१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

‘हिमनदी पग्लिँदा पनि हरितगृह ग्यास उत्सर्जन’

जलवायु विज्ञानका कारण विश्वमा नयाँ र चाखलाग्दा खोज भइरहेका छन्। प्रकृतिसँग सम्बद्ध नयाँ र आश्चर्यजनक तथ्यले नयाँ–नयाँ रहस्य उदघाट्न गर्छन्। यही क्रममा उच्च हिमाली हिमनदी र हरितगृह ग्यासको सम्बन्ध के छ भनेर वैज्ञानिकको एक समूहले अध्ययन गरेको छ। अध्ययनले हिमनदी (ग्लासियर) पग्लिँदा हरितगृह ग्यास उत्र्सजन हुने देखाएको छ।

‘साइन्स अफ दि टोटल इन्भायरोमेन्ट’ नामक वैज्ञानिक जर्नलमा प्रकाशित उक्त अध्ययनको नेतृत्व ‘चाइनिज एकेडेमी अफ साइन्सेस’अन्तर्गतको ‘नर्थ–वेस्ट इन्स्टिच्युट अफ इको–इन्भायरोमेन्ट एन्ड रिसोर्सेस’का वैज्ञानिक डु झिहेङले गरेका हुन्।

बेइजिङ नर्मल युनिभर्सिटी र लान्झाउ युनिभर्सिटीसँगको सहकार्यमा भएको अध्ययनअन्तर्गत वैज्ञानिक डुले २०२१ देखि २०२३ सम्म चीनका उच्च पहाडी हिमनदीमा रहेका बरफका गुफाहरूको अध्ययन गरेका थिए। पछिल्ला वर्षमा हिमनदी पग्लिने र आकार घट्दै गएको देखिएको छ। अत्यधिक हिउँ पग्लिँदा कतिपय हिमनदीको बहावसमेत बढेको पाइएको छ। तर यो प्रक्रियाले हरितगृह ग्यास उत्सर्जनलाई बढाउँछ अथवा यसको अवशोषण गर्छ भन्ने विषयमा यसअघिका अध्ययनले यकिन गर्न सकेका थिएनन्। रहस्यको त्यही गुत्थी सुल्झाउन वैज्ञानिकले हिमनदीका गुफामा मिथेन र कार्बनडाइअक्साइड जस्ता हरितगृह ग्यासको घनत्व र ती ग्यासका आइसोटोप (समस्थानिक) हरूको अध्ययन गरेका हुन्।

अप्रत्याशित नतिजा

अध्ययनले हिउँका ती गुफाहरूमा मिथेन उत्सर्सन र कार्बनडाइअक्साइड अवशोषण प्रकृतिमा परिवर्तन भइरहेको देखाएको छ। अध्ययनले बरफका ती गुफामा मिथेन ग्यास ५.७ पिपिएम (प्रतिदस लाखमा एक भाग) ले बढेको र कार्बनडाइअक्साइडको स्तर १६८ पिपिएमले घटेको देखाएको छ। यो परिवर्तनले भविष्यमा कार्बन बजेटलाई समेत प्रभावित गर्ने देखिएको छ। विशेषगरी हरेक वर्षको जुलाई १३ देखि १६ सम्म मिथेनको घनत्व बढेको देखिएको थियो। तर ग्रिनल्यान्ड हिमनदीको तथ्यांकको तुलनामा यी दुवै ग्यासको स्तर कम रहेको वैज्ञानिक बताउँछन्।

उच्च हिमाली क्षेत्रमा एसेटोक्लास्टिक र थर्माेजेनिक प्रक्रियामार्फत अत्यधिक मिथेन उत्पादन अर्थात् मिथेनोजेनेसिस हुने गरेको र हावाको गति, दिशा तथा पग्लेको पानीको बहावजस्ता मौसमी कारणले समेत मिथेन उत्सर्जन प्रभावित हुने गरेको अध्ययनको निष्कर्ष छ।

अनुसन्धानले हिमनदीका गुफाको मुख र बाह्य वातावरणमा यी दुई ग्यासको प्रवाह ढाँचा पनि फरक देखाएको छ। वायुमण्डलमा हुने यो उत्सर्जनले हिमनदी पग्लने प्रक्रियालाई तीव्रता दिएको पाइएको छ। विगत आधा शताब्दीमा चीनका स–साना हिमनदीहरूको १७ प्रतिशतले ह्रास आएको छ। हिउँ बोक्ने यी हिमनदीमा आएको ह्रासका कारण समग्र भू–सतह र वातावरणमासमेत प्रभावित भएको छ।

विश्वव्यापी जलवायु नीतिमा प्रभाव

विश्व जलवायु संकटसँग जुधिरहेका सन्दर्भमा अध्ययनको निष्कर्षले विश्वव्यापी जलवायु नीतिमासमेत गहिरो प्रभाव पार्ने देखाएको छ। हिमनदी पग्लिने र हरितगृह ग्यास उत्सर्जनबीचको आपसी शूक्ष्म अन्तक्र्रियाको विषय झन् महŒवपूर्ण हुँदै गएको छ । अब नीतिनिर्माताले उच्च हिमाली क्षेत्रको वायुमण्डलमा मिथेन र कार्बनडाइअक्साइड ग्यासको उतारचढाब र यसले पार्ने प्रभावलाई समेत ध्यान दिनुपर्ने भएको छ।

वैज्ञानिकहरू विश्वका राष्ट्रहरू जलवायु कार्यबारे छलफल गर्न जुट्दा उच्च हिमाली हिमनदी अनुसन्धान नतिजालाई ध्यानमा राखेर तापमान बढ्न नदिन तथा तापमान बढ्दा हुने असर रोक्न एकीकृत, सुसूचित तथा सुदृढ प्रतिकार्य जरुरी ठान्छन्। ‘नीतिनिर्माताले वायुमण्डलको मिथेन र कार्बनडाइअक्साइडको स्तरले उच्च हिमाली हिमनदीमा पार्ने प्रभावलाई कम आकलन गर्न मिल्दैन,’ अनुसन्धानकर्ताले भनेका छन्।

उच्च हिमाली हिमनदीहरू पग्लेर निकास हुने क्रममा नयाँ बाटो लिने र योक्रममा प्रशस्त मात्रामा मिथेन ग्यास निस्कने गर्छ। वायुमण्डलमा बढ्दो हरितगृह ग्यासका लागि यो प्रक्रियाले राख्ने अर्थ र भविष्यमा पार्ने प्रभावका विषयमा थप अध्ययन हुनुपर्ने देखिएको छ। वैज्ञानिक डु र उनको टिमले गरेको अध्ययन यो विषयमा कोषे ढुंगा हुन सक्छ। ‘अध्ययनले हिमनदी पग्लिँदा वातावरणमा पर्ने प्रभावबारे लगातार अनुसन्धान र अनुगमन झन् धेरै हुनुपर्ने देखाएको छ,’ अनुसन्धानकर्ताले भनेका छन्।

प्रकाशित: २ श्रावण २०८१ ०७:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App