२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

आहा ! रारा पोखरा गोल्डकप: मच्छिन्द्रलाई हराउँदै जाउलाखेल क्वार्टरफाइनलमा

पोखराको प्रतिष्ठित आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा जाउलाखेल युथ क्लबले विजयी सुरुवात गरेको छ।

पोखरा रंगशालामा बुधबार भएको खेलमा अर्को ‘ए’ डिभिजन क्लब मच्छिन्द्र फुटबल क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै जाउलाखेल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको हो।

यो हारसँगै मच्छिन्द्र क्लब भने पहिलो खेलबाटै बाहिरिएको छ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा जाउलाखेल आक्रामक रूपमा प्रस्तुत भयो। जाउलाखेलको जितमा दुवै गोल विदेशी खेलाडीहरूले गरे।

खेलको ५४औं मिनेटमा निकोलास ओडाने ह्यामिल्टनले गोल गर्दै जाउलाखेललाई सुरुवाती अग्रता दिलाए। विपक्षी खेलाडीको खुट्टाबाट बल खोस्दै उनले गरेको प्रहार गोलमा परिणत भएको थियो।

पहिलो गोल भएको आठ मिनेट नबित्दै ६२औं मिनेटमा बौबसर सिस्सोखोले अर्को गोल थपे।

ह्यामिल्टनको पासलाई सदुपयोग गर्दै सिस्सोखोले गोल गरेपछि जाउलाखेलको अग्रता दोब्बर भयो।

खेलको बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा जाउलाखेल २-० ले विजयी भयो।

अब जाउलाखेलले सेमिफाइनल प्रवेशका लागि आइतबार चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिता अन्तर्गत बिहीबार विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुने आयोजक सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए।

प्रकाशित: २८ माघ २०८२ २०:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App