३ चैत्र २०८२ मंगलबार
image/svg+xml
खेल

एन्फा राष्ट्रिय लिग: आर्मीले मच्छिन्द्रलाई हराएपछि शीर्ष होड रोमाञ्चक

कप्तान जिलेस्पीजंग कार्कीको प्रेरणामा त्रिभुवन आर्मी क्लबले मच्छिन्द्र क्लबलाई हराएपछि राष्ट्रिय लिगको शीर्ष होड रोमाञ्चक भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको अन्तिम खेलमा आर्मीले मच्छिन्द्रमाथि २–१ को जित निकालेपछि शीर्षता दौड प्रतिस्पर्धात्मक बनेको हो। आर्मीको जितमा कप्तान जिलेस्पीजंग र नवयुग श्रेष्ठले गोल गरे। मच्छिन्द्रका जोनाथन कान्टिलानाले गोल गरेका थिए। मच्छिन्द्रको हारपछि शीर्ष स्थानको दौड थप रोमाञ्चक हुने भएको छ। शीर्ष टोली मच्छिन्द्र र छैटौं स्थानको चर्च ब्वाइज युनाइटेडबीच अंकतालिकामा अन्तर तीन अंकको मात्र छ। ११ खेलबाट न्यु रोड कर्नर टिम (एनआरटी) २० अंकसहित सातौं स्थानमा छ। यो टोलीका लागि पनि शीर्ष स्थानको होड चुनौतीपूर्ण देखिएको छ। आर्मीले खेलको ४०औं मिनेटमा नवयुगको गोलबाट अग्रता लियो तर त्यो अग्रता लामो समय टिक्न सकेन । तीन मिनेपछि नै मच्छिन्द्र खेलमा फर्कियो।  

जोनाथनले गोल गर्दै मच्छिन्द्रलाई १–१ को बराबरीमा ल्याए। पहिलो हाफमा थप गोल हुन सकेन। दोस्रो हाफमा आर्मीले गोल फर्काउँदै फेरि अग्रता लियो। जिलेस्पीजंगले ४६औं मिनेटमा नै गोल गर्दै आर्मीलाई २–१ ले अगाडि बढाए तर त्यसपछि मच्छिन्द्रले गोल फर्काउन सकेन र लिगमा दोस्रो हार सामना गर्‍यो। ११ खेलबाट मच्छिन्द्र २५ अंकसहित गोलअन्तरको आधारमा शीर्ष स्थानमा यथावत् छ। समान खेलबाट एपिएफको पनि २५ अंक नै छ। आर्मी यो जितपछि ११ खेलबाट २३ अंक जोड्दै चौथो स्थानमा उक्लियो। सोमबार नै शीर्ष चारभित्रको प्रतिस्पर्धामा लालीगुराँस एसोसिएसनले प्लानिङ ब्वाइज युनाइटेडलाई ३–२ ले हराउँदा रोमाञ्चक बन्यो।

यो जितपछि लालीगुराँस १२ खेलबाट २४ अंक बटुल्दै तेस्रो स्थानमा उक्लियो। प्लानिङ भने समान खेलबाट २२ अंकसहित पाँचौं स्थानमा झर्‍यो। त्यसअघि विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा सातदोबाटो युथ क्लब जितबाट वञ्चित भयो। सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सम्पन्न दिनको पहिलो खेलमा पुलिसले सातदोबाटोसँग २–२ को रोमाञ्चक बराबरी गरेको हो। सातदोबाटोका अरुण लामा र फोडे फोफानाले गोल गरे। यी दुईको गोलमार्फत पहिलो हाफमा सातदोबाटोले अग्रता लिएको थियो। त्यसपछि खेलको अन्तिम १५ मिनेट सातदोबाटो समालिन सकेन। ७५औं मिनेटमा धीरेन्द्रबहादुर शाहले गोल गरे।

त्यसपछि निर्धारित समयसम्म खेलमा फर्किने कोसिस गरे पनि सकेन। इन्जुरी समयको नवौं मिनेटमा सुवास थारुले गोल गरेपछि सातदोबाटो स्तब्ध बन्यो। बराबरीसँगै ११ खेलमा ९ अंक जोड्दै पुलिसले एक स्थान सुधार ग¥यो। पुलिस १२औं स्थानमा छ। सातदोबाटोको पनि समान खेलमा ९ अंक नै छ। एक स्थान माथि उक्लिएको सातदोबाटो १३औं स्थानमा छ।

प्रकाशित: ३ चैत्र २०८२ ०८:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App