१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

झापालाई ४ विकेटले हराउँदै मोरङ ‘कोशी एलाइट कप’ को फाइनलमा

विराटनगरमा जारी ‘प्रथम कोशी एलाइट कप क्रिकेट’ प्रतियोगिताको फाइनलमा मोरङ जिल्ला क्रिकेट संघ प्रवेश गरेको छ।

बिहीबार भएको खेलमा झापा क्रिकेट संघलाई ४ विकेटले पराजित गर्दै मोरङले उपाधि यात्रा तय गरेको हो।

कोशी प्रादेशिक क्रिकेट संघ र नेपाल क्रिकेट फाउण्डेसनको संयुक्त आयोजनामा जारी प्रतियोगितामा मोरङले लगातार दोस्रो जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो।

४ अंकका साथ मोरङ लिग तालिकाको शीर्ष स्थानमा छ। यसअघि मोरङले सुनसरीलाई पराजित गरेको थियो।

तालिकाको दोस्रो र तेस्रो स्थानमा रहेका झापा र सुनसरीबीच शुक्रबार खेल हुनेछ। उक्त खेलको विजेता टोलीले शनिबार हुने फाइनलमा मोरङसँग प्रतिस्पर्धा गर्नेछ।

बिहीबार टस जितेर पहिले ब्याटिङ गरेको झापाले खराब प्रदर्शन गर्‍यो। निर्धारित ४३ ओभरको खेलमा झापा ३३ ओभर १ बलमा ८४ रनमै अलआउट भयो।

झापाका लागि सुजन थपलियाले २५ रन र एलिस मण्डलले २३ रन बनाउनु बाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

झापालाई सस्तैमा समेट्न मोरङका प्रेम कामतले घातक बलिङ गरे। उनले एक्लैले ५ विकेट लिए। यस्तै, दीपेश कँडेलले २ तथा फिर्दोस अन्सारी, श्रवण किस्कु र प्रतिक पोखरेलले १-१ विकेट लिए।

८५ रनको सामान्य लक्ष्य पछ्याएको मोरङले ३० ओभर ५ बलमा ६ विकेट गुमाउँदै ८६ रन बनाएर जित हासिल गर्‍यो। मोरङको जितमा दीपेश कँडेलले ३१ रन र प्रतिक कामतले २९ रनको योगदान दिए।

बलिङतर्फ झापाका विपिनकुमार महतोले ३ विकेट लिए भने आयुष न्यौपाने, सौजनप्रसाद घिमिरे र सुजन थपलियाले १-१ विकेट हात पारे। खेलको ‘प्लेयर अफ द म्याच’ ५ विकेट लिने मोरङका प्रेम कामत घोषित भए।

प्रकाशित: १५ माघ २०८२ २१:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App