७ कार्तिक २०८३ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानबाट अमेरिकी नागरिकमाथि खतरा बढेको अमेरिकी गुप्तचर प्रमुखको चेतावनी

इरानले मध्यपूर्वसहित अन्य देशमा रहेका अमेरिकी नागरिक र अधिकारीलाई निसाना बनाउने प्रयास तीव्र पारेको अमेरिकी राष्ट्रिय गुप्तचर प्रमुख जे क्लेटनले चेतावनी दिएका छन्।

विदेशमन्त्री मार्को रुबियोलाई शुक्रबार पठाएको ज्ञापनपत्रमा क्लेटनले अमेरिकी नागरिकविरुद्ध इरानले अघि बढाएका घातक योजनाहरू मध्यपूर्व र अन्य केही देशमा उन्नत चरणमा पुगेको उल्लेख गरेका छन्। उक्त जानकारी अमेरिकी सञ्चारमाध्यम एक्सियोस, सीबीएस न्युज र एसोसिएटेड प्रेस (एपी) ले सार्वजनिक गरेका छन्।

यो चेतावनी यमनका इरानसमर्थित हूथी विद्रोहीले साउदी अरबमा आक्रमण तीव्र पारेपछि आएको हो। अमेरिकाले यसै साता साउदी अरबस्थित आफ्ना कूटनीतिक नियोगबाट गैरआवश्यक कर्मचारी र उनीहरूका परिवारलाई फिर्ता बोलाएको छ। सुरक्षा जोखिम बढेपछि जोर्डन, लेबनान, कतार र संयुक्त अरब इमिरेट्सस्थित अमेरिकी दूतावासमा पनि कर्मचारी संख्या घटाइएको छ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सहमति नभए पुनः सैन्य कारबाही गर्न सकिने बताएका छन्। शुक्रबार फ्लोरिडामा आयोजित कार्यक्रममा उनले इरानमाथि पहिले सञ्चालन गरिएको अमेरिकी सैन्य अभियान ‘एपिक फ्युरी’ जस्तै अर्को कारबाही हुन सक्ने संकेत दिएका थिए। तर, त्यसको समयबारे उनले स्पष्ट पारेनन्।

अमेरिका र इजरायलले फेब्रुअरीको अन्त्यमा इरानमाथि संयुक्त आक्रमण गरेपछि मध्यपूर्वमा द्वन्द्व चर्किएको थियो। त्यसयता क्षेत्रीय सुरक्षा तनाव कायम छ भने वासिङ्टन र तेहरानबीच सैन्य टकराव पुनः सुरु हुन सक्ने आशंका बढेको छ।

प्रकाशित: ७ कार्तिक २०८३ २०:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App