२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

नारायणगढ-मुग्लिन सडकको इन्जिनियरिङमै त्रुटि

नारायणगढको पोखरा बसपार्कदेखि मुग्लिनसम्मको ३५ किलोमिटर सडक भौगलिक दृष्टिकोणले जोखिमपूर्ण र संवेदनशील छ। यसको स्तरोन्नति गरिसकेपछि पनि यस खण्डमा २०७९ सालमा ३६ पटक, २०८० सालमा ३० पटक र २०८१ वैशाखदेखि अहिलेसम्म ६ पटक पहिरो गइसकेको छ। यसबाट २०७९ सालमा करिब १३४ घण्टा, २०८० मा १२३ घण्टा तथा २०८१ वैशाखदेखि अहिलेसम्म करिब ३० घण्टा पहिरोकै कारण सडक अवरुद्ध भइसकेको छ।

सडक डिभिजन चितवनका प्रमुख रमेश पौडेलले दिएको जानकारीअनुसार यस वर्ष मात्र सिमलताल क्षेत्रमा तीन पटक पहिरो गइसकेको छ र यसले साढे १८ घण्टा बाटो अवरुद्ध गरिसकेको छ। दुई अर्बभन्दा बढी रूपैयाँ खर्च गरेर साढे दुई वर्षमा यस सडकको स्तरोन्नति गरिएको थियो।

सन् २०१६ जनवरीबाट काम सुरु भई सन् २०१८ अगस्टमा स्तरोन्नतिको काम सकिएको थियो । स्तरोन्नतिपछि यस सडकखण्डको साढे पाँच मिटर चौडाइलाई बढाएर नौदेखि ११ मिटरसम्म पुर्‍याइएको थियो। वल्र्ड बैंकको आर्थिक लगानीमा गरिएको स्तरोन्नतिमा तीन प्याकेजमा श्रेष्ठ कन्स्ट्रक्सन, लामा कन्स्ट्रक्सन र रौताहा कन्स्ट्रक्सनले ठेक्का लिएका थिए।

यसको डिजाइन कन्सल्टेन्सीको जिम्मा इटेको नेपाल प्रालि तथा सुपरभिजन कन्सल्टेन्सी आइसिटी इन्डिया प्रालिले लिएका थिए। सडक डिभिजनका अनुसार यसको डिजाइन इन्जिनियरिङ वल्ड बैंकले गरेको थिएन तर एप्रुभ (सहमति) भने गरेको थियो। अहिले यो सडक हेर्ने जिम्मेवारी सडक डिभिजन चितवनले पाएको छ।

भौगोलिक दृष्टिकोणबाट नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो र भूकम्पको सधैं जोखिम भइरहने भएकाले त्यसअनुसार यस सडकलाई सुरक्षित बनाउन डिजाइनिङ र भूप्रविधि इन्जिनियरिङमा ख्याल नपुगेको विज्ञहरू बताउँछन्।

उनीहरू भन्छन्, ‘बिपी राजमार्ग बनाउन जसरी जिओलोजिकल इन्जिनियरिङ गरियो र सडकलाई सुरक्षित बनाउन ठुलो लगानी गरियो। त्यसैले त्यस खण्डमा पहिरो गएको घटना कम आउने गर्छ। तर अत्यन्त जोखिमपूर्ण भूगोल र कमजोर चट्टान भएको नारायणगढ–मुग्लिन सडकखण्डको स्तरोन्नति गर्दा यसको भौगोलिक संवेदनशीलतालाई त्यति ख्याल गरिएन,’ भूप्रविधि विज्ञ तथा भौतिक एवं पूर्वाधार मन्त्रालयका पूर्वसहसचिव नरेशमान शाक्यले बताए।

उनका अनुसार मुग्लिन–नारायणगढ राजमार्ग भूगोलका हिसाबले यस्तो रेखामा बनेको छ, त्यसको भूगोलमुनि तिब्बतियन प्लेट र इन्डियन प्लेट आपसमा जुध्ने गरेका छन्। तिब्बतियन प्लेटमाथि र इन्डियन प्लेट तल रही माथिको प्लेटले तलको प्लेटलाई धकेल्ने गर्छ । हिमालय क्षेत्रको करिब २२ सय किलोमिटर भूगोल भूकम्पीय दृष्टिकोणले सधैं जोखिमपूर्ण छ। त्यही जोखिमपूर्ण रेखानजिकै मुग्लिन–नारायणगढ सडकखण्ड रहेको विज्ञहरूको भनाइ छ।

