२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

जमलमा पाँच सवारी आपसमा ठोक्किए, ५ जना घाइते

काठमाडौं महानगरपालिका–२७ जमलमा मंगलबार भएको सवारी दुर्घटनामा परी पाँच जना घाइते भएका छन्।

जमलस्थित एल्लो प्यागोडा अगाडिको सडकखण्डमा पाँचवटा सवारीसाधन एकआपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो।

केशरमहलबाट जमलतर्फ जाँदै गरेको बा प्र ०१–०२८ च ४५१२ नम्बरको कुरियर डेलिभरी भ्यान र बा प्र ०२–०५६ प ३९६७ नम्बरको इभी स्कुटर तथा विपरीत दिशाबाट आउँदै गरेका बा ३५ प ९१४४ नम्बरको मोटरसाइकल, बा प्र ०२–०३१ प ३०७९ नम्बरको मोटरसाइकल र बा प्र ०१–००४ क ५३८१ नम्बरको निजी इभी हाइस एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी इभी स्कुटर चालक काठमाडौं सरस्वतीनगर बस्ने ४० वर्षीय विजय श्रेष्ठ, बा प्र ०२–०३१ प ३०७९ नम्बरको मोटरसाइकल चालक काठमाडौं बस्ने २६ वर्षीय विनोद प्रधान र सोही मोटरसाइकलको पछाडि सवार रुकुम मुसिकोट घर भई भक्तपुर थिमी बस्ने ३६ वर्षीया सुनिता वली घाइते भएका छन्।

यस्तै, बा ३५ प ९१४४ नम्बरको मोटरसाइकल चालक काठमाडौं बूढानीलकण्ठ बस्ने २८ वर्षीय ललितजङ्ग सञ्जेल र पछाडि सवार सिन्धुली मरिङ गाउँपालिका–७ की ३१ वर्षीया इशु तामाङ पनि घाइते भएका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।

घाइतेमध्ये एक जनाको ट्रमा सेन्टर र अन्यको ग्राण्डी सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १३ माघ २०८२ २०:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App