२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

कार्य सम्पादन मूल्यांकनमा उदयपुरगढी उत्कृष्ट

उदयपुरगढी गाउँपालिकाको पर्यटकीय स्थल पुनर्संरचित पुरानो गढी। तस्विरः महेश्वर

सरकारले बर्सेनि गर्दै आएको कार्य सम्पादन मूल्यांकनमा उदयपुरगढी जिल्लाकै उत्कृष्ट स्थानीयतह सावित भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले भर्खरै सार्वजनिक गरेकोनतिजामा उदयपुरगढी उत्कृष्ट ठहरिएको उल्लेख छ।  

जिल्लाका ४ नगर र ४ गाउँपालिकामध्ये मध्यवर्ती पहाडी गाउँपालिका उदयपुरगढीले ७१.४६ अंक प्राप्त गरेको छ। अन्य स्थानीयतहको दाँजोमा निकै फराकिलो अंकका साथ उदयपुरगढी जिल्लाको उत्कृष्ट स्थानीयतह हुन सफल भएको हो।  

दोस्रो स्थान पाउने कटारी नगरपालिकाले ६७.३६ अंक ल्याएको छ भने ६४.०९ अंकका साथ रौतामाई गाउँपालिका तेस्रो भएको छ। त्यसैगरी चौथो हुने ताप्ली गाउँपालिकाले ६३.३६ अंक ल्याएको छ भने बेलका नगरपालिकाले ५३ अंक प्राप्त गरेको छ।  

लिमचुङबुङ गाउँपालिकाले ५२.५६ पाएको छ भने सदरमुकामसमेत रहेको त्रियुगा नगरपालिका ५०.३५ अंक ल्याएर अन्तिमबाट दोस्रो स्थानमा परेको छ। त्यसैगरि चौदन्ण्डीगढी नगरापलिका ४०.२४ अंक पाउँदै ८ स्थानीयतहमध्ये पुछारमा परेको छ।  

आयोगले बर्सेनि विभिन्न १७ वटा सूचकभित्र राखेर देशभरका ७ सय ५३ वटै स्थानीयतहको कार्य सम्पादन मूल्यांकन गर्ने गरेको छ। कानुनले तोके बमोजिम आगामी आर्थिक वर्षको बजेट अघिल्लो वर्षकै असार १० गतेभित्र सार्वजनिक गरिसक्नु पर्ने, असार मसान्तभित्र बजेट पास गरिसक्नु पर्ने प्रावधान छ।  

त्यसैगरी अघिल्लो वर्ष घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकमध्ये प्रदेश सरकारलाई ४० प्रतिशत हिस्सा मासिक रुपमा प्रदेश सञ्चित कोषमा दाखिला गरिसक्नुपर्ने सूचकहरु रहेका छन्।चालु वर्षको प्रक्षेपित बजेटसमीक्षा गरेर सो को विवरण अर्थ मन्त्रालयमा कात्तिक मसान्तभित्र बुझाएर सार्वजनिक गरिसक्नु पर्ने सूचकहरुलाई पनिआयोगले कार्य संपादन मूल्यांकनको आधार मानेको छ।  

आयोगले राजश्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु अंक, सूत्र (सफ्टवेयर) प्रयोग, विद्यालयमा विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, महिलाहरुको गर्भ जाँच अनुपात, एसइई परीक्षा नतिजा तथा बालबालिकाको खोप नियमित भए नभएको कुरासमेत मूल्यांकन गर्ने गरेको छ।

प्रकाशित: १ फाल्गुन २०८२ २१:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App