उसै त बुढ्यौलीले छोइसकेको छ, त्यसमा पनि थेगिनसक्नु भारले थिचिएपछि कस्तो होला? यस्तै भारकी भुक्तभोगी हुन् सीतापाइलाकी ५७ वर्षीया दुर्गामाया बैकुमा। उनको ३१ वर्षीय छोरा जन्मजात अपांगता हुन् भने गत माघमा श्रीमान्को एउटा खुट्टा शल्यक्रियाद्वारा काटिएपछि पति पनि अपांगता छन्। कमाइ गर्ने पति र छोराको सहारा लिनुपर्नेमा उल्टै दुवैका हेरचाह र खर्च जुटाउनुपरेपछि दुर्गामायाको जीवनमा दुःखको पहिरो आएको छ।
सामान्य कमाइका भरमा उनले श्रीमान् र छोराको पालनपोषण र उपचार खर्चको व्यवस्थापन गर्नुपरेको छ। दुवैजना अपांगतासहितको बिरामी भएकाले उपचार, हेरचाह र पालनपोषण र कामले दुर्गामायालाई थेगिनसक्नु भार परेको हो।
बिहीबार नागरिककर्मी सीतापाइलास्थित उनकै डेरामा पुग्दा पीडादायी दृश्य देखियो। कोठाको एउटा कुनामा दुर्गामायाका ६२ वर्षीय श्रीमान् रामबहादुर बैकुमाको देब्रे खुट्टाको घुँडादेखि तलको भाग काटिएको छ। काटिएको भागबाट पिप बगिरहेको छ। रामबहादुर घाउ मुसार्दै रोइरहेका थिए। उनको छेउमै थिए ३१ वर्षीय छोरा अनिल बैकुमा। यी दुवैको सहारा हुन् दुर्गामाया।
श्रीमान् रामबहादुर मधुमेह र ग्यास्ट्रिकका कारण नौ वर्षदेखि नै बिरामी छन्। गत असोजमा देबे्र खुट्टा धेरै दुख्न थालेपछि अस्पताल पुगे तर खुट्टामा रक्त सञ्चार नहुने समस्या भएपछि चिकित्सकले खुट्टा काटेर फाल्नुपर्ने बताए। पूरै खुट्टा काट्नुको सट्टा बैकुमा परिवारले अरू उपाय खोजे।
कुनै उपाय नलागेपछि गत माघमा शल्यक्रियाद्वारा रामबहादुरको देब्रे खुट्टा काटियो। सुरुमा घुँडामुनिको भाग काटियो। समस्या बल्झिएपछि फेरि घुँडासम्मकै भाग काट्नुपर्यो। खुट्टाको शल्यक्रिया गरेको पाँच महिना पुग्यो, तर घुँडाको तल्लो भागबाट पिप बगिरहेको छ र घाउ दुखिरहेको छ। नदुख्ने औषधीका भरमा उनी समय काटिरहेका छन्। दिनमा दुर्गामाया अपांगता छोरालाई लिएर काममा जान्छिन्।
त्यतिबेला बिरामी रामबहादुर घरमा एक्लै हुन्छन्।जन्मिएको दुई वर्षमैै छोरा अनिललाई अप्ठेरो बौद्धिक अपांगता सुरु भएपछि दुर्गामायाको जिन्दगीमा पीडा सुरु भयो। अनिल आफैं उठ्न र शौचालय जान सक्दैनन्। शारीरिक र बौद्धिक सन्तुलन नभएका छोराको शौचादि पनि दुर्गामायाकै भागमा पर्छ। खाना पकाउनु, उनीहरूको हेरचाह गर्नु, घरको सफाइ गर्नु, समयमा जागिरमा निस्कनु र फर्किएपछि पुनः बिरामी श्रीमान् र छोराको हेरचाह गर्नु उनको दैनिकी हो।
उता खुट्टाको शल्यक्रियापछि श्रीमान् रामबहादुरको शौचादि कर्म पनि दुर्गामायाले नै गराइदिनुपर्छ। यति मात्र हैन, यी दुवैको उपचार, डेरा भाडा र खाद्यान्न खर्च उनैले जुटाउनुपर्छ। मासिक १८ हजार रूपैयाँको कमाइका भरमा उनलाई यी सबै जोहो गर्न त्यति सजिलो छैन। आधा कमाइ डेरा भाडामै सकिन्छ। पैसा अभाव भएपछि दुर्गामायाले श्रीमान्लार्ई न अस्पताल लैजान न त घरैमा चिकित्सक ल्याएर उपचार गर्न सकेकी छन्।
यी थेगिनसक्नु भारले जिन्दगी लामो लाग्न थालेको दुर्गामाया बताउँछिन्। ‘न आफू मर्न सक्छु न त उनीहरूलाई मर भन्न सक्छु’, उनले भनिन्। बिरामी हुनुअघि रामबहादुर घर बनाउने मजदुरी गर्थे। त्यस्तो काम बन्द भएको नौ वर्ष बितिसकेछ। सम्पत्तिका नाममा धादिङमा दुई सुर्का बारी मात्रै बाँकी छ। ‘मैले उमेरमा गरेको कमाइ छोराछोरी पाल्दै र पढाउँदैमा सकियो, अहिले केही गर्न सक्दिनँ’, रामबहादुरले रुँदै भने।
आफू पनि बिरामी पर्ने हो भने यी दुवै अपांगताको जिन्दगीको सहारा कोही नहुने दुर्गामाया बताउँछिन्। ‘अब त मेरो पनि उमेर ढल्कियो। श्रीमान् र छोराको हेरचाह गरेर जागिरमा जान नसक्ने भइसकें’, उनले भनिन्। श्रीमान्को उपचार र छोराको सहज व्यववस्थापन सरकारले गरिदिए हुने दुर्गामायाको माग छ। ‘थेग्नै नसक्ने भएँ म’, उनले भनिन्।
सहयोग गर्न चाहेमा दुर्गामायाको एनएमबी बैंक खाता नम्बर ०६६००३३६६१४००००१३ मा रकम जम्मा गर्न सकिने व्यवस्था छ।
प्रकाशित: २५ असार २०८१ ०८:१० मंगलबार