२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

नारायणीमा भेटिएको शव सिमलताल घटनाकै रहेको पुष्टि

चितवनको भरतपुर–२८ स्थित नारायण नदी किनारमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार उक्त शव गणपति डिलक्सका यात्रुको हो ।

नदी किनारमा घोप्टो परेको अवस्थामा उनको शव शनिवार बिहान साढे आठ बजे भेटिएको थियो । शवको साथमा केही कागजात पनि भेटिएको थियो । प्राप्त कागजातको आधारमा शव भारतीय नागरिक ऋषि पल साहको रहेको खुलेको थियो । ‘साह नेपालमा बसेर काम गर्ने गरेको उनका दाइ सत्य पाल शाहले बताएका छन् । शव भाइ ऋषि पलको नै रहेको उनले पुष्टि गरेका छन् । भारतको मोतिहारी राजमुनुवा घर भएका २८ वर्षीय साह काठमाडौँको जोरपाटीबाट गौर जानका लागि बस चढेका थिए ।

काठमाडौँबाट रौतहटको गौरतर्फ आउने क्रममा पहिरोमा परेर बेपता भएको गणपति डिलक्समा २९ जना सवार यात्रु रहेका थिए । बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बस त्रिशूलीमा खस्दा बसमा सवारमध्ये नन्दन दास, सुरज प्रसाद गुप्ता र जलेश्वर यादव बसबाट हाम फालेर नदीबाट बाहिर आएका थिए । 

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरो खस्दा दुई वटा डिलक्स गाडी त्रिशूलीमा खसेका छन् । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र गणपति डिलक्स नदीमा खसेका हुन् । शुक्रबारदेखि बेपत्ता बस र यात्रुको खोजी कार्य तीव्र पारिएको छ ।

 एन्जल वीरगन्जबाट काठमाडौँतर्फ र गणपति काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको अवस्थामा पहिरोमा परेका थिए ।

प्रकाशित: २९ असार २०८१ १५:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App