१ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

‘स्क्रिन’ भित्रको संसार: बालबालिका कति सुरक्षित ?

एड उइलका साझेदार संस्थाहरूले विभिन्न जनचेतनामूलक कार्यक्रमसहित काठमाडौंमा सुरक्षित इन्टरनेट दिवस मनाएका छन्।

सिविन नेपालद्वारा आयोजित विशेष कार्यक्रममा उपस्थित सरोकारवालाहरूले सूचना प्रविधिको तीव्र विकाससँगै बालबालिकामा साइबर जोखिम बढेकोमा चिन्ता व्यक्त गरे।

कार्यक्रममा वक्ताहरूले इन्टरनेट र सामाजिक सञ्जालको सही सदुपयोग गर्नुपर्नेमा जोड दिँदै यसको सुरक्षित प्रयोगका लागि नीतिगत र व्यवहारिक पक्षमा सुधारको खाँचो औंल्याए।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत बाल संरक्षण शाखाका प्रमुख दुर्गाप्रसाद चालिसेले सरकारले बाल अधिकार र संरक्षणको क्षेत्रमा प्राथमिकताका साथ काम गरिरहेको सुनाए।

‘प्रविधिको विस्तारबाट कोही पनि अछुतो रहन सक्दैन, तर यसको प्रयोगमा भने हामी सबै चनाखो हुनुपर्छ,’ चालिसेले भने।

उनले बालबालिका मात्र नभई अभिभावकहरू पनि इन्टरनेटको प्रयोगबाट प्रभावित भइरहेको उल्लेख गर्दै मन्त्रालयले विभिन्न संघ-संस्थासँगको समन्वयमा सचेतनामूलक कार्यक्रमहरू गरिरहेको जानकारी दिए।

यस्तै, नेपाल प्रहरीको साइबर ब्युरोका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवीन अर्यालले अनलाइन प्रविधिको बढ्दो पहुँचसँगै साइबर अपराधका घटनामा वृद्धि भएको तथ्यांक प्रस्तुत गरे।

उनले भने, ‘विशेषगरी बालबालिकामा सामाजिक सञ्जालको अनियन्त्रित प्रयोगले जोखिम बढाएको छ। यसबाट बच्न र बालबालिकालाई सुरक्षित राख्न व्यापक रूपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु अपरिहार्य छ।’

राष्ट्रिय बाल अधिकार परिषद्की सदस्य सचिव इन्दिरादेवी ढकालले सामाजिक सञ्जाल र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले सिकाइका नयाँ अवसर सिर्जना गरे पनि यसले गम्भीर चुनौतीहरू पनि साथै ल्याएको बताइन्।

‘प्रविधिले गलत सूचना र जोखिम पनि निम्त्याउन सक्छ, त्यसैले अनलाइन सुरक्षाका लागि स्पष्ट डिजिटल नीति बनाउनु आवश्यक छ,’ उनले भनिन्।

आयोजक संस्था सिविन नेपालका अध्यक्ष माधव प्रधानले संस्थाको भावी रणनीाइबारे प्रकाश पार्दै आगामी दिनमा देशभर साइबर सुरक्षासम्बन्धी सचेतना अभियान चलाइने प्रतिबद्धता व्यक्त गरे।

‘यस वर्षको कार्यक्रममा ६० जना बालबालिकाको सहभागिता रहेको छ, आगामी वर्ष यो संख्या बढाएर कम्तीमा सयभन्दा बढी पुर्‍याउने हाम्रो लक्ष्य छ,’ प्रधानले भने।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव राजकुमार महर्जन, सिविनका कार्यकारी निर्देशक कुमार भट्टराई, डिटिएच नेदरल्याण्डकी नेपाल प्रतिनिधि निता श्रेष्ठलगायतले आ-आफ्नो धारणा राखेका थिए।

सो अवसरमा इन्टरनेट सुरक्षासम्बन्धी सन्देशमूलक नाटकसमेत मञ्चन गरिएको थियो। कार्यक्रमको सहजीकरण सिविन नेपालका कार्यक्रम निर्देशक माधव लोहनीले गरेका थिए।

प्रकाशित: २८ माघ २०८२ २०:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App