राणाकालमा सिंहदरबार निर्माण सम्पन्न भएपछि बाँकी रहेको सामग्री प्रयोग गरेर बनाइएको भद्रकाली मन्दिरको सत्तल पुनः निर्माण गरिने भएको छ। विसं २०७२ वैशाख १२ गतेको भूकम्पअघि नै जीर्ण बनेको सत्तल पुनः निर्माण गर्न लागिएको हो।
सत्तलको दक्षिणी भागको एउटा भवनबाट पुनः निर्माण सुरु गर्ने गरी आज काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले शिलान्यास गरिन्।
तीन वर्षमा ३४ करोड ७० लाखको लागतमा निर्माण गरिने सत्तलको शिलान्यास गर्दै उनले धार्मिक तथा ऐतिहासिक सम्पदा पुनः निर्माण गर्न राजनीतिक रुपमा सबैको सहयोग आवश्यक पर्नेमा जोड दिइन्।
महानगरपालिका सांस्कृतिक, ऐतिहासिक, धार्मिक पक्ष जीवित राख्ने गरी यहाँका सम्पदा पुनः निर्माणमा जुटेको उपप्रमुख डङ्गोलले सुनाइन्। वसन्तपुर दरबार क्षेत्रको आगम्छे घर पुनः निर्माणका लागि पनि महानगरपालिकाले पहल गर्ने उनले योजना सुनाइन्।
राणा प्रधानमन्त्री चन्द्रशमशेर राणाले सिंहदरबार पुनः निर्माण गराएपछि बाँकी रहेको निर्माण सामग्रीले सत्तल बनाएको भनिए पनि कति सालमा बनाइएको भन्ने प्रमाण कतै नभेटिएको गुठी संस्थानले जनाएको छ।
करिब एक सय वर्षअघि बनेको भवन विसं २०७२ वैशाख १२ गतेको भूकम्पअघि नै जीर्ण बनेको थियो। गुठी संस्थान केन्द्रीय लगत तथा अभिलेख शाखा कार्यालय रहेको भवन भूकम्पपछि टेकोकाभरमा अड्याइएको थियो।
महानगरपालिका पर्यटन तथा संस्कृति समितिका संयोजक एवं वडा नं-८ का वडाध्यक्ष आशामान सँगतले महानगरको ठूला योजनामध्येमा पर्ने गरी भद्रकाली मन्दिरको सत्तल पुनः निर्माण गर्न लागिएको जानकारी दिए।
सत्तल पुनः निर्माण गर्न आवश्यक सामान व्यवस्थापनको काम गर्न पुरातत्त्व विभाग र गुठी संस्थानले गरिदिनुपर्नेमा उनले जोड दिए। महानगरपालिका–११ का वडाध्यक्ष हीरालाल तण्डुकारले अहिले जस्तो छ, सत्तल त्यही स्वरूपमा पुनः निर्माण हुने बताए।
सम्पदा पुनः निर्माणका क्रममा अवलोकन गरेर तत्कालीन समयमा जस्तो मिले/नमिलेको समयमै जानकारी गराउन उनले पुरातत्त्व विभागलाई आग्रह गरे।
महानगरपालिका–२२ का वडाध्यक्ष चिनीकाजी महर्जनले भद्रकाली महादेवको तेस्रो आँखाको रुपमा उत्पत्ति भएको विश्वास गरिने उल्लेख गर्दै न्यूरोड क्षेत्रका पाँच सय परिवारले भद्रकाली मन्दिरको संस्कृतिलाई सुरक्षित गरिराखेको बताए।
महानगरपालिका–२१ का वडाध्यक्ष उदयचुडामणि बज्राचार्य, गुठी संस्थानका सहप्रशासक बैकुण्ठप्रसाद रेग्मी, स्थानीयका तर्फबाट पुनः निर्माण समितिका संयोजक गौतम डङ्गोललगायतले भद्रकाली राजगुठी अन्तर्गतको मन्दिर भएको उल्लेख गर्दै आर्थिक अभाव भएकाले महानगरले पुनः निर्माण गर्न लागेको बताएका थिए।
महानगरका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले सत्तल पुनः निर्माण सुरु गर्न समय लागे पनि सक्न समय लगाउन नहुनेमा जोड दिनुभएको थिए। जीर्ण भएर टेकोका भरमा अड्याइएको भवनका कारण भद्रकाली मन्दिरमा आउने दर्शनार्थीसमेत त्रसित हुने अवस्था थियो।
टेकोका भरमा राखिएको देख्दा मन्दिर वरपर बस्न असहज भएको दर्शनार्थीले गुनासो गर्ने गरेका थिए। संस्थानको अभिलेख, पुस्तकलायलगायत महत्त्वपूर्ण संरचना रहेको भवनमा अन्य सङ्घ संस्थाका साथै व्यापारिक कम्पनीसमेत भाडामा बसिरहेका छन्।
पुनः निर्माणका क्रममा ती संस्था एवं व्यापारिक कम्पनीलाई हटाउँदै जाने गुठी संस्थानले जनाएको छ। विसं २०३२ मा स्थापना भएदेखि गुठी संस्थानको अभिलेख कार्यालय भद्रकालीकै भवनमा राखिएको छ। यही कार्यालयले यो सत्तलको रेखदेख गर्ने गरी जिम्मेवारी तोकिएको छ।
प्रकाशित: २७ असार २०८१ १६:३४ बिहीबार





