२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

यी हुन् रास्वपाले अहिलेसम्म जितेका १२ सिट

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को अन्तिम नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर प्रभावशाली जित हासिल गरेको छ। काठमाडौंका अधिकांश क्षेत्रसहित कास्की, मोरङ र धनुषामा रास्वपाका उम्मेदवारहरूले भारी मतान्तरले पुराना राजनीतिक दलका हस्तीहरूलाई पराजित गरेका छन्।

धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट रास्वपाका मनिष झा ४३ हजार १ सय ४२ मतका साथ विजयी भएका छन्। उनले नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिलाई २७ हजारभन्दा बढी मतको अन्तरले पराजित गरेका हुन्। त्यस्तै, कास्की निर्वाचन क्षेत्र नं. ३ बाट बिना गुरुङ ३७ हजार ७ सय ५० मतका साथ निर्वाचित भएकी छिन्। उनले कांग्रेसका मनोज गुरुङलाई पछाडि पारिन्।

राजधानीका १० मध्ये अधिकांश क्षेत्रमा रास्वपाले बाजी मारेको छ। काठमाडौं क्षेत्र नं. १० मा प्रदीप विष्ट (३७,४६९ मत), ५ मा सस्मित पोखरेल (३०,७३७ मत), ४ मा पुकार बम (२९,१४२ मत), ७ मा गणेश पराजुली (२७,८०५ मत), ६ मा शिशिर खनाल (२७,७११ मत) र ८ मा विराजभक्त श्रेष्ठ (२४,५९२ मत) ले विजयी भएका छन्। क्षेत्र नं. १ बाट रञ्जु न्यौपाने १५ हजार ४ सय ५५ मतका साथ निर्वाचित भएकी छिन्।

सबैको चासोको केन्द्र रहेको काठमाडौं क्षेत्र नं. ३ मा रास्वपाका राजुनाथ पाण्डे १८ हजार ७ सय ५७ मतका साथ विजयी भएका छन्। उनले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पराजित गरेका हुन्। घिसिङले ११ हजार १ सय ७१ मत प्राप्त गरेका थिए। 

मोरङ ४ बाट सन्तोष राजवंशी ३६ हजार ८ सय ५९ मत र कास्की २ बाट उत्तमप्रसाद पौडेल ३१ हजार ९ सय ११ मतका साथ निर्वाचित भएका छन्। पौडेलले एमालेका रश्मि आचार्यलाई २४ हजारभन्दा बढी मतान्तरले पराजित गरेका हुन्।

प्रकाशित: २३ फाल्गुन २०८२ ०३:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App