१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

तस्करी गर्ने-गराउने दुई प्रहरी हेडक्वार्टर तानिए

तस्करीको सेटिङ मिलाएको र व्यापारीबाट पैसा असुल गरेको आरोप लागेका प्रहरी नायव निरीक्षक र प्रहरी जवानलाई प्रहरी प्रधान कार्यालयले हेडक्वार्टर तानेको छ। 

इलाका प्रहरी कार्यालय कोपवामा कार्यरत प्रहरी नायव निरीक्षक मनोजकुमार पाण्डे र इलाका प्रहरी कार्यालय मौलापुरमा कार्यरत प्रहरी जवान दीपेन्द्र सिंहलाई हेडक्वार्टर तानिएको हो।

रौतहटको पश्चिम दक्षिणी क्षेत्रबाट भन्सार छलीका सामानहरु तस्करीको माध्यमबाट सेटिङ गरेर भारतबाट निर्वाधरुपमा नेपालतिर आउन दिएको आरोप प्रहरी नायव निरीक्षक पाण्डेमाथि रहेको छ । यसैगरी प्रहरी जवान सिंहले व्यापारीहरुबाट रकम उठाउने गरेको आरोप लागेको छ।

प्रहरी प्रधान कार्यालयमा दुवै जनाविरुद्ध उजुरी परेपछि छानविनका लागि रौतहट आएको सिभिलियन टोलीले आवश्यक अनुसन्धान गरी हेडक्वार्टर तानेको हो ।  

रौतहट र बाराको सीमा क्षेत्रमा व्यापक मात्रामा तस्करी भइरहेको गुनासो बढेको र प्रहरी कर्मचारीको संलग्नता रहेको उजुरी नै परेपछि प्रहरी प्रधान कार्यालयले सादा पोशाकमा प्रहरीलाई सम्बन्धित क्षेत्रमा परिचालन गरेको थियो।

दुई साताअघि प्रहरी चौकी बंकलका प्रहरी निरीक्षक अवधेश यादवलाई पनि अमर्यादित कार्य गरेको सूचना प्राप्त भएपछि प्रहरी प्रधान कार्यालयले कारवाही गरेको थियो।

रौतहटको बौद्धिमाई नगरपालिको एउटा पान पसलमा प्रहरीको सेटिङ चल्ने गरेको बताइएको छ। 

बौद्धिमाइ नगरपालिकाको कोपवास्थित भुवाली चोकमा मनोज यादवले संचालन गरेको पान पसलमा प्रहरीले सेटिङ गरी व्यापारी तथा तस्करहरुबाट पैसा उठाउने गरेको स्थानीयहरुको भनाइ छ।

सादा पोसाकमा केन्द्रीय अनुसन्धान टोली बिना जानकारी रौतहटमा आउन थालेपछि प्रहरी कर्मचारीहरु तर्सिन थालेका छन्।

प्रकाशित: १७ असार २०८१ १२:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App