२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

भारी वर्षाले अर्घाखाँची, गुल्मी र पाल्पाका मुख्य सडक ठप्प

फाइल तस्बिर

चार दिनदेखि लगातारकाे वर्षाका कारण अर्घाखाँची, गुल्मी र पाल्पाका मुख्य सडक अवरुद्ध भएका छन्। पहिरोले अर्घाखाँचीको गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ।

प्रहरीका अनुसार पहिरोले गोरुसिङ्गे सन्धिखर्क सडकखण्डको दहखोला, बहखोर, सितापुरलगायतका क्षेत्रमा पहिरो खसेको छ। वर्षा जारी रहेकाले पहिरो हटाउन समस्या भइरहेको छ। यद्यपि एकतर्फी भएपनि सडक खुलाउने प्रयास भईरहेको छ। घुम्तीदेखि सन्धिखर्क सम्मको सडक सुचारु हुन करिब ४ घण्टा समय लाग्ने सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए।

यस्तै सन्धिखर्क ९ नौलापानी, भुमिकास्थान २ हाटबजार, पाणिनी १ को कोप्ता र २ को  निगालीलगायतका क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध भएका छन्। लगातारको वर्षाका कारण थप पहिरो जानसक्ने खतरा कायमै रहेकोले सतर्क रहन तथा अत्यावश्यक बाहेक यात्रा नगर्न प्रहरीले अनुरोध समेत गरेका छ।

यस्तै, गुल्मीमा पनि पहिरोले विभिन्न सडकहरू अवरुद्ध भएका छन्। रिडि–तम्घास सडक खण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिकाको कालिका मोडमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। 

शुक्रवार रातीदेखि नै ग्रामीण क्षेत्रका सडकमा सवारी साधान चल्न सकेका छैनन्। मदन भण्डारी राजमार्ग अन्तगर्तको तम्घास–सिमलटारी सडकमा पर्ने घमिरखोला, अर्जेखोला, धनार्जी खोला र हुलाके खोलामा पानीको बहाव बढ्दा जोखिम बढेको छ। 

यस्तै,भारी वर्षाका कारण गुल्मी दरबारमा रुख ढल्दा सडक अवरुद्ध भएको छ। सिमलटारी–तम्घास सडकखण्डको सडकमा माथिबाट पहिरो खसेर अवरुद्ध भएका ठाउँमा बाटो सुचारु गर्ने प्रयास भईरहेको प्रहरीले बताएको छ।

यसैबिच यता पाल्पाको सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरोले बाटाहरु अवरुद्ध भएका छन्। राजमार्गमा पहिरो खसेपछि पाल्पा–बुटवल खण्डको कालीमाटी, चर्चरे, बर्तुङु क्षेत्र अवरुद्ध भएका हुन्।

यस्तै तानसेन–तम्घास सडकखण्डको जोर्ते, अर्गली क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

सडक अवरुद्ध भएपछि पाल्पाबाट बुटवल जाने र बुटवलबाट पाल्पातर्फ जाने सवारीसाधन बिच बाटोमै अलपत्र परेका छन्। कालीमाटी, चर्चरे र राम्दी क्षेत्रका सडक एकतर्फी खुलाइएको छ भने अन्य स्थानको पहिरो हटाउने प्रयास भइरहेको छ।

पहिरोका कारण अलपत्र सवारी साधनहरूलाई सुरक्षा प्रदान गर्ने र स्थानीय तहसँग समन्वय गरी पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २२ असार २०८१ १२:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App