पोखराको फोहोर व्यवस्थापनमा देखिएको गतिरोध अन्त्य हुने भएको छ।
पोखरा महानगरपालिकाले बुधबार आयोजना गरेको सर्वपक्षीय बैठकमा राजनीतिक दलहरूले फोहोरमा राजनीति नगर्ने सामूहिक प्रतिबद्धता जनाएसँगै महानगरले ७२ घण्टाभित्र फोहोर उठाउन सुरु गर्ने घोषणा गरेको हो।
विगत एक महिनादेखि फोहोर नउठ्दा ‘पर्यटकीय राजधानी’ पोखरा दुर्गन्धित बनेको छ। सहरका चोकदेखि गल्लीहरूसम्म फोहोरको डंगुर थुप्रिँदा र वर्षाका कारण हैजाजन्य महामारी फैलिने जोखिम बढेपछि महानगरले निकास खोज्न दलहरूलाई गुहारेको हो।
बैठकमा दल र नागरिक समाजको प्रतिबद्धता आएपछि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अबको ७२ घण्टाभित्र फोहोर उठाउने काम सुरु गरिने बताए।
‘दलहरूको प्रतिबद्धताअनुसार महानगरपालिका अघि बढ्छ। हाललाई अस्थायी रूपमा फोहोर विसर्जन गरी त्यसलाई १० इन्च माटोले पुर्नेगरी व्यवस्थापन गरिनेछ,’ मेयर आचार्यले भने।
उनले विगतमा जस्तो बैठकमा सहमति जनाउने तर व्यवहारमा अवरोध गर्ने ‘दोहोरो चरित्र’ नदेखाउन दलहरूलाई आग्रह गरे। ‘अहिले सार्वजनिक प्रतिबद्धता आएकाले विगतको जस्तो समस्या नदोहोरिने अपेक्षा गरेको छु,’ उनले थपे।
बैठकमा सहभागी दलका प्रतिनिधिहरूले फोहोर व्यवस्थापनमा महानगरको अल्पकालीन र दीर्घकालीन नीति कार्यान्वयनमा सघाउने वचन दिएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीका संयोजक विश्वप्रकाश लामिछानेले महानगरको प्राविधिक टोलीले तोकेको स्थानमा फोहोर लैजान आफ्नो पार्टीले पूर्ण सहयोग गर्ने बताए।
उनले भने, ‘फोहोरका कारण पोखराको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बदनामी भइरहेको छ। मेरो र तेरो वडा नभनी महानगरले तोकेको ठाउँमा फोहोर फाल्ने वातावरण बनाउन हामी तयार छौं।’
नेपाली कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले फोहोरको डंगुरमाथि आफ्नो पार्टीले राजनीति नगर्ने स्पष्ट पारे। उनले भने, ‘बदलिएको कांग्रेसले फोहोरको प्रदूषणमाथि स्वार्थको खेती गर्दैन। महानगरले आवश्यक ठाने जस्तोसुकै जिम्मेवारी लिन पनि हामी तयार छौं।’
नेकपा एमालेका उपाध्यक्ष भेषराज बरालले फोहोर व्यवस्थापनको जिम्मा दलहरूको पनि भएको बताए। तर, उनले स्थानीयको सहभागिता र वातावरणीय प्रभावलाई ध्यान दिनुपर्नेमा जोड दिए। ‘कुनै पनि प्रदूषण नहुने गरी र स्थानीयलाई असर नपर्ने गरी व्यवस्थापन हुनुपर्छ, यसमा एमाले सघाउन तयार छ,’ बरालले भने।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महानगर सभापति मनहरीप्रसाद आचार्यले केही परिचालित व्यक्तिहरूले अवरोध गरेको दाबी गर्दै कानुनी दायरामा ल्याएर भए पनि फोहोर व्यवस्थापन गर्नुपर्ने बताए।
राष्ट्रिय जनमोर्चाका पूर्णबहादुर केसीले तत्कालका लागि अल्पकालीन समाधान खोज्नुपर्नेमा जोड दिए।
नागरिक समाजका अगुवा रामबहादुर पौडेलले दलहरूको प्रतिबद्धतापछि महानगरले अब ‘बोल्ड’ निर्णय लिनुपर्ने सुझाव दिए।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले मापदण्ड पूरा गरेर गरिने फोहोर व्यवस्थापन कार्यमा प्रशासनले पूर्ण सहयोग गर्ने बताए। उनले भने, ‘स्थानीयलाई असर नपर्ने गरी र मापदण्ड पूरा गरेर काम अघि बढे प्रशासनले सुरक्षा र समन्वयमा सघाउनेछ।’
पोखरा–३२ लामेआहालस्थित अस्थायी ल्यान्डफिल साइट भरिएपछि महानगरले पोखरा-३३ पुँडीटारमा फोहोर फाल्ने प्रयास गरेको थियो। तर, त्यहाँ फोहोर प्रशोधन केन्द्र बनाउने योजनामा स्थानीयले अवरोध गरेपछि एक महिनादेखि पोखराको फोहोर उठ्न सकेको छैन।
प्रकाशित: २८ माघ २०८२ २१:०३ बुधबार