‘दुई प्लेटबिचको आपसी जुधाइले त्यहाँको चट्टान कमजोर बनेको छ। माटो पनि उत्तिकै कमजोर छ । यस्तो संवेदनशील भूगोलमा बनेको सडकको इन्जिनियरिङ डिजाइन गर्दा अन्य भूगोलभन्दा बढी संवेदनशील हुनुपथ्र्यो। त्यति भएन कि ?’ उनले भने। विज्ञका अनुसार नारायणगढ–मुग्लिन सडकखण्डको भूगोल एमसिटी (मेन सेन्टर थस्र्ट) र एमबिटी (मेन बाउन्ड्री थस्र्ट) को लाइनमा पर्छ । यी दुई रेखा हुन्। एमसिटी इन्डियन र तिब्बतियन प्लेटको सिमाना हो भने एमबिटी महाभारत पर्वत र चुरेबिचको सिमाना हो। यतिबेला एमबिटी लाइन सक्रिय भएको विज्ञहरू बताउँछन्।

त्यसैले त्यस क्षेत्रको भूगोल बलियो छैन। यही कारण त्यस क्षेत्रमा माटो, ढुंगा कमजोर भई सधैं पहिरो जाने जोखिम भइरहन्छ। त्यसकारण यस क्षेत्रको जलाधारा क्षेत्रमा संरचना निर्माण गर्दा सडकलाई असर पर्ने गरी निर्माण गर्न नहुने विज्ञहरूको सुझाव छ। सामान्यतया सडक क्षेत्रभन्दा दायाँबायाँ २५/२५ मिटर बाहिरसम्मको क्षेत्रलाई राजमार्गले ओगट्ने गर्छ । त्यसैले सडक निर्माण गर्दा या स्तरोन्नति गर्दा मूल सडकभन्दा २५/२५ मिटर बाहिरसम्मको क्षेत्रलाई हेरेर संरचना बनाउने गरिन्छ। तर भूगोलको अवस्था हेरेर सडकभन्दा ४०/५० मिटरसम्म हेर्ने गरिन्छ।

बिपी राजमार्ग बनाउँदा पहिरोको जोखिमलाई कम गर्न ४०/५० मिटर बाहिरसम्मको अवस्थालाई हेरिएको छ। नारायणगढ–मुग्लिन सडक बनाउँदा यसतर्फ ध्यान नपुगेको हो कि भन्ने विज्ञहरूको भनाइ छ। सडक डिभिजन चितवनका प्रमुख पौडेलले भने नारायणगढ–मुग्लिन सडक अत्यन्त संवेदनशील भएको बताउँछन्।

मन्त्रालयका एक उच्च कर्मचारी भन्छन्, ‘सडक बनाउँदा कति लगानी गर्ने भन्ने विषयले पनि सडक कति सुरक्षित हुन्छ भन्ने विषय जोडिएको हुन्छ। बिपी राजमार्ग बनाउँदा ठुलो लगानी गरिएको छ। त्यस सडकमा पैसा हेरिएको थिएन। खाली सुरक्षालाई मात्र हेरिएको थियो।’ भौतिक पूर्वाधार मन्त्रालयका उच्च कर्मचारीहरू भने यसपटक सिमलताल पहिरो जानुमा सडक निर्माणको कारणले भन्दा पनि सडकमाथि स्थानीय तहबाट अनियन्त्रित र बिनाअध्यनन खनिएको ‘डोजरे बाटो’बाट लेदो आउनु रहेको बताउँछन्।

पहिरो गएको ठाउँबारे अध्ययन गर्न आइतबार सडक विभागको एउटा टोली नारायणगढ–मुग्लिनखण्डमा पुगेको थियो। उक्त टोलीमा सडक विभागका महानिर्देशक रामहरि पोखरेल आफैं पुगेका थिए। स्थलगत अध्ययन गरेर फर्केपछि पोखरेलले भने, ‘त्यस क्षेत्रमा कसरी पहिरो गयो, यसबारे हामी आफैं पनि अचम्म मानेका छौं। सडकभन्दा करिब ८/९ सय मिटरमाथि खनिएको बाटोबाट लेदो खसेर पहिरो आएको हामीले अनुमान गरेका छौं ।’ माथिबाट आएको पहिरोले सडक नभत्काएको, सडकका ३/४ वटा प्याराफिट वाल मात्र भत्काएको उनले बताए। यस विषयमा अध्ययन भइरहेको उनको भनाइ छ।

प्रकाशित: ३१ असार २०८१ ०६:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App