रौतहट प्रहरीले युवक हत्याको आरोपमा दुईजनालाई पक्राउ गरेको छ। ईशनाथ नगरपालिका ९ लौवतना गाउँका कैल मियाका १७ वर्षीय छोरा सहबाज मिया आलमको हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेर बिहीवार सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा बौधिमाई नगरपालिका १ बौधापतौरा गाउँमा घर भई हाल ईशनाथ नगरपालिका ३ मामाघरमा बस्दै आएका १८ वर्षीय दशईँ साह र उनका साथी १९ वर्षीय रोशन साह रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डिएसपि एलिजा गिरीका अनुसार दशईं र रोहनले मिलेर मङ्गलवार मध्यराति नै सामान्य विवादमा आलमको हत्या गरेका थिए।
आँपको बगैँचातिर शौच गर्न निस्केका आलमलाई दुवैजनाले टाउकोमा रड र पेटमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रवक्ता गिरीले बताइन्।
हत्या हुनुभन्दा एकदिन अघि आँपको विषयमा उनीहरूबीच सामान्य विवाद भएको थियो।
पक्राउ परेका दशईँ र रोशनमाथि कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गरी रौतहट जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रकाशित: २७ असार २०८१ १३:०२ बिहीबार





