

पुरस्कार राशिमा पनि वृद्धि

पाचौं संस्करणको टाइगर कप भलिबल प्रतियोगितामा पुरस्कार राशि पनि बढेको छ। आयोजक टाइगर ग्रुपले पुरस्कार राशिमा चौथो संस्करणभन्दा ३० हजार रुपैयाँ थप गरेको जनाएको छ। पाचौं संस्करणमा पुरुष र महिला दुवैतर्फको विजेताले समान ५ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छन्।  

यस्तै उपविजेतालाई समान २ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ। तृतीय हुने टोलीले भने १ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्नेछन्। विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने प्रतियोगिता संयोजक ज्ञवालीले जानकारी दिए।  

प्रकाशित: २ माघ २०८१ १३:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App